१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कपमा शीर्ष चारको होडबाजी

पुलिस, बागमती र मधेशले समान दश अंक जोडेका छन्, रनरेटमा पुलिस शीर्ष स्थानमा छ

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१७:oo

पहिलोपटक सिंगल राउन्ड रोबिन पद्धतिमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिताको शीर्ष चारमा स्थान बनाउन क्लबहरूबीच रामोञ्चक होडबाजी चलिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक शीर्ष चार टोलीबीच एलिट ट्रफी आयोजना घोषणा गरेको छ । जसको सेमिफाइलन दुईदिवसीय हुनेछ । यसको फाइनल तीनदिवसीय आयोजना गर्ने क्यानले जानकारी गराएको छ । पिएम कपको फाइनल ३ फेब्रुअरीमा हुनेछ । सिंगल राउन्ड रोबिन पद्धतिमा चलिरहेको लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । त्यसैले पनि सहभागी टोलीबीच रोचक भिडन्त भएको हो ।

३२ खेल सम्पन्न हुँदा तीन विभागीय टोली तथा सात प्रदेश सहभागी लिगमा नेपाल पुलिस क्लब र लुम्बिनीले सबैभन्दा कम पाँच खेल खेलेका छन् । बागमती, मधेश र कोशीले समान आठ खेल खेलेका छन् । विभागीय टोलीहरू त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ तथा कर्णाली र गण्डकीले समान ६ खेल खेलेका छन् । पुलिस, बागमती र मधेशले समान १० अंक जोडेका छन् ।  पुलिस अपराजित रहँदै शीर्ष स्थानमा छ । नेट रनरेटका आधारमा बागमती दोस्रो र मधेश तेस्रो स्थानमा छन् । आर्मी र सुदूरपश्चिमको समान आठ अंक रहँदा आर्मी चौथो स्थानमा छ । एपिएफ र कर्णालीको समान ६ अंक छ । 

गण्डकीको चार तथा लुम्बिनीको दुई अंक छ । आठ खेलमा आठ नै हार व्यहोरेको कोशी अंकविहीन छ । कोशी प्रतियोगिताको उपाधि दौडबाट बाहिरिने पहिलो टोली हो । अहिलेको समीकरणअनुसार सात टोलीबीच शीर्ष चारका लागि प्रतिस्पर्धा भइरहेको छ । गण्डकी र लुम्बिनीको समेत उत्तिकै सम्भावना छ । विभागीय तीन टोलीसँगै प्रदेशबाट बागमती, मधेश र सुदूरपश्चिम बलियो देखिएका छन् । 

‘विभागीय टोलीसँगै प्रदेशका टोली बलिया छन् । सबै टिमहरू सन्तुलित भएकाले प्रतिस्पर्धा पनि अब्बल भएको हो,’ आर्मीका कप्तान विनोद भण्डारी भन्छन् । यसपटक विभागीय तीन टोलीसँगै मधेश र बागमती प्रदेशले सिनियर तथा जुनियर खेलाडी समेट्दै बलियो देखिएका छन् । उनीहरूको प्रदर्शनसमेत औसत र प्रभावकारी रहेको छ । 

बागमतीको पाँचौँ जित
सुदूरपश्चिमलाई ९७ रनले हराउँदै बागमतीले प्रतियोगितामा पाँचौँ जित निकालेको छ । मूलपानी मैदानमा सुरुवाती ब्याटिङ गरेको बागमतीले दुई सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले ३०.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ५० रन बनाउन सक्यो । सुदूरपश्चिमका नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन बनाए ।

बागमतीका सूर्य तामाङ र विपिन आचार्यले समान तीन विकेट हात पारे । मूलपानी माथिल्लो पहिलो ब्याटिङ गरेको बागमतीका लागि आशुतोष घिरैयाले अर्धशतक बनाए । उनले ६२ बलमा ६ चौका र तीन छक्का हिर्काए । कप्तान रित गौतमले ६१ बलमा ४४ रन बनाए । अशोक पौडेलको नाममा ३१ र सोनु देवकोटाको नाममा २८ रन रह्यो । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी र शेर मल्लले समान तीन विकेट हात पारे । 

 गण्डकीविरुद्ध अनिलको शतक
अनिल शाहको शतकको सहयोगमा मधेशले गण्डकीमाथि एक सय ४५ रनको फराकिलो जित निकालेको छ । अनिल पिएम कपमा एकै खेलमा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले गण्डकीविरुद्ध एक सय २७ रनको इनिङ्स खेले । बागमतीका आशुतोष घिरैयाको कीर्तिमान तोड्ने क्रममा अनिलले एक सय २५ बलमा ११ चौका र ६ छक्का हिर्काएका थिए । अनिलको यो प्रतियोगिताकै पहिलो शतक हो । समग्रमा यसपटक पिएम कपको यो नवौँ शतक रह्यो । त्रिवि क्रिकेट मैदानमा मधेशले पहिलो ब्याटिङ गरी पाँच विकेट गुमाएर तीन सय ३५ रनको विशाल योगफल बनायो ।

 प्रतियोगितामा एक टोलीले विपक्षीविरुद्ध बनाएको यो योगफल अहिलेसम्मकै उच्च स्कोर हो । समग्रमा पिएम कपको दोस्रो ठूलो स्कोर हो । यसअघि सन् २०१८ मा मधेशविरुद्ध एपिएफले तीन सय ३९ रन बनाएको थियो । प्रत्युत्तरमा गण्डकी ३९.५ ओभरमै अल आउट हुँदा मात्र एक सय ९० रन बनाउन सक्यो । गण्डकीको इनिङ्समा कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । ओपनर ईश्वर क्षेत्री तथा कमल परियारले समान २७ रन बनाएका थिए । 

मधेशका रञ्जित कुमारले सर्वाधिक चार विकेट लिए । कप्तान हरिशंकर साहले तीन तथा प्रदीप पासवानले दुई विकेट झारेका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले तीन रन जोड्दका कप्तान हरिशंकरलाई गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र मायान यादवले एक सय पाँच रनको बलियो साझेदारी गर्दै टोलीलाई ठूलो स्कोरतर्फ बढाएका हुन् । मायान २७ रनमा आउट भए । छैटौँ नम्बर क्रिजमा आएका अरनिको यादवले ३४ बलमा पाँच चौका र तीन छक्कासहित ६३ रनको अविजित रहे । पवन सर्राफले ४० रन र रूपेश सिंहले ३२ रन बनाए । गण्डकीका कृष्ण पौडेलले १७ रन खर्चेर एक विकेट लिए । 

एपिएफ सात विकेटले विजयी
 भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा विभागीय टोली एपिएफले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । एक सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा तीन विकेट गुमाउँदै सहज जित निकालेको हो । एपिएफको जितमा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीले पाँच विकेट लिए । कप्तान रोहितकुमारले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रन जोडे ।

 रोहितले आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए । पछिल्ला पाँचमध्ये चार खेलमा उनले अर्धशतक बनाएका छन् । पुरण विकले ३३ रन जोडे । यसअघि बायाँहाते स्पिनर रमेशले पाँच विकेट लिएपछि एपिएफले लुम्बिनीलाई ४१ ओभरमा मात्र एक सय ३३ रनमा समेटेको थियो । लुम्बिनीका दिलसाद अलीले सर्वाधिक ३९ रन बनाए । रमेशले १० ओभरमा २ मेडनसहित २९ रन खर्चँदा भुवन कार्कीले तीन विकेट लिए । 

ad
ad