विवादास्पद न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने तयारी

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बिचौलियासँग घनिष्ठ सम्बन्ध देखिएका सर्वाेच्च अदालतका न्यायाधीशहरूमाथि महाभियोगको प्रक्रिया अघि बढाउनेबारे छलफल सुरु भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार बसेको सचिवालय बैठकले यस सम्बन्धमा संसदबाट समाधान खोज्ने निर्णय गर्दै यससम्बन्धी प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ। 

सर्वाेच्चका न्यायाधीश हरि प्रसाद फुयाल र थुनामा रहेका बिचौलिया इनम सापकोटाबिचको मुद्दाको विषयमा गरिएको च्याट नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेको थियो। न्यायाधीश फुयालले सो च्याट स्वीकार गरेका छन्। साथै, पटक–पटक उनीसँग भेटे भएको समेत खुलाएका छन्। महाभियोगको त्रास भएको र उनी प्रधानमन्त्रीनिकट व्यक्ति भएकाले आफूलगायत अन्य न्यायाधीशले पनि भेटेको उनको भनाइ छ । 

 साथै, इनमको च्याटमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत भेटिएपछि त्यसमा पनि छानबिन गर्ने माग उठिरहेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार संसदमार्फत न्यायालयमा सुधारसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय भएको बताए । प्रक्रिया अघि बढाउनका लागि रास्वपा सचिवालय बैठकले संसदीय दललाई समेत निर्देशन दिने निर्णय गरेको छ । 


साथै, यस विषयमा पार्टी सभापति रवि लामिछानेले पनि कानुन पृष्ठभूमिका सांसदहरूसँग सल्लाह गरेका थिए। 

सुझावित समाचार