मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ। शनिबार दिउँसो १२ बजेको मापनअनुसार जलसतह एक हजार पाँच सय २८ दशमलव २७ मिटर पुगेको छ। यही गतिमा पानी बढे साँझ ४ बजेसम्म एक हजार पाँच सय २९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।
जलाशयको अधिकतम सतह एक हजार पाँच सय ३० मिटर हो। सतह एक हजार पाँच सय २८ दशमलव ५ मिटर पुगेपछि पहिलो चेतावनीको साइरन बजाउने र एसएमएस अलर्ट पठाउने व्यवस्था रहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।
केन्द्र प्रमुख प्रह्लाद राउतले जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा भए जलाशयको सतह सन्तुलित राख्न बाँधका मुख्य ढोका (स्पिलवे गेट) खोल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। ढोका खोलिए सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाब आकस्मिक रूपमा बढ्न सक्छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सिस्नेरी खोला र डौडारे खोला किनारका घर तथा पसल व्यवसाय सञ्चालन गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्। ती क्षेत्रमा रहेका व्यवसाय बन्द गरी सुरक्षित स्थानमा बस्न वडा सुरक्षा प्रहरीलाई परिचालन गरिएको छ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिका–२, लामाबगरको एकान्तकुनास्थित कुलेखानी खोला बगर क्षेत्रमा पसल तथा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल व्यवसाय बन्द गर्न सुरक्षा टोलीमार्फत अनुरोध गरिएको छ।
आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदीकिनारबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र मोबाइलमा आउने एसएमएस तथा आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ। बाँधका ढोका खोल्नुपर्ने अवस्था आए दोस्रो र तेस्रो चरणको आपत्कालीन साइरन बजाउने तथा एसएमएस अलर्ट पठाउने व्यवस्था मिलाइएको छ।
सम्भावित बाढी व्यवस्थापनका लागि आयोजनाका प्राविधिक कर्मचारी १३ कात्तिकदेखि नै फिल्ड र कन्ट्रोल रुममा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयलाई तटीय क्षेत्रमा गस्ती बढाउन र सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गणलाई उद्धार टोली तयारी अवस्थामा राख्न पनि आयोजनाले अनुरोध गरेको छ।