गाउँगाउँमा टेलिफोन नेटवर्कको समस्या, टेलिकम प्रमुख भन्छन्– कार्यालयबाट केही गर्न सकिँदैन

आठ महिनादेखि हजारौँ सेवाग्राही समस्यामा, ग्रामीण क्षेत्रमा फोन र इन्टरनेट सेवा प्रभावित

आइतबार, १५ कार्तिक, २०८३
डिजिटल संस्करण

रामेछाप। रामेछापका ग्रामीण भेगमा नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा नियमित नहुँदा हजारौँ सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । महिनौँदेखि नेटवर्कमा समस्या रहे पनि नेपाल टेलिकमले प्रभावकारी समाधान गर्न नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

विगत आठ महिनादेखि जिल्लाका उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकाका साथै रामेछाप र मन्थली नगरपालिकाका विभिन्न क्षेत्रमा नेटवर्कको समस्या देखिँदै आएको छ । अधिकांश समयमा फोन सम्पर्क नहुने, सम्पर्क भए पनि दुवैतर्फको आवाज स्पष्ट नसुनिने र कुराकानी गर्दागर्दै फोन काटिने समस्या रहेको सेवाग्राहीको गुनासो छ ।

मोबाइलमा नेटवर्कको पूरा संकेत देखिए पनि इन्टरनेट डाटा नचल्ने समस्या उत्तिकै छ । नेटवर्कको समस्याले वैदेशिक रोजगारीमा रहेका आफन्त तथा साथीभाइसँग कुराकानी गर्न, अनलाइन माध्यमबाट अध्ययन गर्न र विपतका समयमा आवश्यक सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भएको उमाकुण्ड गाउँपालिका– १, वाम्तीकी लक्ष्मी कार्कीले बताइन् ।

स्थानीयले नेटवर्कमा देखिएको समस्याबारे पटकपटक नेपाल टेलिकम कार्यालय मन्थलीमा जानकारी गराए पनि सुधार हुन सकेको छैन । ग्रामीण क्षेत्रमा नेटवर्कको समस्या बढ्दै गएको गुनासो आए पनि कार्यालयबाट तत्काल समाधान गर्न नसकिने नेपाल टेलिकम मन्थलीका प्रमुख अर्जुन पोखरेलले बताए ।

‘माथिल्लो लेकाली क्षेत्रमा नेटवर्कको समस्या छ । त्यहाँका स्थानीयले पटकपटक कार्यालयमै आएर र टेलिफोनमार्फत पनि जानकारी गराउनुभएको छ । तर, यस कार्यालयबाट समस्या समाधान गर्न सकिँदैन । यहाँबाट तालुक कार्यालयमा जानकारी गराउनेबाहेक अर्को विकल्प छैन,’ पोखरेलले भने ।

नेपाल टेलिकम कार्यालयका अनुसार विगतमा जडान गरिएका टावरका उपकरणको क्षमता पूर्ण रूपमा प्रयोग भइरहेको छ । मोबाइल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएकाले पनि नेटवर्कमा समस्या उत्पन्न भएको हुन सक्ने कार्यालयको अनुमान छ ।

नेटवर्कको समस्या समाधानका लागि स्थानीयले रामेछापका प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकीलाई समेत ध्यानाकर्षण गराएका थिए । नागरिकको समस्यालाई सम्बोधन गर्न आवश्यक टेलिफोन टावरका उपकरण थप गर्ने र सेवा विस्तारका लागि पहल गर्ने आश्वासन उनले दिएका थिए ।

उनले रामेछापका ग्रामीण क्षेत्रमा देखिएको टेलिफोन नेटवर्कको समस्याबारे संघीय संसदमा समेत आवाज उठाएका थिए । तर, स्थानीयले अहिलेसम्म समस्या समाधानका लागि ठोस पहल भएको अनुभूति गर्न सकेका छैनन् ।

ग्रामीण क्षेत्रमा एनटी फाइबर विस्तारको माग
उमाकुण्ड गाउँपालिकाका गुम्देल, वाम्ती, कुभुकास्थली, भुजी र प्रीतिलगायतका क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गर्नुपर्ने स्थानीयको माग छ ।

त्यस्तै, गोकुलगंगा गाउँपालिकाका देउराली, गर्जाङ, चुचुरे, ठोसे, पालिका केन्द्र रस्नालु, बेताली र नामाडीलगायतका प्रमुख व्यापारिक केन्द्रमा तत्काल एनटी फाइबर इन्टरनेट सेवा विस्तार गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

गोकुलगंगा गाउँपालिका– ४, बेतालीका विनोद फुयालका अनुसार ग्रामीण क्षेत्रका नागरिकले अझै पनि भरपर्दो सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ । प्रमुख व्यापारिक केन्द्र तथा बस्तीमा समेत गुणस्तरीय इन्टरनेट सेवा नहुँदा दैनिक कामकाज, व्यवसाय र सञ्चारमा समस्या भइरहेको उनले बताए ।

स्थानीयले टेलिफोन नेटवर्कको क्षमता विस्तार, टावरका उपकरण थप तथा एनटी फाइबर सेवा विस्तार गरी ग्रामीण क्षेत्रका नागरिकलाई भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेका छन् ।

सुझावित समाचार