सर्वोच्चको ‘फुलकोर्ट’मा न्यायाधीशहरूले फुयाललाई भने– तपाईं मात्र विचलित हुनुभएन, हामी सबैलाई डुबाउनुभयो

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • फुयालको चेतावनीपूर्ण प्रस्ताव थियो– मेरो विषय संसद् गयो भने धेरै कुरा आउँछन् र अप्ठ्यारो पर्न सक्छ, त्यसैले आन्तरिक छानबिन नै विवेकपूर्ण हुन्छ

nullबिचौलिया इनम सापकोटासँगको संदिग्ध सम्बन्ध देखिएका सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालमाथि सर्वोच्चका अन्य न्यायाधीशले आक्रोश व्यक्त गरेका छन् । शुक्रबार र आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) मा सिंगो न्यायालयलाई नै विवादमा तानेको भन्दै उनीहरूले फुयालको आलोचना गरेका हुन् ।

केही न्यायाधीशको आचरणको भार समग्र न्यायालयले बोक्नुपरेको र संस्थाकै बदनाम भएको उनीहरूको आरोप थियो । ‘तपाईंसँग होटेल हिमालयमा गएका अरू न्यायाधीश को–को हुन् कृपया खुलाइदिनुस् । तपाईंहरू दुई–चारजनाको गलत आचरणको भार हामी सबैले बोक्न सक्दैनौँ,’ ती न्यायाधीशले भनेका थिए, 
‘तपाईंहरूले गर्दा हामीलाई समेत घरपरिवार र छरछिमेकमा अनुहार देखाउन नसक्ने अवस्था भएको छ, किन यस्तो गर्नुभयो ?’

स्रोतका अनुसार उनीहरूले ‘तपाईं मात्र विचलित हुनुभएन, हामी सबैलाई डुबाउनुभयो’ भन्ने आक्रोशसमेत व्यक्त गरेका थिए ।

गत शुक्रबार सर्वोच्चमै पत्रकार बोलाएर न्यायाधीश फुयालले आफू मात्र नभई अरू धेरै न्यायाधीशले होटेल हिमालयमा बिचौलिया सापकोटासँगै भेट गरेको खुलासा गरेका थिए । महाभियोगको त्रासका कारण आफूले त्यहाँ भेट गरेको उनको तर्क थियो । 

तर, उनले अन्य न्यायाधीशको नाम खुलाएका थिएनन् । सर्वोच्चकै उच्च तहका कर्मचारी पनि त्यहाँ गएको उनको दाबी थियो । नाम नलिई अरूलाई समेत दोषी देखाएर सिंगो न्यायालयलाई बदनाम गराएको भन्दै फुयालको अभिव्यक्तिप्रति अन्य न्यायाधीशले चर्को असन्तुष्टि जनाएका हुन् ।

प्रहरी नेतृत्वदेखि सेनासम्मलाई गुहारेको भन्ने फुयालको भनाइमा पनि प्रश्न उठेको थियो । ‘विभिन्न निकायलाई भेटी सूचना दिनुपर्ने, गुहार्नुपर्ने अवस्था कसरी आयो ?’ बैठकमा उनीमाथि सोधिएको थियो, ‘सबैलाई जानकारी गराउँदै हिँड्दा न्यायिक नेतृत्वलाई जानकारी गराउनुपर्छ भन्ने तपार्इंलाई आएन ?’ प्रधानन्यायाधीश मनोजकुमार शर्माले फुयालले त्यस विषयमा आफूलाई जानकारी नगराएको भनेर प्रस्टीकरण दिएपछि बैठकमा यो विषय उठेको थियो ।

त्यस्तै, आफूसँग जोडिएको र विभिन्न निकायमा उजुरी गरेका व्यक्तिकै मुद्दा हेरेको विषयमा पनि उनीमाथि फुलकोर्टमा प्रश्न उठेको छ । फुयालले सापकोटाको बन्दी प्रत्यक्षीकरणको मुद्दा आफैँ मात्र हेरेनन्, पत्रकार भेटघाटमा उनको रिट खारेज गरिदिएको भनेर सगौरव खुलाएका थिए । त्यसरी आफूसँग जोडिएको व्यक्तिको मुद्दा हेरेको र फैसलाको समेत प्रचार गर्दै हिँडेकामा आलोचना उनको भएको हो ।

न्यायाधीशले फुयाल थोरै आत्मालोचना गर्दै यो विषयमा अदालतले नै आन्तरिक छानबिन गर्ने प्रस्ताव गरेका थिए । यद्यपि, फुलकोर्टको बैठकले छानबिन समिति गठन नगरी अन्य निकायलाई सघाउने भन्दै संसदीय छानबिन नै उचित हुने संकेत गरिसकेको छ ।

स्रोतका अनुसार बैठकमा न्यायाधीश फुयालले आफ्ना केही गल्ती पनि स्विकारेका थिए । ‘म तपाईंहरूको पीडा बोध गर्न सक्छु । म तपाईंहरूलाई भारी भएर बस्दिनँ, तपाईंहरूलाई अप्ठेरोमा पनि पार्दिनँ,’ न्यायाधीश फुयालले भनेका थिए, ‘ड्यामेज कन्ट्रोल गर्ने हो भने आन्तरिक छानबिनतर्फ जाऔँ, त्यसपछि म होटेल हिमालयमा गएकाहरूको पनि नाम खुलाउन सक्छु ।’

उनले संसदीय छानबिन प्रक्रियामा गए सबैलाई कठिन हुन सक्नेसमेत घुमाउरो पाराले चेतावनी दिएका छन् । ‘मेरो विषय संसद् गयो भने धेरै कुरा आउँछन् र अप्ठेरो पर्न सक्छ । त्यसैले आन्तरिक छानबिन नै विवेकपूर्ण हुन्छ ।’

बैठकमा फुयालले महाभियोगको त्रासका बिच नै इनमलाई भेटेको दोहोर्याएका थिए । यो प्रकरणले न्यायालयलाई ठुलो क्षति हुने उनको भनाइ थियो । ‘अहिले त्यो व्यक्तिले बोलेको अडियो आइरहेको छ । कहिले सार्वजनिक हुन्छ थाहा छैन । यहाँ लहरो धेरै लामो छ । धेरै राजनीतिज्ञ पर्नेवाला छन् । प्रशासक पनि तानिनेछन्, जुडिसियरीलाई धेरै क्षति हुनेवाला छ ।’

आइजिपी सचिवालयको मान्छेलाई घरमै बोलाएर सापकोटाको बारेमा जानकारी लिएको र त्यसमा प्रधानमन्त्रीको सचिवालय र सेनालाई जानकारी गराएको उनको जवाफ थियो । महाभियोगको त्रास साँचो भएको र अन्तर्राष्ट्रिय संघसंस्थाको हस्तक्षेपपछि मात्र मत्थर भएको उनको भनाइ छ ।

न्यायाधीश फुयाल र बिचौलिया सापकोटाबिचको ह्वाट्सएप च्याट गत १२ कात्तिकमा नयाँ पत्रिकाले प्रकाशन गरेको थियो । त्यो च्याट फुयालले स्वीकार गरेका छन् । सापकोटाले व्यापारी रोहित गुप्तालाई थुनामै राख्ने आदेश दिन आग्रह गरे पनि धरौटीमा छाड्ने आधार भएको भन्दै उनले त्यसबारे प्रस्टीकरण दिँदै होटेलमा भेट्न प्रस्ताव गरेको देखिन्छ ।

भोलिपल्ट अन्य न्यायाधीशसहित होटेलमा उनलाई भेटेको र उनले विभिन्न मुद्दाको विषयमा दबाब दिएको फुयालको भनाइ छ । महाभियोगको त्रासले मात्र भेटेको र कुनै बदनियत नभएको बताउँदै आए पनि बिचौलियासँगको घनिष्टताका कारण उनीमाथि नेपाल बारले समेत छानबिनको माग गरिसकेको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय छानबिन समितिमार्फत यस प्रकरणमा छानबिन गर्ने निर्णय गरिसकेको छ । 

शुक्रबारको फुलकोर्ट बैठकमा बिचौलिया इनम सापकोटाको च्याटमा प्रधानन्यायाधीश शर्माको नाम पनि उल्लेख भएको भन्दै अन्य न्यायाधीशले प्रश्न गरेका थिए । जवाफमा शर्माले ‘त्यो चिर्कटो’को कुनै आधिकारिकता नभएको दाबी गरेका थिए । गत वर्ष नै आफूलाई प्रधानन्यायाधीश भनेर उल्लेख गरेकाले त्यसको कुनै आधिकारिकता नभएको उनको दलिल थियो । शर्माले सापकोटासँग आफ्नो कुनै सम्पर्क र चिनजान नभएकाले यस विषयमा ढुक्क हुन आग्रह गरेपछि सोमबारको बैठकमा भने यस विषयमा कुरा नउठेको स्रोत बताउँछ । 

फुयालले इजलास छाडेनन्, बिदामा बसे 
बिचौलियासँग ‘साँठगाँठ’ देखिएको भन्दै गम्भीर प्रश्न उठे पनि इजलास नछाडेका न्यायाधीश हरि प्रसाद फुयाल मंगलबारदेखि शुक्रबारसम्म बिदामा परेका छन् । उनले २० कात्तिकसम्म बिदा लिएको सर्वोच्चका प्रवक्ता अशोककुमार क्षेत्रीले बताए ।

२१ गते शनिबार छ, २२ देखि २६ सम्म तिहार बिदा छ । नेपाल बार एसोसिएसनले यो प्रकरणको अध्ययन गर्न पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिसकेको छ । बारले नै अध्ययन गर्न समिति बनाइसकेपछि त्यस्ता व्यक्तिको इजलासमा बहस गर्न नहुने कानुन व्यवसायीहरूकै मत छ ।

उनीहरूले न्यायाधीशलाई इजलास छाड्न आग्रह गरेका थिए । ‘बारले पनि समिति बनाउने निर्णय गरिसकेको छ । जब बारले न्यायाधीशको बारेमा ‘फ्याक्ट फाइन्डिङ कमिटी’ बनाउँछ भने ती न्यायाधीशको इजलासमा हामीले बहस गर्न मिल्दैन,’ वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नयाँ पत्रिकासँग भनेका छन् । सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यो प्रकरणमा ‘संसदीय छानबिन’ गरेर सत्य–तथ्य बाहिर ल्याउन आग्रह गरेको थियो ।

सुझावित समाचार