आइजिपी फेरबदलबारे रास्वपा सभापति लामिछाने–सरकारले औचित्य पुष्टि गर्ला

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रहरीको आइजिपी फेरबदल प्रकरणमा सरकारले औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले प्रहरीमा जिम्मेवारी हेरफेरमा असाध्यै संवेदनशील विषयहरू समावेश भएकाले सरकारले यसको औचित्य पुष्टि गर्नुपर्ने बताएका हुन् ।

‘आवश्यक काम गर्न आवश्यक कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा असाध्यै संवेदनशील विषयहरू समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला । पार्टी प्रवक्ताले यसबारेमा एकदमै स्पष्ट पारिसक्नुभएको छ,’ उनले भने, ‘पार्टीले आइजिपी फेर, डिआइजी फेर, इन्स्पेक्टर फेर, सिडिओ फेर भनेर बिल्कुल भन्दैन । यो घटनाको थप स्पष्टता सरकारबाट अझै पनि आउला ।’

सभापति लामिछानेले पार्टी र सरकारबिच तथा आफू र प्रधानमन्त्री बालेन्द्र शाहबिच राम्रो तालमेल रहेको पनि बताएका छन् । सरकारसँग पार्टीको सम्बन्ध चेक एन्ड ब्यालेन्समा रहेको उनले स्पष्ट पारे ।

‘हाम्रो धेरै भेट भइरहन्छ । तपाईंहरूले थाहा पाउने गरी भेट नहुन सक्छ । समन्वयको केही पनि कमी छैन । खालि एउटै चिज के हो भने सरकारलाई मजाले काम दिनुपर्छ भन्ने पार्टीको धारणा हो । सरकार कहिलेकाहीँ चुक्यो र हामीले प्रश्न गर्यौँ भने झगडै पर्यो, हानाहान पर्यो अथवा यिनीहरूको बिचमा अन्तर्द्वन्द्व भयो कि भन्ने होला । विगतमा लडेको अभ्यास पनि भएकाले प्रश्न आउनु स्वाभाविक हो । तर, त्यस्तो हुँदैन,’ उनले भने, ‘सरकारले गरेका कुराहरूमा केही थप स्पष्टता चाहियो, प्रश्न भयो भने पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, त्यसलाई सोध्ने, त्यसलाई अझ बढी स्पष्ट पार्ने काम गर्नैपर्छ । सरकारले गरेको सबै काममा पार्टीले हो मा हो मिलाउँदैन, पार्टीले गरेका सबै काममा सरकारले हो मा हो मिलाउँदैन । यसले गर्दा कहिलेकाहीँ अलिकति सरकारको निर्णयहरूमा पार्टीको अलिकति फरक किसिमको धारणा, स्पष्टता के हो भन्ने र आवश्यकता पर्दा निर्देशन दिने गर्छ ।’ सरकारलाई परिपक्व रूपमा अघि बढ्नुपर्ने सुझाव आएकोमा त्यसलाई सरकारले ग्रहण गर्ने उनले विश्वास गरे ।

सभापति लामिछानेले पार्टीभित्र मत बाझिने, वैचारिक विमर्श हुने, तर त्यसले सरकारलाई फरक नपर्ने बताए । ‘लोकतान्त्रिक पार्टीभित्र मत बाझिन्छ, वैचारिक विमर्श हुन्छ । कहिलेकाहीँ सवाल–जवाफ हुन्छ । चर्काचर्की हुन्छ । यसको अर्थ सरकार सिद्धिन्छ भन्न थाल्नुभयो भने तपाईंले धेरै सोच्न थाल्नुभयो,’ उनले भने, ‘विगत र अहिलेका राजनीतिक अभ्यास फरक छन्, यो बुझिनुपर्छ । सरकार टिकाउन, पार्टीमा एकता टिकाउन छेउमा कुर्सी राख्ने पुरानो अभ्यासमा हामी छैनौँ । हामी स्पष्ट काम गर्न सरकारलाई दिन्छौँ, स्पष्ट काम पार्टीले गर्छ । दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा आए, स्पष्टता चाहिए हामी बस्छौँ र कुराकानी गर्छौँ ।’ 

लामिछानेले सरकार ट्र्याकबाहिर गयो भने पार्टीले भित्र ल्याउने प्रयास गर्ने पनि बताए । ‘यहाँ (पार्टी र सरकार) समस्या छ, विग्रह छ, बेमेल छ भन्ने अर्थमा नबुझिदिनुहोला । सरकारले काम गरिरहेको छ, अझ सही ढंगले गरिदिए हुन्थ्यो, यसरी गरिदिए हुन्थ्यो भन्ने ठाउँहरू जहिले पनि रहिरहन्छन्,’ उनले भने, ‘दुईजना (बालेन र रवि)को टसल छ कि, पार्टी र सरकारको तालमेल नै नभएको हो कि भन्ने कोणबाट जे भनिएको छ, म यसलाई पूर्ण रूपमा खारेज गर्छु । किनभने त्यस्तो अवस्था छँदै छैन ।’

सरकार परिपक्व रूपमा अघि बढ्ने सुझाव आएको भने उनले स्वीकार गरे । ‘कतिपय घटनाक्रममा, सन्दर्भमा अलिकति परिपक्व ढंगले जानुपर्छ कि भन्ने प्रश्नहरू आएका छन् । जनमानसबाट यस्तो प्रश्न नआउने गरी सरकारले काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ लामिछानेले भने, ‘त्यसमा नचुकौँ है भन्ने हो । अपरिपक्वताको आक्षेप लगाउन खोजेको होइन । त्यही कोणबाट सुझाव हामीलाई आइरहेको छ । सरकारलाई हाम्रो अपिल छ कि विधिको शासन, कानुनको प्रक्रियालाई ध्यान दिएर जानुपर्छ ।’

पार्टी संसदीय दलको नेता फेर्नुपर्ने वेला आएको त होइन भन्ने प्रश्नमा लामिछानेले सोझै इन्कार गरे । उनले भने, ‘त्यस्तो छैन । यो विषय कहाँबाट आयो थाहा छैन । हाम्रो समाजलाई सेन्सेसन मनपर्छ । केही न केही भइरहनुपर्यो भन्ने छ । हामी यति धेरै घटनाहरूबाट, यति धेरै अभ्यस्त भइरहेका छौँ कि अझै हामीलाई घटना चाहिएको छ । घटना चाहने हाम्रो मानसिकता छ । त्यसकारण यस्ता प्रश्नहरू आएका हुन् ।’

त्यस्तै, बिचौलिया इनम सापकोटा र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनबिचको सम्बन्धका विषय बाहिर आएकाले त्यसबारे छानबिन हुन्छ कि हुँदैन भन्ने प्रश्न लामिछानेलाई थियो । उनले जवाफ दिए, ‘उहाँ (कुमान बेन)ले कुनै पनि आपराधिक क्रियाकलाप गर्नुभएको छ भने छानबिन किन हुँदैन ? इनम सापकोटा प्रकरण अनुसन्धानको क्रममा छ । विभिन्न नामहरू आएका छन् । विभिन्न संस्थाहरूले यसलाई पुष्टि गर्नुपर्छ । संस्थाहरूले पुष्टि नगर्दै आएका कुराहरूलाई पूर्ण रूपमा प्रमाणित भन्न सकिँदैन । संस्थाहरूले यसलाई प्रमाणित गरून् भनौँ । सरकारले गर्ने अनुसन्धानमा जोसुकै होस् पार्टीले सहयोग गर्छ ।’ 

१३ कात्तिकमा विभिन्न सञ्चारगृहका समाचारकक्षमा प्रहरी प्रवेश गरेर धरपकड गरेको विषयमा पनि सञ्चारकर्मीले लामिछानेको जवाफ मागेका थिए । उक्त घटनाबारे उनले भने, ‘जुन दिन प्रहरी न्युजरुममा गयो, त्यस दिन पार्टीले त्यसमा संलग्नहरूलाई कारबाही गर्न भनेको छ । त्यसको परिणाम आइजिपीको जिम्मेवारी फेरबदल हो कि होइन भन्ने कुरा समय आएपछि सरकारले बताउला । त्यो घटना र आइजिपी परिवर्तनको सम्बन्ध छ कि छैन सरकारले भन्ला, चिन्ता लिनुपर्दैन ।’

पत्रकारदेखि कर्मचारीहरू पक्राउ प्रकरण तीव्र भएको विषयमा सञ्चारकर्मीले ‘टु मच’ अर्थात् अति नै भएन भन्ने प्रश्न गरेका थिए । जसमा सभापति लामिछानेको जवाफ छ, ‘हाउ मच इज टु मच ? विभिन्न अनुसन्धानका क्रममा सरकारले विभिन्न काम गरिरहेको छ । सबैलाई तपाईंहरूले एउटै डालोमा हाल्नुभयो भने २० वटा कुरा रहला । विधिको शासन के हो भन्ने कुरा स्पष्ट छ । सरकारका निकायहरू आफ्नो संविधानप्रदत्त अधिकार, कानुनप्रदत्त अधिकार प्रयोग गर्न स्वतन्त्र छन् ।’

अर्को सन्दर्भमा महिलामाथि दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनारमाथि अनुसन्धान भइरहेको सभापति लामिछानेले बताए । ‘पार्टीको अनुसन्धान आयोगले गरेको अनुसन्धानको विषय फेसबुक लाइभमा आउँदैन,’ उनले भने, ‘कहिलेकाहीँ सुरक्षा संवेदनशीलताका कैयौँ रिपोर्ट जस्ताको तस्तै सार्वजनिक गर्दा त्यसले अन्य पक्षलाई असर गर्न सक्छ होला । यो मेरो अनुमान हो । राज्यले गरेका अनुसन्धानका जति पनि दस्ताबेजहरू छन्, त्यो राज्यको कुनै न कुनै निकायको संस्थागत स्मरण (इन्स्टिच्युसनल मेमोरी)मा हुन्छन्, त्यो आज नभए भोलि, आवश्यकता र औचित्यअनुसार बाहिर आउँछन् ।’

सरकारको निर्णयविरुद्ध सर्वोच्च गए कार्की
nullसरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि असन्तुष्ट दानबहादुर कार्की त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । तर, उनको रिट दर्ता भइसकेको छैन ।

सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको जानकारी दिएको उनका कानुन व्यवसायी टीका कार्कीले जानकारी दिए । बिहान १० बने नै कानुन व्यवसायीले दर्ताका लागि रिट पेस गरेका थिए ।

कार्की सरकारले खटाएको जिम्मेवारीमा हाजिर नभई न्याय माग्दै सर्वोच्च पुगेका हुन् । रिटबारे सर्वोच्चका अधिकारीले औपचारिक जानकारी दिएका छैनन् । स्रोतका अनुसार यसबारे शुक्रबार निर्णय हुनेछ । शुक्रबार दर्ता भए पनि एकैदिन सुनुवाइ हुन नसक्ने भएकाले अब तिहारपछि मात्र सुनुवाइ हुनेछ ।

सुझावित समाचार