- मुख्यमन्त्री कृष्णप्रसाद यादवले २८ कात्तिकभित्र विश्वासको मत लिनुपर्ने : ३० असोजमा सरकारबाट बाहिरिँदै एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । सत्तासाझेदार कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गत वर्षको १९ मंसिरमा सात दलको समर्थनमा कांग्रेस नेतृत्वको सरकार बनेको थियो ।
जनकपुरधाम- एमालेपछि नेकपाले पनि कांग्रेस नेतृत्वको सरकार छाडेर समर्थन फिर्ता लिएसँगै मधेशमा नयाँ सत्तासमीकरणको कसरत सुरु भएको छ । नयाँ सरकार गठनका लागि निर्णायक जसपालाई आफ्नो पक्षमा पार्न एमाले–नेकपा र कांग्रेस दुवै सक्रिय भएका छन् । प्रदेश सभामा सबैभन्दा ठुलो दल जसपाले मुख्यमन्त्रीको दाबी गरिरहेको छ । निर्वाचनपछिका चार वर्षमा मधेशमा पाँचौँ सरकारको प्रयास भइरहेको हो ।
एमालेले कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार छाडेको २१ दिनपछि शुक्रबार नेकपाबाट मन्त्री रहेका चारजना पनि राजीनामा दिएर बाहिरिएका छन् । मुख्यमन्त्री यादवले १५बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै गत ३० असोजमा एमालेले सरकार छाडेको थियो । त्यससँगै सरकार अल्पमतमा परेको थियो ।
एमाले एक नेताका अनुसार अध्यक्ष केपी ओलीले मधेशमा कांग्रेसबाहेकका दल मिलेर सरकार गठन गर्ने गरी अघि बढ्न निर्देशन दिएका छन् । नेकपाको पछिल्लो निर्णयले उक्त समीकरणलाई थप बल पुगेको छ । एमाले–नेकपा सहमतिअनुसार ६ प्रदेशमा सत्तासाझेदारी छ । अहिले उनीहरू मधेशमा पनि कांग्रेसरहितको सरकारको गृहकार्यमा जुटेका हुन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बसेको संसदीय दलको बैठकको निर्णयअनुसार नेकपाका मन्त्रीहरूले राजीनामा दिएका हुन् । ‘पार्टीको हाई कमान्डबाट आएको निर्देशनअनुसार राजीनामा दिएका हौँ । नयाँ सरकार गठनका सम्बन्धमा अब नेताहरूले छलफल गरेर निर्णय लिनुहोला,’ गृह, सञ्चार तथा कानुनमन्त्रीबाट राजीनामा दिएका फकिरा महतोले बताए ।
कांग्रेसबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका श्याम पटेलले नेकपाले सरकार छाड्नु कुनै नौलो कुरा नभएको बताए । यही सरकारलाई निरन्तरता दिन जसपासँग पनि संवाद थालिएको उनले बताए । ‘लोकतन्त्रमा सधैँ एउटै पार्टीको सरकार रहँदैन । जसको संख्या पुग्छ, उसको सरकार बन्दै जान्छ । नेकपाका मन्त्रीहरूले राजीनामा दिनु कुनै अनौठो होइन,’ मन्त्री पटेलले भने, ‘यद्यपि, एमाले र नेकपा सरकारबाट बाहिरिए पनि यही सरकारलाई निरन्तरता दिने गरी जसपासहितका दलहरूसँग संवाद गरिरहेका छौँ । सरकार जोगाउन प्रयासरत छौँ ।’
जसपासँग सहकार्य गर्ने एमाले–नेकपाको कसरत
एमाले र नेकपाले जसपासँग सहकार्य गर्ने कसरत गरेका छन् । तर, जसपा भने मुख्यमन्त्रीको दाबी गरिरहेको छ । २८ सिटसहित जसपा प्रदेश सभामा सबैभन्दा ठुलो दल पनि हो । २४ सांसद रहेको एमाले दोस्रो र १४ सिट रहेको नेकपा चौथो ठुलो दल हुन् । प्रदेश सभामा कांग्रेसका २२ सांसद छन् । यसबाहेक नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्तिका एक–एक सांसद छन् ।
एमाले संसदीय दलका नेता सरोज यादवले केन्द्रमा एमाले, नेकपा र जसपाका शीर्ष नेताबिच सहमति बनेको दाबी गर्दै नयाँ गठबन्धन निर्माण हुने बताए । ‘एमाले, नेकपा र जसपाको नेतृत्वबिच मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको छ । नेतृत्व कसले गर्ने भन्ने विषयमा मुख्यमन्त्रीको राजीनामा आएपछि छलफल गरेर निर्णयमा पुग्छौँ,’ उनले भने, ‘तर, नयाँ सरकार बन्ने पक्का जस्तै हो ।’
यद्यपि, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने तीन दलबिच नयाँ गठबन्धन बन्ने भन्ने दाबी सही नभएको भन्दै सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । तर, प्रदेश सभामा संसदीय दलका नेता सरोजकुमार यादव भने पार्टीले नेतृत्व पाउने अवस्थामा एमाले–नेकपासँग मिलेर नयाँ सरकार बनाउन सकिने लाइनमा छन् ।
जसपा संसदीय दलका नेता यादवले नयाँ सरकार गठनबारे एमाले र नेकपाका नेताहरूसँग अनौपचारिक छलफल भएको बताए । ‘नयाँ समीकरणबारे एमाले र नेकपासँग सामान्य अनौपचारिक छलफल भएको हो । नयाँ सरकार बनाउने वा यही सरकारलाई निरन्तरता दिने भन्ने विषयमा कसैसँग औपचारिक संवाद भएको छैन,’ उनले भने, ‘अहिले अध्यक्ष उपेन्द्र यादवजी पनि मुलुकबाहिर हुनुहुन्छ । उहाँ आएपछि छलफल गरेर कोसँग मिलेर सरकारमा जाने भन्ने विषयमा निर्णय लिन्छौँ ।’
निर्णायक जसपा
१०७ सदस्यीय प्रदेश सभामा अहिले १०३ सदस्य कायम छन् । नेकपाका दुई र एमाले तथा जनमत पार्टीका एक/एक सांसदले राजीनामा दिएर प्रतिनिधिसभामा चुनाव लडेका थिए । त्यस्तै, भ्रष्टाचारको मुद्दा लागेका जसपा सांसद सरोजसिंह कुसवाह निलम्बनमा छन् ।
नयाँ सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ । एमाले–नेकपाले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन कसरत गरिरहेका छन् । तीनै दल मिल्दा ६६ संख्या पुग्छ । प्रदेश सभामा जसपा सबैभन्दा ठुलो दल हो । लोसपासँगको एकतापछि जसपासँग २८ सिट छ । त्यस्तै, एमालेसँग २४ र नेकपासँग १४ सांसद छन् । तर, जसपाले मुख्यमन्त्री खोजिरहेको छ ।
जसपाको माग एमाले–नेकपाले अस्वीकार गरेको खण्डमा अर्को गठबन्धनको पनि सम्भावना छ । जसमा जसपा, कांग्रेस र जनमत मिलेर पनि सरकार बनाउन सक्छन् । जसपाको २८, कांग्रेसको २२ र जनमतको १२ गरी ६२ सिट पुग्छ ।
मुख्यमन्त्री यादवले २८ कात्तिकभित्र विश्वासको मत लिनुपर्ने
अल्पमतको सरकार चलाइरहेका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ कात्तिकभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ । एमालेले ३० असोजमा समर्थन फिर्ता लिएको थियो । तर, सरकार जोगाउन कांग्रेस सभापति गगनकुमार थापा दौडधुप गरिरहेका छन् ।
उनले १७ कात्तिकमा मात्र एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास भक्तपुरको गुन्डुमा भेट गरेका थिए । सात दलको गठबन्धनमा कांग्रेस नेतृत्वमा १९ मंसिर ०८२ मा सरकार बनेको थियो ।
गठबन्धनभित्रको किचलोपछि १ वैशाख ०८३ मा जनमतले समर्थन फिर्ता लिएको थियो भने ७ जेठमा जसपाका तीन मन्त्री बर्खास्तमा परेका थिए ।
एमाले ७ जेठमा सरकारमा गएको थियो । तर, सरकारमा जाँदा कांग्रेससँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उसले सरकार छाड्यो ।