फेरियो प्रहरी नेतृत्व, ३४औँ महानिरीक्षकमा केसी

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण
फेरियो प्रहरी नेतृत्व, ३४औँ महानिरीक्षकमा केसी

नवनियुक्त आइजिपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिँदै गृहमन्त्री सुधन गुरुङ । तस्बिर : नयाँ पत्रिका

काठमाडाैं- सरकारले नेपाल प्रहरीको नेतृत्व फेरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाएर एआइजी डा. मनोजकुमार केसीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

नवनियुक्त आइजिपी केसीले बुधबारै कार्यभार सम्हालेका छन् । कार्कीसँग असमझदारी बढेपछि सरकारले केसीलाई आइजिपी नियुक्त गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई कारबाही गरेको नभई जिम्मेवारी मात्र हेरफेर गरिएको बताएका छन् ।

नवनियुक्त महानिरीक्षक केसी र निवर्तमान महानिरीक्षक कार्की एउटै ब्याचका अधिकृत हुन् । कार्कीले आफूलाई महानिरीक्षक पदबाट हटाइएकोमा असन्तुष्टि व्यक्त गरेको उनीनिकटस्थले बताएका छन् । गत वर्ष २७ कात्तिकमा महानिरीक्षक नियुक्त भएका उनी एक वर्ष कार्यकाल पनि पूरा नभई जिम्मेवारीबाट हटाइएका छन् । नहटाइएको अवस्थामा १७ चैत ०८४ सम्म उनको कार्यकाल थियो । अब सरकारले खटाएको नयाँ जिम्मेवारीमा जाने कि अदालतमार्फत सरकारको निर्णयलाई चुनौती दिने भन्नेबारे उनी कानुनी परामर्शमा लागेका छन् ।

नवनियुक्त आइजिपी केसी यसअघि अपराध अनुसन्धान विभागको प्रमुख थिए । नुवाकोटको विदुर स्थायी घर भएका उनले ‘एप्लाइड कन्फ्लिक्ट ट्रान्सफर्मेसन स्टडिज’ विषयमा विद्यावारिधि गरेका छन् । एसएसपीका रूपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखका रूपमा कार्यरत रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थसम्मलाई अनुसन्धानको दायरामा ल्याएपछि उनी आमचर्चामा आएका थिए । उनले १७ चैत ०८४ सम्म संगठनको नेतृत्व गर्न पाउँछन् ।

गृहमन्त्रीले लगाइदिए फुली 
nullनवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री सुधन गुरुङले दज्यानी चिह्न लगाइदिएका छन् । यसअघि गृहसचिवले लगाउने परम्परा थियो । ०५४ मा तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई दर्ज्यानी चिह्न लगाइदिएका थिए । त्यसयता गृहसचिवले नै फुली लगाउने परम्परा छ । गृहसचिवले आइजिपीलाई दर्ज्यानी चिह्न लगाउने परम्परा संशोधन गर्दै प्रधानमन्त्री तहबाट लगाउनुपर्ने मत प्रहरीभित्र उठ्दै आएको थियो ।

पदभार ग्रहणपछि नवनियुक्त महानिरीक्षक केसीले संगठनको मूल्य, मान्यता र प्रतिष्ठालाई मनन गरी सकारात्मक सोच, दृष्टिकोण, उच्च नैतिक चरित्र र व्यावसायिकता प्रदर्शन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । त्यस्तै, मित्रता र सहकार्यका साथ सबै प्रहरी कर्मचारीहरूको साथ रहने विश्वास पनि व्यक्त गरेका छन् ।

विभिन्न समयमा लागू गरिएका नीति, योजना, कार्यविधि तथा असल अभ्यासहरूलाई निरन्तरता दिँदै अझ प्रतिबद्धताका साथ आगामी दिनहरूमा देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी प्रभावकारी र जवाफदेही ढंगबाट उच्च मनोबलका साथ निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई उनले निर्देशन दिएका छन् ।

प्रहरी संगठनका लागि सिर्जित तमाम चुनौतीहरूको सम्बोधन प्रहरी महानिरीक्षकको एकल प्रयास वा सीमित प्रहरी कर्मचारीको प्रयासबाट मात्र सम्भव नहुने भएकाले प्रहरी अतिरिक्त महानिरीक्षकदेखि प्रहरीका आधारभूत तहसम्मको सक्रियता, अग्रसरता र सिर्जनशीलताको आवश्यकता रहने बताए ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि नेपाल प्रहरीमा उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधारका प्रयासहरू निरन्तर गरिनेसमेत उनले बताए । 

एउटै ब्याचबाट चार आइजिपी
null०५४ मा नेपाल प्रहरीले ३० प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना खुलाएको थियो । त्यस वर्ष पहिलोपटक लोकसेवा आयोगले प्रहरी निरीक्षक पदको भर्नामा परीक्षा लिँदै थियो । जुन परीक्षाका लागि मागभन्दा कम अर्थात् २९ जना मात्र उत्तीर्ण भएका थिए ।

त्यसमध्ये एक थिए, बुधबार नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त भएका डा. मनोजकुमार केसी । केसी मात्र होइन, प्रहरीमा यो ब्याच निकै सफल भयो । एउटै ब्याचबाट चारजना संगठनको नेतृत्वमा पुगिसकेका छन् । दुईजना नेपाल प्रहरी र दुईजना सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । 

सरकारले बुधबार महानिरीक्षक पदबाट प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाएका दानबहादुर कार्की पनि सोही ब्याचका हुन् ।

त्यस्तै, हालका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र सशस्त्रका निवर्तमान आइजिपी राजु अर्याल पनि ०५४ मै नेपाल प्रहरीमा भर्ना भई ०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

यही ब्याचबाट नेपाल प्रहरीमा राजन अधिकारी एआइजीमा छन् भने दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट, गोविन्द थपलिया, सुदर्शन कोइराला, अरुण पौडेल, दीपक रेग्मीलगायत डिआइजी पदमा कार्यरत छन् । 

आइजिपी नियुक्तिपछि ओलीको टिप्पणी– अह्राएको काम गर्छ भनेर बनाएको होला

nullपूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले अचानक प्रहरी महानिरीक्षक फेरबदलमा सरकारको नियतमाथि प्रश्न उठाएका छन् । बुधबार पार्टी कार्यालयबाहिर सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले सरकारले आफूअनुकूल काम गराउन आइजिपी फेरेको टिप्पणी गरेका हुन् ।

‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला,’ ओलीले भने । मन्त्रिपरिषद्को बुधबारको आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजिपीको जिम्मेवारी दिने निर्णय गरेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

यस्तै, ओलीले कांग्रेस सभापति गगन थापासँग समसामयिक र राजनीतिक कुराहरू भएको बताए । ओलीलाई भेट्न थापा मंगलबार साँझ उनको निवास भक्तपुरस्थित गुन्डु पुगेका थिए । ‘खास राम्रो कुरा भयो, राजनीतिक कुराहरू भए । समसामयिक कुराहरू भए,’ ओलीले भने । 

सुझावित समाचार