तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भन्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ।

२७ करोड २२ लाख रुपैयाँ लागतको उक्त आयोजना ०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गरिए पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम भौतिक प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ।

सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष ०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँबराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकहरूलाई पत्राचार गरिएको छ।

ठेक्का सम्झौता अन्त्य गरिएको उक्त सडकखण्डको निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।

सुझावित समाचार