लाइसेन्स नभएका चालकले चलाएकाे कारले ठक्कर दिएर पैदल यात्रुकाे ज्यान गएपछि चालकलाई नक्कली लाइसेन्स दिइएकाे घटनामा संलग्न सातजनाविरुद्ध साेमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे छ।
अघिल्लाे वर्ष ०८० असारकाे यस घटनामा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)ले छानबिन गरी सरकारी लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेकाे हाे।
कारले ठक्कर दिएर पैदल यात्रुकाे घटनास्थलमै मृत्यु भएपछि सम्भावित सजायबाट जाेगिन चालकसँग लाभ लिएर गिराेहले नक्कली लाइसेन्स दिएकाे थियाे।
त्यही लाइसेन्स लिएर चालक हिरासतमुक्त भएका थिए। चालकसहित नक्कली लाइसेन्स दिने प्रक्रियामा संलग्नलाई सिआइबीले प्रतिवादी बनाएकाे छ।
यस मुद्दामा यात्रुलाई ठक्कर दिने कारचालक शशांक बस्याल र उनका पिता ठानेश्वर बस्याललाई प्रतिवादी बनाइएकाे छ।
त्यस्तै, तत्कालीन समयमा यातायात व्यवस्था विभागमा कम्प्युटर इन्जिनियर रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा कार्यरत सुरजप्रकाश अर्याल, यातायात व्यवस्था कार्यालय, बुटवलमा सहायक कम्प्युटर अपरेटरमा करारमा कार्यत नारायणप्रसाद पाण्डे तथा यातायात व्यवस्था विभागका पूर्वकरारका कर्मचारी हरिश भट्टविरुद्ध पनि मुद्दा दायर भएकाे छ।
त्यस्तै, नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न अन्य दुईजना अकरामुद्दिन मुसलवान र अरुण कार्की भन्ने लट्टु नाउलाई पनि प्रतिवादी कायम गरिएकाे छ। अर्याल, पाण्डे र भट्टबाहेक अरूलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर भएकाे छ।