१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार ११:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीका ८० सामुदायिक वनको दुई हजार २० हेक्टर वन क्षेत्र डढेलोले सखाप

गुल्मीमा भीषण आगलागीबाट डेढ सय घरगोठ जले

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:२१:oo

गुल्मीमा आगलागीका कारण अहिलेसम्म एक सय ४० घरगोठ जलेर नष्ट भएका छन्। जिल्लाका विभिन्न पालिकामा गरेर ६१ घर, ७९ गोठ/बंगालो र एक सय ३७ पशुचौपाया जलेर नष्ट भएका छन्। 

जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ। पछिल्लो दुई साता गुल्मीमा लगातार भीषण आगलागीका घटना भइरहेका छन्। जंगलको आगो गाउँ पसेपछि ठूलाे  भौतिक क्षति हुनुको साथै वातावरणीय प्रभाव बढेको छ।

कुन पालिका कति घर क्षति

सबैभन्दा बढी क्षति भएको इस्मा गाउँपालिकाका वडा नम्बर २, ४ र ६ मा गरेर २७ घर पूर्ण रूपमा नष्ट भएका छन्।

गुल्मीदरबार गाउँपालिकाका वडा नम्बर ५, ६ र ७ मा गरेर चार, मदाने गाउँपालिकाको वडा नम्बर १, ६ र ७ मा नौ, मुसिकोटका वडा नम्बर ५ र ९ मा पाँच, रुरुक्षेत्रका वडा नम्बर १, २ र ५ मा गरेर सात घर पूर्ण रूपमा नष्ट भएका छन्। 

त्यस्तै, धुर्कोटमा पाँच, मालिकामा दुई, रेसुंगा र कालीगण्डकीमा एक–एक घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै, दुई मानिस र १९ पशुचौपाया घाइते भएका छन्। दुई विद्यालयमा सामान्य क्षति भएको छ। त्यस्तै, एक कुटानी–पिसानी मिल, तीन पसल, एक ट्रयाक्टर र एक मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। 

स्थायी आवासका लागि लाभग्राही कायम

जिल्लामा घरबारविहीन भएका अग्निपीडितहरू छिमेकी र अस्थायी आवासमा बसिरहेका छन्। जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले ६१ लाभग्राही कायम गरेर स्थायी आवास निर्माणको सुविधाका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको छ।

बैठकले जिल्लाका चार प्रदेश सभा निर्वाचन क्षेत्रमा एक–एक दमकल र फायर पम्प खरिद गर्न स्थानीय तहलाई अनुरोध गर्ने, कार्यालयहरूलाई आगामी मनसुनमा हुन सक्ने क्षतिको लागि बजेट व्यवस्थापनका लागि र स्थानीय तहहरूलाई तत्काल विपत् प्रतिकार्य योजना बनाउन पत्राचार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। अग्निपीडितहरूका लागि स्थानीय तह, प्रशासन र संघसंस्थाहरूले प्रारम्भिक चरणको राहत वितरणको काम गरिसकेका छन्। 

जिल्लाका ८० सामुदायिक वनमा डढेलो

अहिलेसम्म गुल्मीका ८० सामुदायिक वनको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेला लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। पछिल्लो समय जिल्लाका १२ वटै स्थानीय तहका सामुदायिक तथा निजी वन क्षेत्रमा डढेलो लागेको छ। 

जिल्लाका चार सय ५८ मध्ये ८० सामुदायिक वनको दुई हजार २० हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिए। जिल्लाका विभिन्न जंगलहरूमा लागेको आगलागीका कारण बस्तीहरुमा ठूलो भौतिक क्षतिसँगै वातावरणीय प्रदूषण, महत्वपूर्ण बाेटबिरुवा, जंगली जनावर र पक्षीहरूको विनाश भएको छ। 

डिभिजन वन कार्यालयका निमित्त प्रमुख सहायक वन अधिकृत पंकजकुमार ठाकुरले सबैभन्दा ठूलो कुरा नागरिक सचेतना भएको बताए। ठाकुरले समुदायमा एकजना मान्छे खराब हुँदा पनि आगलागीले ठूलो क्षति हुने भएकाले सामुदायिक सचेतना आवश्यक रहेको औँल्याउँदै वन आफैँमा समस्या नभएर मान्छेले निम्त्याएकाले सबैले पूर्वसावधानी अपनाउने र आगलागी गर्न हुँदैन भन्ने चेतनाको विकास गर्नुपर्नेमा जोड दिए। गुल्मी लुम्बिनी प्रदेशमै डढेलोको सबैभन्दा जोखिम भएको जिल्ला हो।

आगो लगाउने दुईजना पक्राउ
गुल्मीमा वनमा आगो लगाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रेसुंगा नगरपालिका– ७ सिस्नेहार पातल सामुदायिक वनमा आगो लगाउने सोही वडाका ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको रेसुंगा–मुसिकोट सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनन्तबहादुर डाँगीले जानकारी दिए । प्रारम्भिक बयानको क्रममा आरोपी दुवैजनाले सामुदायिक वनमा आफूहरूले आगो लगाएको स्वीकार गरेको डाँगीले बताए ।

उनीहरू गत ७ गते आगो लगाएर फरार भएका थिए । उनीहरूलाई वन ऐन, २०७६ को दफा ५० (४) अनुसार तीन वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजायको व्यवस्था रहेको डाँगीले बताए । उनीहरूलाई स्थानीयको सहयोगमा नेटा बजारबाट १६ वैशाखमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकर पोख्रेलले बताए । उनले म्याद थप गरेर अनुसन्धानको काम भइरहेको बताए । 

ad
ad