१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o९:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बर्सेनि बिदेसिन्छ आधाभन्दा बढी स्वास्थ्य जनशक्ति 

चार वर्षमा ११ हजार एक सय १२ मेडिकल जनशक्ति उत्पादन भएकोमा ६ हजार चार सय ६७ बाहिरिए

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:१२:oo

जनशक्ति अभावमा देशकै जेठो वीर अस्पतालमा सञ्चालन क्षमताको चार सय बेड ठप्प छ । सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरणले सम्पन्न अस्पतालमा विशेषज्ञ चिकित्सक र नर्स अभाव भएको भन्दै ९६० बेडमध्ये ५६० बेड मात्रै सञ्चालनमा छन् । आइसियू बेड, कार्डियोलोजी, न्युरोलोजी, अर्थोप्लास्टिक वार्डलगायत सेवा क्षमताभन्दा कम सञ्चालनमा छन् । जनशक्ति पर्याप्त नभएको भन्दै अस्पतालले आफ्नो सेवा खुम्च्याउँदै आएको हो । 

वीर मात्रै नभई अन्य ठूला अस्पतालले समेत जनशक्ति अभावमा क्षमताभन्दा कम सेवा दिइरहेका छन् । हालै सञ्चालनमा आएका र निर्माणाधीन आधारभूत अस्पतालका लागि समेत ठूलो संख्यामा जनशक्ति आवश्यक भए पनि परिपूर्ति सहज नभएको स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ । स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाका अनुसार ५, १०, १५ बेडका आधारभूत अस्पतालका लागि थप १७ हजार ४७० जनशक्ति र त्यसका लागि आठ अर्ब ७८ करोड ६९ लाख ७२ हजार रुपैयाँ आवश्यक पर्छ । आधारभूत अस्पतालमा हाल कार्यरत एक हजार ९३२ बाहेक पनि अरू थप १५ हजार ५३८ जना जनशक्ति आवश्यक पर्ने आकलन गरिएको छ ।

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष ०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको थियो । आव ०७७/७८ लाई आधार मानी गरिएको प्रक्षेपणले सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्थामा तीन लाख ५८ हजार नौ सय ३८ स्वास्थ्य जनशक्ति आवश्यक पर्ने उल्लेख गरेको छ । जसमध्ये दुई लाख ५७ हजार ९१ चिकित्सक र स्वास्थ्यकर्मी मात्रै कार्यरत छन् । नेपालमा उत्पादन भइरहेको जनशक्ति उच्च दरमा बाहिरिएको भन्दै आवश्यकताका आधारमा प्रक्षेपण गरिएको थियो । नेपालमा स्वास्थ्य जनशक्तिको चरम अभाव हुन थालेको विभिन्न अध्ययनले निष्कर्ष निकालेका छन् । बर्सेनि उत्पादन भइरहेको मेडिकल जनशक्तिले आवश्यकता परिपूर्ति हुने भए पनि उत्पादन जनशक्ति विदेश पलायन हुनु ठूलो चूनौतीका रूपमा देखिन थालेको छ । नेपालमा बर्सेनि उत्पादनको आधाभन्दा बढी जनशक्ति बिदेसिरहेको विभिन्न अध्ययनबाट प्राप्त तथ्यांकले देखाउँछ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजारदेखि २५ सयसम्म चिकित्सक अध्ययन र कामका लागि बाहिरिने गरेका छन् । पछिल्लो चार वर्षमा मात्र ६ हजार ४६७ जना दक्ष स्वास्थ्य जनशक्ति बाहिरिएका छन् । जब कि पछिल्लो चार वर्षमा ११ हजार ११२ जना मेडिकल जनशक्ति उत्पादन भएको थियो । न्यून पारश्रमिक, जागिर नपाइने, असुरक्षा वा सेवा–सुविधाको अभावमा बर्सेनि बाहिरिने चिकित्सकको संख्या बढ्दै गएको तथ्यांकले देखाएको हो । पछिल्ला वर्षको तथ्यांक हेर्दा उत्पादनसरहकै संख्यामा चिकित्सकका जनशक्ति बिदेसिएको देखिन्छ ।

अध्ययन र कामका लागि विदेश जाँदा मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डर्ड सर्टिफिकेट’ लिएकाको तथ्यांकअनुसार बर्सेनि ठूलो संख्यामा चिकित्सकहरू बाहिरिने गरेका हुन् । मेडिकल काउन्सिलको तथ्यांकअनुसार २०२० मा ८६९, २०२१ मा १,३२६, २०२२ मा १,९५४ र २०२३ मा २,३१८ जना बाहिरिएका हुन् । 

चिकित्सकहरू थप अध्ययन अर्थात् विशेषज्ञता हासिल गर्न, फेलोसिप र काम खोज्दै बाहिरिने गरेका छन् । नेपाली चिकित्सक सबैभन्दा धेरै अमेरिका, बेलायत, माल्दिभ्सजस्ता देशमा गइरहेका छन् । पछिल्लो वर्षमा सबैभन्दा बढी अमेरिकामा एक हजार ८८८, बेलायत एक हजार ५७८, माल्दिभ्स एक हजार ४६७ र भारतमा ५१३ जना गएका छन् । यस्तै, अस्ट्रेलियामा ४०३, युएई ३४६, क्यानडा ८३, जर्मनी ६१, कतार ३६, सिंगापुर १४, ब्रुनाई १४, आयरल्यान्ड १२, डेनमार्क ११, हङकङ नौ, साउदी अरेबिया तीन, बेल्जियम र बंगलादेश एक–एक र अन्य देशमा २८ जना बाहिरिएका थिए । 

नेपालमा गत चार वर्षमा ११ हजार ११२ जना मेडिकल जनशक्ति उत्पादन भएको थिए । जसमध्ये स्नातक तहमा पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा आठ हजार १३३ जनाले नाम निकालेका थिए । सन् २०२० मा एक हजार ८१३, २०२१ मा एक हजार ३५४, २०२२ मा दुई हजार ३८६ र २०२३ मा दुई हजार ५८० चिकित्सक उत्पादन भएका थिए । यसबाहेक स्नातकोत्तर तहमा दुई हजार ९७९ जना जनशक्ति उत्पादन भएका छन् । जसमध्ये सन् २०२० मा ७५५, २०२१ मा ४९४, २०२२ मा एक हजार २३४ र २०२३ मा ४९६ जनाले लाइसेन्स परीक्षा पास गरेका थिए । 

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले नेपालमा मेडिकल जनशक्ति उत्पादनमा समस्या नभएको, तर पढाइमा लागेको खर्च पनि नउठ्ने गरी तलब पाउने अवस्था भएपछि विद्यार्थीहरू बाहिर गइरहेको बताए । 

‘चिकित्सकहरूको गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने समय आएको छ । वर्षौँसम्म लाइसेन्स परीक्षासमेत पास नभएका विद्यार्थी उत्पादन भइरहेका छन्, त्यसको विषयमा चासो दिन सकिएको छैन । राम्रो जनशक्ति बिदेसिएको छ, उच्च शिक्षाका लागि बिदेसिएकालाई नेपाल फर्किने वातावरण छैन । जसकारण विदेश पलायन हुने समस्या बढेको बढ्यै छ,’ उनले भने ।

नर्सिङ जनशक्तिमा पनि उस्तै हालत 
नेपालमा काम गर्ने वातावरण नभएको भन्दै नर्सिङ जनशक्तिसमेत बर्सेनि बिदेसिनेको संख्या उच्च छ । श्रम विभागको तथ्यांकअनुसार सन् २०१९ मा १६०, २०२० मा १०९, २०२१ मा २८७, २०२२ मा ५८२ र २०२३ मा ६०७ नर्स विदेश गएका छन् । यसबाहेक उच्च शिक्षाका लागि भन्दै प्रत्येक वर्ष हजारौँको संख्यामा नर्सहरू विदेश पलायन भइरहेको नर्सिङ काउन्सिलले जनाएको छ । काउन्सिलको तथ्यांकअनुसार वर्षमा पाँच हजार ३८४ जना नर्स उत्पादन भइरहेका छन् । जसमध्ये लाइसेन्स परीक्षामा पास हुनेहरू काम र उच्च शिक्षा अध्ययन वा अन्य फेलोसिपलगायत विभिन्न कार्यक्रमका लागि ठूलो संख्यामा बिदेसिएका छन् । 

सरकारी अस्पतालले स्थायी दरबन्दी नखुलाउने र निजी अस्पतालले सेवा–सुविधा न्यून दिने गर्दा नर्सहरू बाहिरिनुपरेको नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. सरला केसीले बताइन् । ‘नर्सिङ जनशक्ति बाहिरएकोमा हामीलाई समस्या छैन । किनभने नेपालमा नर्सलाई काम गर्ने उपयुक्त वातावरण नै छैन । नर्सबाट यति धेरै अपेक्षा गरिन्छ, तर सुविधा दिइँदैन,’ उनले भनिन् । 

कामको चाप अत्यधिक हुनु, तर तलब सुविधाले दैनिकीसमेत नचल्नु, जागिर नपाइनु, बिएस्सी नर्सहरूलाई समेत सेवाकालीन तालिमका रूपमा तलब सुविधा नदिई काम लगाइनु र सरकारले व्यवस्थापन गर्न नसकेर जनशक्ति विदेश पलाइन भइरहेको उनको भनाइ छ । ‘नेपाल सरकारको मापदण्डअनुसार तलब सुविधा दिने अस्पताल जम्मा तीनवटा छन् । एक रातमा एकजना बिरामीको एक लाख रुपयाँ लिने अस्पतालले पनि नर्सहरूलाई १५ हजार रुपैयाँ तलब दिइरहेका छन् । यसबाहेक जनशक्तिसमेत गुणस्तरीय उत्पादन भइरहेको छैन । हामीकहाँ लाइसेन्स परीक्षा सुरु भएदेखि हालसम्म नियमित परीक्षा दिइरहेकाले अहिलेसम्म पास नगरेका विद्यार्थी पनि हामीसँग छन्,’ उनले भनिन्, ‘१५० अंकको परीक्षामा ७ अंक ल्याउने विद्यार्थी पनि उत्पादन भइरहेका छन् । एकातिर गुणस्तरीय नर्सिङ उत्पादन भइरहेको छैन भने अर्कोतिर उत्पादन भएको जनशक्ति विदेश पलायन भइरहेको छ ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला मेडिकल जनशक्ति बाहिरिनुमा नेपालमा काम गर्ने उपयुक्त वातावरण नहुनु नै मुख्य कारण भएको मान्छन् । ‘पढ्न बिदेसिएकालाई नेपाल फर्किर्ने वातावरण बनाउनुपर्छ । यसबाहेक विद्यार्थी कुन उमेरमा बाहिरिरहेका छन् भन्ने आधारमा पनि फर्किने नफर्किने तय हुन्छ । अर्थात् स्नातकअघि नै बिदेसिने फर्केर आउने सम्भावना कमै हुन्छ । त्यसकारण जनशक्ति बाहिरियो भन्ने चिन्ता लिनुअगाडि नेपालको शिक्षाको गुणस्तर र काम गर्न अनुकूल परिवेशमा सुधार ल्याउन जरुरी छ,’ उनले भने ।

ad
ad