१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
एजेन्सी लन्डन
२०८० श्रावण २९ सोमबार ०७:०९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चेल्सी र लिभरपुलले अंक बाँडे

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
२०८० श्रावण २९ सोमबार ०७:०९:००

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा चेल्सी र लिभरपुलले १–१ को बराबरी खेलेका छन् । लिभरपुलले खेलको १८औँ मिनेटमा १–० को अग्रता लिएको थियो । तर, लिभरपुलले आफ्नो अग्रता रक्षा गर्न नसक्दा चेल्सीसँग अंक बाँड्यो । लिभरपुलका लागि लुइस डियाजले अग्रता दिलाएका थिए । मोहमद सलाहाको आकर्षक पासमा उनले डिबक्सभित्र पहिलो टचमै गोल गरेका थिए । खेलको २९अ‍ौँ मिनेटमा सलाहाले गरेको गोललाई अफसाइड दिइएको थियो ।

मध्यान्तरअघि नै चेल्सीले बराबरी गोल फर्कायो । चेल्सीबाट डेब्यु गरिरहेका डिफेन्डर एक्सेल डिसासीले १–१ का लागि गोल गरे । लिभरपुलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गरे । खेलको ३८औँ मिनेटमा बेन चिलवेलले गरेको गोल भिएआरले मान्यता नदिँदा चेल्सी अग्रता लिन चुक्यो । 

चेल्सीले त्यसपछि खेलमा पकड जमाएको थियो । चेल्सीका निकोलस ज्याक्सनले लिभरपुलका गोलरक्षक एलिसनलाई पछ्याउन नसक्दा सहज गोल अवसर गुमाए । प्रतिस्पर्धामा चेल्सीले लिभरपुलको तुलनामा बल पोसेसन बलियो बनाएको थियो । चेल्सीले ६५ र लिभरपुलले ३५ प्रतिशत बल पोसेसन कायम गरेको थियो । लिरभपुलले १३ पटक गोलका लागि प्रयास गरेको थियो । आक्रामक देखिएको चेल्सीले चारपटक शतप्रतिशत गोलका लागि प्रयास गरेको थियो । 

इंग्लिस प्रिमियर लिगको अर्को खेलमा टोटनह्यामले ब्रेन्टफर्डसँग २–२ को बराबरी खेलेको छ । टोटनह्यामका लागि क्रिस्टियन रोमेरोले १–० को अग्रता दिलाएका थिए । ब्रायन एमब्वेमो र जोआन विसाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । पहिलो हाफको इन्जुरी समयमा एमर्सन रोयलले खेल बराबरी गरे ।

म्याड्रिडको सहज जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिबार राति भएको खेलमा एथलेटिक्स बिल्बाओलाई २–० ले पराजित गर्‍यो । रियलका लागि रोद्रिगोले खेलको २८औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । उनले कार्भाजलको पासमा गोल गरेका हुन् । खेलको ३६औँ मिनेटमा वेलिंघमले रियललाई २–० को स्थितिमा राखे । उनले अलाबाको पासबाट गोल गरेका थिए । खेलमा पकड जमाएको रियलले आफ्नो स्वाभाविक खेल देखाउन सकेन । गत सिजन उपविजेता भएको रियल वेलिंघमको आगमनपछि बलियो देखिएको छ ।