१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o९:५३:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्पादनसँग जोडिँदै पैँचो- ‘बसे पनि सहर गाउँकै खाने रहर’ 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:५३:oo

पाँच सयभन्दा बढी रोपनीमा टमाटर, खुर्सानी र काँक्रा फलाउँदै

गुल्मीकाे छत्रकोट गाउँपालिका– ५ खर्ज्याङको खरीबोट धान, मकै र गहुँको उर्वरभूमि हो । त्यो ठाउँ स्थानीय अगुवा किसान नारायणप्रसाद पाण्डेका आँखैअगाडि बाँझो बन्यो । मलिला खेतबारी पनि खेती नभएपछि पाँच–सात बर्षमै बाँझो पल्टिने पाण्डेले सुनाए । ‘बुट्यान बन्न थालेको खरिबोट अहिले फेरियो । गाउँका उर्वर खेतबारी जंगल बनेका छन्,’ उनले भने, ‘पैँचोको कर्मले ऊर्जा भरेको छ ।’ अहिले लामो समय बाँझो रहेको खरीबोटमा लटरम्म टमाटर फलेका छन् । जसले स्थानीय छक्क छन् भने पैँचो खरीबोटलाई कृषक पाठशाला बनाउ खोजिरहेको छ ।’

पैँचो पसल प्रालिले पैँचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालन गरेको छ । पैँचोको नेपालका पहाडी तथा हिमाली भूभागमा कृषि उत्पादनमा सम्भावना तथा त्यसको खोजी गर्ने र पहाडमा प्राकृतिक रूपमा उत्पादन भएका कृषि उपजको उत्पादकत्व वृद्धि, बजारीकरण गर्दै ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्यको छ । जसले पहिलो चरणमा कृषिमा चक्लाबन्दी संरचनामा उत्पादन गर्न पैँचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको प्रालिका सचिव केशव न्यौपानेले बताए । अहिले छत्रकोट गाउँपालिका– ५ खर्ज्याङमा केन्द्रमार्फत करिब ६० रोपनीमा आधुनिक प्रविधिको प्रयोग गरी टमाटर खेती शुभारम्भ गरिएको छ ।

छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले फर्ममा पाकेका टमाटर टिपेर केन्द्रको उद्घाटन गरे । पाण्डेले आफूहरूले पनि बाँझो जग्गा उपयोगमा धेरै गर्न खोजे पनि नसकेकाले अब निजी क्षेत्रमा साझेदारीमा काम गर्नुपर्ने बताए । उनले स्थानीय तहले उत्पादन, प्रदेशले बजारीकरण र केन्द्रले बिउ, मलसँगै नीतिमा काम गर्नुपर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले किसान उत्पादन गर्न तयार रहे पनि राज्यले बजारको ग्यारेन्टी गर्न नसकेका कारण समस्या भइरहेकाले अबको विकल्प निजी साझेदारी भएको बताए । पैँचोले विगतदेखि गरेका कामहरू नै उदाहरणीय भएकाले किसानका मर्कालाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।

प्रालिले गुल्मी दरबार गाउँपालिका– ३ पुर्खेमा करिब एक सय ५० रोपनी तथा मुसिकोट नगरपालिका– ५ आँपचौरमा तीन सय रोपनी जग्गा भाडामा लिएर एकीकृत कृषि फर्म सञ्चालनमा ल्याएको न्यौपानेले बताए । खर्ज्याङ र पुर्खेमा टमाटर तथा आँपचौरमा अकबरे खुर्सानी उत्पादन थालिएको छ । उक्त उद्देश्यअनुसार तीन स्थानमा जग्गा व्यवस्थापन, सिँचाइ प्रणालीको स्थापना गर्न करिब एक करोड ५० लाखको लागत अनुमान गरिएको छ ।

बढ्दो बसाइँसराइ कम गर्न, कृषिको सम्भावनाको खोजी, प्रविधिको हस्तान्तरण, न्यून सञ्चालन लागत तथा स्थानीय रोजगारीको सिर्जना यस नमुना उत्पादन केन्द्रको मुख्य उद्देश्य रहेको कम्पनीका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले बताए । उनले पैँचो नमुना कृषि उत्पादन केन्द्र पाठशाला पनि रहेको बताए । प्रालिले पहिलो दशक सिकाइमा बिताएर कृषि र कृषकका समस्या बुझेकाले अब उत्पादनमा जोड दिने उनले बताए । 

प्रालिले ५० करोड लगानी पुराएर देशभर आफूहरूको पहुँच वृद्धि गर्ने लक्ष्य राखेको छ । व्यवस्थापन र प्राविधिक रूपमा दरिलो बनेर उत्पादनमा लागेको न्यौपानेले बताए । ‘किसानले खेती गर्दा नाफा भएन भन्ने गरेको प्रश्न गर्छन् । प्राविधिकले फेरि किसानले काम गर्नै मान्दैनन् भन्छन्,’ उनले भने, ‘हामीले दुवै पक्ष व्यवस्थापन र प्राविधिक जोडेर काम गरिरहेका छौँ ।’ केन्द्रमा उत्पादन भएका कृषि उपजलाई पैँचो प्रशोधन केन्द्र रिडीमा प्रशोधन गरी केचअप, जाम, अचारलगायतका वस्तु उत्पादन गर्ने गरिएको छ ।

५० जनालाई रोजगारी 
अहिले तीनवटा केन्द्रमा काम गर्ने जनशक्ति र प्राविधिक गरेर ५० जनाले दैनिक प्रत्यक्ष रोजगारी पाएका छन् । पैँचो उत्पादनमा उच्च पहाडी कृषि उपजको प्रयोग गर्ने गरिएको छ । पैँचोले गुल्मी, अर्घाखाँची, पाल्पामा कृषि उपजको संकलन तथा बजारीकरणका गर्न १३ वटा आफ्नै शाखा तथा १२ वटा फ्रेन्चाइज र रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र सञ्चालन गरी पैँचो उत्पादनहरू स्वदेश तथा विदेशमा बिक्री–वितरण गर्दै आइरहेको प्रालिका प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार पैँचो पसलले अहिले नेपालभर र विदेशमा अमेरिका, जापान, अस्ट्रेलिया, युएई, कतारलगायतका देशमा आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । सीधै किसानसँग जोडिएर कृषिमा आधारित उद्योग सञ्चालन गरिएको पैँचो नै नेपालको पहिलो उद्योग भएको दाबी प्रालिले गरेको छ ।

‘बसे पनि सहर गाउँकै खाने रहर’

‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै गुल्मीकै बलेटक्सार गाउँबाट पैँचौ सुरु गरिएको थियो । लामो समयदेखि सहरमा बसोवास गर्दै आए पनि गाउँबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरूको बजारीकरण गर्ने उद्देश्यले ०७१ सालमा पैँचो पसल प्रालि स्थापना भएको सञ्चालक तोयनाथ ज्ञवालीले बताए । 

उनले आफूहरूले राज्यसँगसँगै नजिक रहेर आफ्ना कृषि कर्महरू अगाडि बढाउन चाहेकोले पन्छिन नहुने बताए । परम्परामा सीमित भइसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्‍याउने र उपयुक्त बजार प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रालि सञ्चालन भएकाले हजारौँ किसान र उपभोक्ता आफूहरूको सेवाबाट लाभाविन्त भइरहेको ज्ञवालीले बताए ।

पैँचोले अहिले पैँचो टोमेटो केचअप, मेक्सिकन सस, पैँचो अचार, पैँचो होल क्यान कर्न, पैँचो आँटो, पैँचो कोदोको पिठो, पैँचो जाम, सिन्की, मस्यौराजस्ता उत्पादन उत्पादन गरिरहेको छ । त्यस्तै, जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला) जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरू प्याकेजिङ गरी बजारमा पुर्‍याउँदै आएको छ । 


 

ad
ad