शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

हिमाल आरोहणबाट ३१ करोड ८० लाख रुपैयाँ रोयल्टी संकलन

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- यो वर्षको शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले आरोहण अनुमति जारी गरेबापत १० असोजसम्म ३१ करोड ८० लाख ५० हजार रोयल्टी संकलन गरेको छ ।

पर्यटन विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार शरद ऋतुमा एक सय ६१ टोलीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा एक हजार ६९ पुरुष र ३४१ महिला आरोही छन् । यस सिजनमा सबैभन्दा बढी आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका पाँच सयजनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लुबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

बुधबारसम्म सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न भने एउटा मात्रै समूहले स्वीकृति लिएको विभागले जनाएको छ । तीनजना पुरुष र एक महिला रहेको समूहबाट रोयल्टी भने तीस लाख ७० हजार संकलन भएको छ ।

त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले अनुमति लिएका छन् । यसबाट पाँच करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ । मनास्लु र आमादब्लमबाट मात्रै कुल रोयल्टीको करिब ८९ प्रतिशत रकम प्राप्त भएको छ ।

धौलागिरि–१ आरोहणका लागि ६ टोलीका ३७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ । हिम्लुङ हिमाल आरोहणका लागि १२ टोलीका १२१ जनाले अनुमति लिँदा ७४ लाख २७ हजार ७२० रुपैयाँ प्राप्त भएको छ । त्यसैगरी, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीनजनाले अनुमति लिएका छन् । उनीहरूबाट ६ लाख ८८ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको शाखा अधिकृत रेग्मीले जानकारी दिइन् ।

विभागका अनुसार पुथा हिउँचुली, डांगा हिउँचुली, बरुणत्से, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ ।

आरोहण अनुमति लिने विदेशी आरोहीमध्ये चीनका सबैभन्दा धेरै १४१ जना छन् । त्यसपछि फ्रान्सका १३०, अमेरिकाका ११९ र रुसका १०८ जना छन् । बेलायतका ९६, स्विट्जरल्यान्ड र इटलीका ४७–४७, पोल्यान्डका ४१, भारतका ४०, जापानका ३५, स्पेनका ३१ र नेपालका ३३ जनाले अनुमति लिएका छन् । विभागले जारी गरेको विवरणअनुसार हिमाल आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् ३१ करोड ८० लाख ५० हजार रोयल्टी संकलन गरेको छ ।

सुझावित समाचार