काठमाडाैं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यमका कार्यालयमा भएको प्रहरी हस्तक्षेपमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको हस्तक्षेपलाई गम्भीर रूपमा लिँदै दोषीमाथि अविलम्ब छानबिन र कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
समाचारको स्रोत खुलाउन दबाब दिने, पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमको कार्यालयमा अनधिकृत रूपमा प्रहरी प्रवेश गराउने कार्यलाई रास्वपाले संविधान र कानुनविपरीत ठहर गरेको छ । संविधानले दिएको मौलिक अधिकार, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सचिवालयले पुनः प्रतिबद्धता जनाएको छ ।
‘प्रेस स्वतन्त्रताको सन्दर्भमा रास्वपा कोही कसैसँग सम्झौता गर्दैन । सञ्चारकर्मी एवं पत्रकारमाथि धरपकडका घटना गलत छन् । प्रधानमन्त्री कार्यालयबाट समेत यसमा संलग्नता नरहेको सार्वजनिक भएको सन्दर्भमा यो घटना किन भयो, कसरी भयो र कसले गर्यो भन्नेबारे छानबिन गरी संलग्नलाई कारबाही गर्न सचिवालय बैठकले सरकारलाई स्पष्ट निर्देशन दिएको छ,’ प्रवक्ता जगदीश खरेलले भने ।
उनका अनुसार यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न ढिलासुस्ती नगरी परिणाम देखाउन पार्टीले सरकारलाई निर्देशन दिएको छ । ‘अबका दिनमा प्रेस स्वतन्त्रता हननका घटना नदोहोर्याउन, समाचार लेखेकै आधारमा सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा सञ्चारकर्मीमाथि धरपकड नगर्न तथा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने । रास्वपाले सामाजिक लोकतन्त्रलाई आत्मसात् गरेको र प्रेस स्वतन्त्रता त्यसको अभिन्न अंग भएको स्पष्ट पारेको छ ।
शुक्रबार नयाँ पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकडको प्रयास भएको थियो भने पत्रकार विश्वमणि सुवेदीसहितका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेर साँझ छाडेको थियो । समाचारको स्रोत खुलाउन दबाब दिने गरी प्रहरीले पत्रकारमाथि गरेको ज्यादतीको सर्वत्र विरोध भएको थियो । रास्वपाले पनि शुक्रबार विज्ञप्तिमार्फत पत्रकारमाथिको ज्यादतीको विरोध गरेको थियो ।
शनिबारको सचिवालय बैठकमा रास्वपा उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, उपसभापति एवं कानुनमन्त्री सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता जगदीश खरेललगायत नेता सहभागी थिए । वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा सहभागी भएनन् । गृहमन्त्री सुधन गुरुङ पनि पार्टी कार्यालय पुगेका थिएनन् ।
संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि छैन : रवि लामिछाने
सञ्चारमाध्यम तथा पत्रकारमाथि कानुन र संविधानविपरीत धरपकड तथा हस्तक्षेप भएको विषयलाई लिएर रास्वपा सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नरहेको स्पष्ट पारेका छन् । ‘संविधानभन्दा माथि र डेमोक्रेसी (लोकतन्त्र) भन्दा ठूलो केही छैन, कोही छैन । राष्ट्रिय स्वतन्त्र पार्टी यसमा स्पष्ट छ । रवि लामिछाने यसमा स्पष्ट छ । यसमा आँच आउने क्रियाकलाप जो–कोहीले गरेको भए त्यो सजायको भागीदार हुनुपर्छ,’ पार्टी बैठकपछि उनले भने, ‘जसले संविधानलाई नै बेवास्ता गर्ने, संविधानप्रदत्त अधिकार हनन गर्ने काम गरेको छ, उसमाथि स्पष्ट सजाय हुनुपर्छ ।’
त्यसअघि उनले बैठकमा यस्तो प्रवृत्तिको आलोचना गरेका थिए । ‘विधिको शासनका आधारमा अघि बढ्नुपर्छ । यसलाई उल्लंघन हुने कुनै पनि कार्य हाम्रा लागि कुनै हालतमा स्वीकार्य हुँदैन । घटनामा संलग्नमाथि कारबाही हुनुपर्छ,’ प्रवक्ता खरेलका अनुसार बैठकमा सभापति लामिछानेले भनेका थिए ।
दुई मुद्दामा रास्वपाका दुई निर्णय

- न्यायालय शुद्धीकरण
कतिपय न्यायाधीशहरू नै मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न खडा गरेका छन् । यसले न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डालाई थप पुष्टि गरेको छ । न्यायालयभित्रका यी विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न संसद्बाटै निर्णायक कदम चाल्न र यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशित गरिन्छ ।
- पत्रकार धरपकड
राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता गर्दैन । बलियो र जवाफदेही लोकतन्त्रको आधारस्तम्भ मानिने सञ्चार क्षेत्रमा ०८३ कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएको भनिएका केही गतिविधि संविधान र दलको मूल आदर्शविपरीत छ । गैरजिम्मेवार आदेश दिने व्यक्तिको अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई निर्देशन दिन्छ ।