रास्वपा सभापति रवि लामिछानेले दुईतिहाइ बहुमतको दम्भ र अहंकार त्यागेर जनताको अपेक्षाअनुसार जिम्मेवार व्यवहार गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । शक्तिको आडमा अनुचित गतिविधि हुन थालेको, तल्लो तहमा जिम्मेवारी लिन कार्यकर्ता तयार नभएकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीको धरातल नबिर्सन सचेत गराएका हुन् ।
शुक्रबार रास्वपा चितवन जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो धरातल नछाड्न नेता–कार्यकर्तालाई निर्देशन दिए । जनताले दिएको ठुलो मत ठालु पल्टिन नभई अझ बढी सेवा गर्नका लागि भएको उनको भनाइ छ । विगतमा रास्वपाका कार्यकर्तालाई कैयौँ मुद्दा लागेको, तर अहिले बदलाको भावना राख्न नहुने पनि उनले स्पष्ट पारे ।
‘बदला लिनका लागि आज हामीले म त घन्टीको मान्छे हुँ, म त राष्ट्रवादीको मान्छे हुँ भन्दै प्रशासन–प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन । हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन,’ सभापति लामिछानेले भने, ‘हामीले एउटा चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ । जनताले हामीलाई हेरिरहेका छन्, ती जनतालाई असहज लाग्ने हाम्रा गतिविधि स्वीकार्य हुँदैनन् । जनताले अत्यधिक मत दिएर पठाएको भनेको ठालु पल्टिनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो ।’
नेता–कार्यकर्तामा राजनीतिक चरित्र चाहिने उनले उल्लेख गरे । सभापति लामिछानेले थपे, ‘जनताले मुलुक जिम्मा लगाइसकेपछि अब हामी त्यो उच्च राजनीतिक चरित्र, जुन अपेक्षा गरिएको छ, त्यो अपेक्षामा खरो उत्रिनुपर्छ । तर, के हामी खरो उत्रिएका छौँ ? जनताले दुईतिहाइ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन ? यसरी हुँदैन, यसरी हुँदैन ! माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ ।’
उनले रास्वपालाई एउटा चुनावबाट अर्को चुनावका लागि राजनीति गर्ने छुट नभएको उल्लेख गरे । ‘चुनाव त हामी जितेर आउँछौँ कि जित्दैनौँ भन्ने पनि थाहा थिएन, कति सिट जित्छौँ भन्ने पनि थाहा थिएन । त्यही अन्योलबिच हामी राजनीतिमा प्रवेश गर्यौँ र त्यो प्रवेशलाई तपाईंहरूले स्वीकार गर्नुभयो र देशैभरि घन्टी बज्यो,’ उनले भने, ‘हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ । विश्लेषण गर्ने समाजमाथि जाइलाग्नु सही बाटो हुँदैन । समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ । आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिनु त्यो राजनीतिक चरित्र होइन । अब हामीले त्यो चरित्रबाट माथि उठ्नुपर्छ ।’
उनले अन्य दलहरू पार्टी बनेपछि चुनावमा पहिलो शक्ति बनेको, तर रास्वपा पार्टी बन्दै गर्दा नै शक्तिमा आएको उल्लेख गरेका छन् । ‘राजनीतिमा पहिले पार्टी बन्छ । पार्टीले संघर्ष गर्छ, दुःख गर्छ । त्यो सबै दुःख र संघर्षपछि एउटा निश्चित समय पार गर्छ । सामान्यतया हामीले सुनेको, हामीले पढेको राजनीतिक इतिहास यही हो । तर, हाम्रो सन्दर्भमा फरक पर्यो,’ उनले भने, ‘बन्दै गरेको राजनीतिक दललाई नेपाली जनताले अपार बहुमत दिएर, लगभग दुईतिहाइको बहुमत दिएर पठाएका छन् । अर्थात्, पार्टी बन्नुभन्दा पहिल्यै बलियो सरकार बनाउन सक्ने जनमत र विश्वास प्राप्त गर्यौँ ।’
लामिछानेले जनताले दिएको अभिमतको मर्म बुझ्न र शक्तिको दुरुपयोग नगर्न निर्देशन दिए । ‘पार्टीले नियालिरहेको छ । जब तपाईंहरूलाई सर्वाधिक शक्ति मिल्छ, हो, त्यतिवेला नै तपाईंहरूले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति, आफ्ना क्रियाकलाप सञ्चालन गर्न जरुरी हुन्छ । यो होइन कि आज हामी ठुलो पार्टी भयौँ, हाम्रा हातमा पुलिस छन्, हाम्रा हातमा सिडिओ छन्, हाम्रा हातमा सबै जित छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने ।
वडाध्यक्ष लड्ने मानिस भएनन्
वडाध्यक्षका लागि तल्लो समितिमा निवेदन नपरेकोमा सभापति लामिछानेले कार्यकर्तासामु गुनासो पोखे । उनले पार्टीमा अवसरको राजनीति सुरु भएकोमा चिन्ता व्यक्त गरे । उनले थपे, ‘मैले त एप्लिकेसन वडाध्यक्षमा हालेको देखिनँ, एकैचोटि उहाँ मेयर रे ! कहाँ त्यस्तो वडाध्यक्ष हुनु नि ! अर्को उहाँ सांसदमा हाल्नुपर्छ अब प्रदेशमा, एकैचोटि माननीय ! कहाँ त्यस्तो वडा–सोडा कसले हेर्छ ? देशै बनाउने, यो वडा कसले बनाउने ? यसले के देखाउँछ भने हामी अवसरको राजनीतितिर गइरहेका छौँ । देखाउन त हामी देखाउँदैनौँ, तर छर्लंग देखियो ।’
कार्यकर्ताले सभापतिले कडा त्याग गर्नुभएको भन्दै हिँडेको, तर त्यसको अनुसरण नगरेकोमा उनले गुनासो गरे । आफूलाई अनुसरण गर्न नसक्ने भए झुटो तारिफ नगर्न उनले आग्रह गरे ।
उनले स्थानीय तहको उम्मेदवार छनोटका लागि सञ्चालन भइरहेको क्यान्डिडेट क्लबको विधि र प्रक्रिया अत्यन्तै पारदर्शी हुने दाबी गरे । उनले थपे, ‘चिनेका–जानेका मान्छेहरू, नेताको नजिक भएर, एयरपोर्टमा लिन आएर, खाना खुवाएर, होटेलमा राखेर हिँडेका साथीहरूले हामीले टिकट पाउने विधि बनाएका छैनौँ ।’
कांग्रेस र कम्युनिस्टहरूको संघर्षको प्रशंसा
रास्वपा सभापति लामिछानेले कांग्रेस र कम्युनिस्ट नेताहरूका कारण नेपालमा प्रजातन्त्र आएको उल्लेख गर्दै उनीहरूको निष्ठा र संघर्षको अनुसरण गर्न आग्रह गरे । ‘नेपाली कांग्रेस कांग्रेस ०१५ मा सरकारमा गयो, त्यसपछि ०४६–४७ सम्म ३० वर्ष नेपाली कांग्रेस सरकारमा गएन, तर ती मानिसहरू संघर्षमा निरन्तर लागिरहे । तिनलाई थाहा थिएन–त्यत्रो शक्तिशाली पञ्चायत ढल्छ कि ढल्दैन, तर उनीहरूले अनवरत संघर्ष गरे,’ लामिछानेले भने, ‘कम्युनिस्ट पार्टीका नेताहरू हिजो भूमिगत, निर्वासित बस्नुपर्ने, कस्तो परिस्थितिबाट उनीहरू गुज्रिए ? के तपाईं–हामीजस्तो टिकट पाएनौँ भने म त छोडिदिन्छु, म त हार्ने हो भनेर यस्तो राजनीतिक विचलन चार वर्षभित्र आएको भए यो देशमा प्रजातन्त्र आउँथ्यो ? यो देशमा लोकतन्त्र आउँथ्यो ?’
स्थानीय निर्वाचनपूर्व पार्टीपंक्तिलाई रास्वपाका सात निर्देशन
१. निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र सञ्चालन गर्नुपर्नेछ । कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न पाइनेछैन ।
२. व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी प्रक्रिया प्रभावित गर्ने कार्य स्वीकार्य हुनेछैन । सबै योग्य सदस्य तथा आकांक्षीलाई समान अवसर सुनिश्चित गर्नुपर्नेछ ।
३. स्थानीय निर्वाचनका लागि उम्मेदवार क्लबमा आबद्ध हुनु वा आवेदन दिनु उम्मेदवारीको अन्तिम सुनिश्चितता होइन । नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्यांकन, प्राथमिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा भएपछि पार्टीले अन्तिम उम्मेदवारको निर्णय गर्नेछ ।
४. अधिवेशन हुन बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका पार्टी संरचनाले अधिवेशनको तयारी र प्रक्रिया अघि बढाउँदा सम्बन्धित माथिल्लो तहका पार्टी नेतृत्व तथा विभागसँग आवश्यक परामर्श र समन्वय गर्नुपर्नेछ । कार्यतालिका घोषणा हुनुअघि कसैले पनि नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा वा प्रचारप्रसार गर्न पाइनेछैन ।
५. आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रमपूर्ण प्रचार, चरित्रहत्या वा पद र शक्तिको दुरुपयोग गरी निर्वाचन प्रभावित गर्ने कार्य निषेध छ ।
६. पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लंघन गर्नेलाई उल्लंघनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुनेछ ।
७. निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा संगठनात्मक प्रक्रियासँग सम्बन्धित पार्टीका आन्तरिक दस्ताबेज, निर्णय, छलफल, पत्राचार, अभिलेख तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नुपर्छ ।