Skip This
हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २ सोमबार १७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २ सोमबार १७:४६:oo

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ।

क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। 

बिमा दलाल (ब्रोकर)का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ। दुर्घटनामा परेका यात्रुको बिमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए। 

‘बिमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बिमा गरेको हुन्छ। पुनर्बिमाबाट पैसा आएपछि बिमा कम्पनीबाट भुक्तानी भइहाल्छ। मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बिमा रकम भुक्तानी हुन्छ,’ उनले भने। 

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बिमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए। बिमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि चासो राखेको उनको भनाइ छ।  

‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बिमा भुक्तानीबारे चासो राखेको थियो। बिमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ। दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ,’ प्रवक्ता पौडेलले भने। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलरबराबरको बिमा गरिएको हुन्छ। चालकदलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ। 

आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको हवाई जहाजमा सवार चारजना चालक दल र ६९ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ।