काठमाडौं । समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार भएको निचोड निकाल्दै नेपाल पत्रकार महासंघले घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । शुक्रबार अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बसेको बैठकले माग पूरा नभए छठपछि चरणबद्ध आन्दोलनमा जाने पनि निर्णय गरेको छ ।
महासंघले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल नगरी एकपक्षीय रूपमा आएकाले अध्यादेश फिर्ता लिन सरकारसँग र अध्यादेश जारी नगर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन, पारिश्रमिक नदिने तथा चाडबाड खर्चसमेत नदिने कार्य गम्भीर श्रम अधिकारको उल्लंघन भएको महासंघको ठहर छ ।
लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम कटौतीका सन्दर्भमा छलफल हुँदा प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम गर्न आग्रह गर्ने, वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) लाई सक्रिय गराई चरणबद्ध आन्दोलन गर्ने, यी सबै विषयमा संसदमा प्रतिवाद गर्ने वातावरण सिर्जना गर्न सांसदहरूसँग बहस र पैरवी गर्ने तथा विद्यमान अवस्थाबारे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।