१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट सूर्यले लिए नौ खेलमा कीर्तिमानी ३० विकेट

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:o१:oo

२०१९ को संस्करणमा नेपाल पुलिस क्लबका ललितनारायण राजवंशीले एकै संस्करणमा सर्वाधिक २० विकेटको कीर्तिमान राखेका थिए

बायाँ हाते स्पिनर सूर्य तामाङ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको एकै संस्करणमा ३० विकेट लिने पहिलो खेलाडी बनेका छन् । २२ वर्षीय सूर्यले एकै संस्करणमा ३० विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखेका छन् । उनले प्रतियोगिताको नौ खेलमा सर्वाधिक ३० विकेट लिएका हुन् । सूर्यले सर्वाधिक ३० विकेट लिए पनि बागमतीले भने फाइनलमा पुग्न अन्य टोलीको खेल कुर्नुपर्ने भएको छ । सूर्यअघि सन् २०१९ को संस्करणमा नेपाल पुलिस क्लबका ललितनारायण राजवंशीले एकै संस्करणमा सर्वाधिक २० विकेटको कीर्तिमान बनाएका थिए । एपिएफकै मौसम ढकालले ६ खेलमा १५ विकेट लिएका थिए । 

सूर्यले अन्तिम खेलमा लुम्बिनी र मधेश प्रदेशविरुद्ध समान ६ विकेट लिएका छन् । विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध पाँच विकेट लिँदा अर्काे विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ तथा सुदूरपश्चिम प्रदेशविरुद्ध समान तीन विकेट हात पारे । त्यस्तै, कोशीविरुद्ध दुई विकेट लिँदा कर्णाली र गण्डकी प्रदेशको समान एक झारेका थिए । उनको उत्कृष्ट प्रदर्शन मधेशविरुद्ध नौ ओभरमा तीन मेडनसहित १८ रन खर्चिएको रह्यो । 

सूर्यले इन्जुरीपछिको कमब्याकमा कुनै दबाब नरहँदा यो उपलब्धि हासिल भएको प्रतिक्रिया दिएका छन् । ‘मेरो इतिहासमै धेरै ३० विकेट बनेको छ । इन्जुरीपछि यो प्रतियोगिता मेरा लागि कमब्याक गर्ने बाटो बन्यो । धेरै आशा गरेको थिइन । दबाबमुक्त भएर खेल्दा धेरै विकेट हात पर्‍यो,’ सूर्यले भने, ‘मलाई मेरो भूमिका थाहा थियो । अवसर पाएको वेला प्रदर्शन गर्न सक्छु भन्ने विश्वास थियो जहाँ म सफल भएको छु ।’

ब्याटिङतर्फ यस प्रतियोगितामा नौ शतक बन्दा सबै शतक कीर्तिपुरस्थित त्रिवि मैदानमा बने । नौ टोली सहभागी प्रतियोगिताका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुर तथा भैरहवाको सिद्धार्थ रंगशालामा भएका छन् । बागमतीले सिद्धार्थ रंगशालाबाहेक दुवै मैदानमा खेलेको छ । सूर्यले दुवै मैदानमा समान १५ विकेट हात पारेका छन् । सूर्यले गत वर्ष आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएएल)मा विराटनगर किंग्सबाट खेल्दै आठ खेलमा १२ विकेट लिएका थिए । 

यसपछि उनी राष्ट्रिय टोलीमा स्थान बनाएपनि डेब्यु गर्न भने पाएनन् । सूर्यपछि चलिरहेको प्रतियोगितामा सुदूरपश्चिमका शेर मल्लले ६ खेलमा २१ विकेट, मधेश प्रदेशका रञ्जित कुमारले आठ खेलमा १९ विकेट, सात खेल खेलेका गण्डकीका विपिन खत्रीले १७ विकेट र नेपाल पुलिसका ललितनारायणले ६ खेलबाट १६ विकेट हात पारेका छन् । 

अब, नेपालमै खेल्छु 
सूर्यले सुन्दर भविष्यको योजनासहित नेपाल छोड्ने योजना पहिले बनाए पनि तत्काललाई नभएको बताएका छन् । केही समयअघि उनी अन्य खेलाडीझैँ देश छाड्ने मनसायमा थिए । तर, तत्काललाई उनको योजना फेरिएको छ । ‘अझै पनि नेपालमा खेलेरै बाच्ने अवस्था छैन । त्यसैले बाहिर जाने सोच बनाएको थिएँ । तर, अब छैन । यसपटक राम्रो प्रदर्शन पनि भयो,’ उमेर समूहको एसिसी यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरिसकेका सूर्यले ३० विकेट लिएपछि भनेका छन् । उनले सिनियर टोलीका सबै खेलाडीमा खेल जिताउन सक्ने क्षमता रहेको र आफू पनि त्यो अवसरको खोजीमा रहेको संकेत गरेका छन् । ‘नेपाली टिममा सबै म्याच विनर छन् । अवसर पाए त्यसलाई सदुपयोग गर्न म तयार छु ।’ 

बागमतीको छैटौँ जित
बागमती प्रदेशले प्रतियोगितामा छैटौँ जित निकालेको छ । प्रतियोगिताको ३४औँ खेलमा बागमतीले लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाले पनि फाइनलमा स्थान भने पक्का गर्न सकेन । फाइनल प्रवेश गर्न नौ खेल नै खेलिसकेको बागमतीले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । अर्काे खेलमा एपिएफ गण्डकी प्रदेशविरुद्ध ८८ रनको जित निकाल्दै छैटौँ स्थानमा छ । सात खेल खेलेको एपिएफ आठ अंक जोडेको छ । उसले फाइनल पुग्न बाँकी दुवै खेल मात्रै जितेर पुग्नेछैन, अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ ।

ad
ad