आइजिपी कार्कीले बोलाए पिसिसी बैठक

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रहरी संगठनका नीतिगत विषयमा छलफल गर्न नीति समन्वय समिति (पिसिसी)को बैठक बोलाएका छन्।

बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बस्ने बैठकमा सहभागी हुन सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौं आइपुगेका छन्।

आइजिपी कार्कीको अध्यक्षतामा हुने बैठकमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहित सोभन्दा माथिल्लो दर्जाका अधिकारीहरू सहभागी हुनेछन्। बैठकका औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन। प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ।

यसअघि बुधबार आइजिपी कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरेका थिए। उक्त बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेशका प्रहरी कार्यालय, ७७ वटै जिल्ला प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरू सहभागी थिए।

भर्चुअल बैठकमा कार्कीले प्रहरी संगठनभित्र बढ्दै गएको अनुशासनहीनताप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले केही प्रहरी अधिकारीहरूको नामसमेत उल्लेख गर्दै सबैलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर हुन निर्देशन दिएको बताइएको छ।

 

सुझावित समाचार