बाँके/ बाँकेको नरैनापुर गाउँपालिका– ५, मटेहियामा तीन युवाले दुई बिघामा लगाएको सयपत्री फूल यतिवेला ढकमक्क फुलेर लोभलाग्दो देखिएको छ । तिहारलाई लक्षित गरी नेपालगन्जका सुवासजंग शाह, कीर्तिराज दीक्षित र सुशीलकुमार मौर्यले दुई बिघामा सयपत्री फूलखेती गरेका हुन् ।
तिहार र छठसम्म फूल बिक्री गरेर करिब २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको शाहले बताए । उनले प्रतिबोट एक किलोभन्दा बढी कोपिला निस्किने बताए । ‘तिहार र छठमा १० हजार किलोग्राम फूल बिक्री गर्ने तयारी छ,’ उनले भने ।
शाह पेसाले मेकानिकल इन्जिनियर, दीक्षित बैंकर र मौर्य शिक्षक हुन् । फरक–फरक क्षेत्रका यी तीन युवा मिलेर गरेको फूलखेतीबाट उत्पादन तयार भएकाले बजार पठाउन सुरु गरेका छन् । ‘चिया गफका क्रममा नयाँ काम गर्ने विषयमा छलफल भयो । के काम गर्ने विषयमा कुरा चल्दै गर्दा फूलखेती गर्ने योजना बन्यो,’ शाहले भने ।
यी तीनैजनाले कामको बाँडफाँट गरेका छन् । शाह र दीक्षितले बजारीकरण हेर्छन् भने मौर्यले फूलको रेखदेख तथा श्रमिक खटनपटन गर्छन् । ‘हामी आ–आफ्नो जिम्मेवारी निर्वाह गर्छौैँ,’ दीक्षितले भने ।
उनीहरूले थोक विक्रेतालाई फूल नदिने जानकारी दिए । थोक विक्रेतालाई दिँदा उपभोक्ता मारमा पर्ने भएकाले फुटकरमा मात्र बिक्री गर्ने योजना बनाएको दीक्षितले बताए । ‘अनलाइनबाट समेत बुक गर्न मिल्ने बनाएका छौँ । अर्डर आए सिधै उपभोक्ताको घरमा पुर्याउने योजना बनाएका छौँ,’ उनले भने, ‘टिपेको दुई–तीन घण्टामा बाँकेको जुनसुकै ठाउँमा पुर्याउन सक्छौँ ।’
तिहारमा नेपालगन्जको विभिन्न चोकमा आफैँले स्टल राखेर फूल बिक्री गर्ने योजना रहेको उनले सुनाए । ‘नेपालगन्जको त्रिभुवन चोक, सेतु विक चोक र वीरेन्द्र चोकमा स्टल राख्छौँ र मिनीट्रकमा राखेर नेपालगन्जका गल्ली–गल्लीमा बिक्री गर्छौैँ,’ उनले भने ।
फूलखेतीमा १० लाख रुपैयाँ खर्च भएको बताउँदै मौर्यले बजारको अवस्था हेरेर फूलको मूल्य निर्धारण गर्ने बताए । उनले भारतीय फूललाई विस्थापित गर्ने योजनाका साथ फूलखेती गरिएको बताए । ‘भारतीय फूलको तुलनामा हाम्रो फूल अलि महँगो पर्न सक्छ, तर हामीले उत्पादन गरेको फूल फ्रेस हुन्छ,’ उनले भने ।
१०–१५ कट्ठामा खेती गर्ने किसान पनि धेरै छन्
कोहलपुरकी विष्णुकुमारी चौधरीले पनि १० कट्ठामा सयपत्री फूलखेती गरेकी छिन् । फूल व्यवसायीसमेत रहेकी उनले तिहारमा मात्र पाँच सय किलो बिक्री गर्ने योजना बनाएकी छिन् । ‘गत वर्षभन्दा फूल राम्रो भएको छ । यस वर्ष राम्रो आम्दानी हुने अपेक्षा छ,’ उनले भनिन् ।
तिहारलाई लक्षित गरी कोहलपुरका जयबहादुर बस्नेतले पनि १५ कट्ठामा सयपत्री फूलखेती गरेका छन् । तिहारमा एक हजार किलो सयपत्रीको फूल बिक्री गर्ने योजना रहेको उनले बताए । केही दिनअघि परेको पानीले फूलमा केही क्षति पुर्याएको बताउँदै उनले गत वर्षभन्दा यस वर्ष कोपिला राम्रो लागेको बताए ।
‘फूलखेतीमा घाटा छैन, तर तिहारलाई लक्षित गरेर लगाउन सक्नुपर्छ,’ उनले भने । उनले दाङ, सुर्खेत र बर्दियामा फूल पठाउने योजना रहेको सुनाए । ‘त्यसमध्ये धेरै परिमाण नेपालगन्ज र कोहलपुरमा खपत हुन्छ । बाहिरबाट पनि माग भएको छ,’ उनले भने ।