१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
सुदूरपश्चिमविरुद्ध त्रिभुवन आर्मीका सोमपाल कामी ब्याटिङ गर्दै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १६ मंगलबार ०६:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कपको फाइनलमा पुलिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १६ मंगलबार ०६:३३:००

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल स्थान सुरक्षित गरेको छ । मूलपानी माथिल्लो क्रिकेट मैदानमा पुलिसले लगातार सातौँ जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगिताको सोमबार पुलिसले गण्डकीमाथि ६ विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको गण्डकीले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७० रन जोडेको थियो ।

पुलिसले २४.२ ओभरमा चार विकेट गुमाउँदै आफ्नो जित यात्रा जारी राख्यो । पुुलिसले सात खेलबाट सर्वाधिक १४ अंक जोडेको छ । राउन्ड रोबिन फम्र्याटमा चलिहेको प्रतियोगिताको दुई खेलअघि नै फाइनलमा पुग्ने पुलिस पहिलो टोली बनेको हो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी सम्मिलित पुलिसलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । गण्डकी आठ खेलमा चार अंकका साथ आठौँ स्थानमा छ । गण्डकीको अन्तिम दुईमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।  

दिलीप र अर्जुनबीच बलियो साझेदारी
पुलिसको जितमा ओपनर दिलीप नाथ तथा अर्जुन साउदले अर्धशतकीय इनिङ्स खेलका थिए । दिलीपले ३९ बलमा ६ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५७ रनको योगदान गरे । तेस्रो नम्बर अर्डरमा क्रिजमा पुगेका अर्जुनले अविजित ४४ रनको योगदान दिए । अर्जुनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । दोस्रो विकेटका लागि दिलीप र अर्जुनले ७८ रनको साझेदारी गरे । गण्डकीका सन्दीप पराजुलीले दुई विकेट लिए ।

गण्डकीका अमृत गुरुङले ३९ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ५० रन जोडे । किरण पंगेनी र कमल परियारले समान ३० रन जोडे । पुलिसका रासिद खानले सर्वाधिक पाँच विकेट लिए । उनले ६ ओभरमा २५ रन खर्चिएका हुन् । करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट हात पारे । कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। 

आर्मी दोस्रो स्थानमा उक्लियो
सुदूरपश्चिमलाई ९६ रनले हराउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । त्रिवि मैदानमा आर्मीले पहिलो ब्याटिङ गरी ४८.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६३ रन जोडेको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले ४०.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६५ रन मात्र जोड्दा आर्मी ९७ रनले विजयी भयो । जितसँगै आठ खेलमा १२ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको हो ।

फाइनल प्रवेश गर्न आर्मीले निर्णायक खेलमा गण्डकीलाई हराउनुपर्छ । सुदूरपश्चिमले सात खेलमा आठ अंक जोडेको छ । सुदूरपश्चिमका किरण ठगुन्नाले सर्वाधिक ६८ रन बनाए । उनले ७४ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । आर्मीका जितेन्द्र मुखियाले पाँच विकेट लिए । आर्मीका लागि कुशल मल्लको कुशलले सर्वाधिक ७५ रन जोडे । उनले ६७ बलमा १० चौका र तीन छक्का प्रहार गरे । सुदूरपश्चिमका भोजराज भट्टले सर्वाधिक ६ विकेट लिए ।