मकवानपुर/ कुलेखानी जलाशयमा पानीको सतह बढेर १ हजार ५२८ दशमलव ५० मिटर पुगेपछि पहिलो चरणको चेतावनी साइरन बजाउन सुरु गरिएको छ।
जलाशयको सतह थप बढ्न सक्ने र बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् आयोजनाले साइरन बजाउन थालेको हो।
साइरन बजाउन सुरु गरेसँगै आयोजनाले जलाशयको तल्लो तटीय क्षेत्रका बासिन्दालाई खोलाकिनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। त्यस्तै, देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा सुरक्षा निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
जलाशयको सतह बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रहरीले काठमाडौं जाने सवारीसाधनलाई भैँसे र भीमफेदीलगायतका प्रहरी चौकीमा रोकेको छ। प्रहरीले यात्रुलाई वैकल्पिक रूपमा त्रिभुवन राजपथ प्रयोग गर्न निर्देशन दिएको छ।
जलाशयको अधिकतम जलसतह सीमा १ हजार ५३० मिटर रहेकाले सतह बढ्दै जाँदा बाँधको पानी सन्तुलनमा राख्न ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने आशंका गरिएको छ। बाँधका ढोका खोलिए सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाब अचानक बढ्न सक्ने भएकाले स्थानीय बासिन्दा र यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।
आयोजनाबाट जारी हुने साइरन, एसएमएस अलर्ट तथा प्रशासन र सुरक्षा निकायका सूचनाको पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।