काठमाडौं/ एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले समाचारको विषयमा प्रहरीले समाचार कक्षमा पसेर हस्तक्षप गर्नु चरम अलोकतान्त्रिक र सर्वसत्तावादी राज्यको चरित्र भएको बताएका छन् । शनिबार नयाँ पत्रिका कार्यालयमा आएका ज्ञवालीले प्रहरी धरपकडको विरोध गर्दै प्रेस स्वतन्त्रताप्रति ऐक्यबद्धता जनाएका हुन् ।
‘समाचारहरू गलत पनि हुन सक्छन् । कहिलेकाहीँ मेनुपुलेटेड पनि हुन् सक्छन् । तर, त्यो ठिक हो कि होइन भन्ने कुराको भेरिफिकेसन गर्ने राज्यका निकायहरू छन् । समाचारको विषयमा प्रहरीले समाचार कक्षमा पसेर हस्तक्षप गर्नु भनेको चरम अलोकतान्त्रिक र सर्वसत्तावादी राज्यको चरित्र हो । त्यसकारण व्यक्तिगत रूपमा मेरो र हाम्रो पार्टी यसको खिलापमा छौँ,’ उनले भने, ‘प्रेस स्वतन्त्रताका लागि जे गरिरहनुभएको छ, त्यसप्रति हाम्रो समर्थन छ, ऐक्यबद्धता छ । यस्ता कुराहरूमा तपाईंहरूको कलम भोलिका दिनमा पनि नरोकियोस् ।’
प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने भन्दै ज्ञवालीले पत्रकारले निर्भीक रूपमा लेख्न सक्ने वातावरण नबने लोकतन्त्र धरापमा पर्ने बताए । ‘प्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । प्रेसले बोल्न छाड्यो, प्रेसलाई बोल्नबाट हतोत्साहित गरियो, पत्रकारहरूले निर्भीक रूपमा लेख्न सक्ने वातावरण बनेन भने लोकतन्त्र मर्दै गएको मान्नुपर्छ । सरकारले यस्तो गर्न पाउँदैन, मिल्दैन । प्रधानमन्त्रीले थाहा थिएन भनेर पन्छिनु लज्जास्पद कुरा हो । अहिलेको सिस्टममा प्रधानमन्त्री इन्छाबेगर राज्यका कुनै अंग चल्छन् भन्ने कुरा कसैले पत्याउन सक्ने कुरा हुँदैन । अप्ठ्यारो पर्यो, पछि डिफेन्सिभ हुनुभयो होला, त्यो बेग्लै होला,’ उनले भने ।
सरकारले जवाफदेही लिनुपर्नेमा उनले जोड दिए । ‘सरकारले यसको जवाफदेही लिनुपर्छ । पहिले विज्ञापनहरू रोकेर बिस्तारै जरा सुकाउने काम गर्यो । त्यसपछि विभिन्न मिडिया हाउसहरूमा गाडी तेर्स्याएर तर्साउन खोजियो । किशोर श्रेष्ठसहित विभिन्न पत्रकारमाथि लगाइएका झुटा मुद्दाहरूका कुरा, स्वतन्त्र विश्लेषक, युट्युबरहरूमाथिको धरपकडको शृंखलाका रूपमा हिजोको घटना हो भन्ने मलाई लाग्छ ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारसहित संविधानका मूल मर्मलाई उल्लंघन गर्ने, मिच्ने र त्यसमाथि आँच पुर्याउने म्यान्डेट जनताले नदिएको उनको भनाइ छ । ‘सरकार अलोकतान्त्रिक बाटोमा अघि बढ्न खोजेको देखिन्छ । उसको त्यो लगाम हाम्रो हातमा लिनैपर्छ । यसरी जान मिल्दैन । दुईतिहाइ बनोस् कि तीनचौथाइ बनोस् । यो नेपालको संविधानअन्तर्गत भएको चुनाव र त्यसअन्तर्गत बनेको सरकार भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारसहित संविधानका मूल मर्मलाई उल्लंघन गर्ने, मिच्ने र त्यसमाथि आँच पुर्याउने म्यान्डेट जनताले दिएका होइनन्,’ ज्ञवालीले भने, ‘सुशासन कायम गर, विकास गर, विगतका विकृति थिए भने त्यसलाई सच्याउन, त्यो म्यान्डेटअनुसार अगाडि बढ्न उहाँहरूलाई कसैले पनि रोक्दैन । तर, आफूले प्राप्त गरेको जनमतको अपव्याख्या गरेर जाँदा विगतमा जसले यस्तो गर्न खोज्दा जे हालत भयो यो सरकारको पनि त्यस्तै हालत हुने हो ।’