१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

थारू बस्तीमा मधेशकै पहिलो होमस्टे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:o२:oo

सिराहाको लहान नगरपालिका–१५ मा पर्ने चुरेको काखमा रहेको थारू गाउँ बानो । थारू संस्कृतिसँग सम्बन्धित चित्र र पेन्टिङले रंगिएको माटो तथा इँटाले बनाइएका पुराना तथा मौलिक परम्पराका घरका भित्ता । पशुपालन र कृषि कर्म गरेर जीविका चलाउँदै आएको थारू बस्तीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर समुदायको आर्थिक सबलीकरण र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले लहान नगरपालिकाको आर्थिक तथा लहानस्थित पर्यटन विकास कार्यालयको प्राविधिक सहयोगमा ‘बानो गाउँ थारू सामुदायिक होमस्टे’ सञ्चालन गरिएको छ ।

पूर्व–पश्चिम लोकमार्गको लहानदेखि करिब १० किलोमिटर उत्तरमा पर्ने बानो गाउँको थारू बस्तीमा रहेका एक सय आठ घरमध्ये तत्काल ११ घरधुरीबाट थालिएको सामुदायिक होमस्टेमा  आन्तरिक तथा बाह्य पर्यटकका लागि थारू माछा, घुङी, सिद्रा, बगियाजस्ता खानाका परिकार उपलब्ध छन् । साथै, वास बस्ने र गाउँनजिकै रहेको पर्यटकीय ताल झौवाई खोल्सीको भ्रमण गराइने सामुदायिक होमस्टेकी अध्यक्ष गीता चौधरीले बताइन् । ‘थारू संस्कृतिको जगेर्ना, प्रचारप्रसारसँगै समुदायको आय–आर्जनका लागि थालिएको होमस्टेमा विशेषतः ग्रामीण महिला लागेका छौँ,’ उनले भनिन् । 

प्रदेशकै पहिलो होमस्टे
अन्य प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर स्थानीय तह, समुदाय, जिल्ला तथा प्रदेशले मनग्य आम्दानी गरिरहेका वेला बानोको थारू बस्तीमा थालिएको सामुदायिक होमस्टे मधेश प्रदेशकै पहिलो होमस्टे रहेको पर्यटन विकास कार्यालय लहानका प्रमुख सत्यनारायण साहले जानकारी दिए । 

‘चितवन–पूर्व र कोशी–पश्चिम थारू बस्तीको पहिलो सामुदायिक होमस्टेको प्रचारप्रसार गर्न जरुरी छ,’ उनले भने, ‘चितवनको अमलटारी र बर्दियाको थारू बस्तीको होमस्टे जसरी बानोको होमस्टेको विकास हुँदा स्थानीय समुदायको आय–आर्जन बढ्ने र रोजगारी सिर्जना हुन्छ ।’ सामुदायिक होमस्टेका लागि स्थानीय ११ जना थारू महिला आबद्ध रहेको सामुदायिक होमस्टे सञ्चालक समिति गठन गरिएको लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।

संग्रहालय बनाउन नगरको सहयोग
होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय थारू कला–संस्कृति, पहिचान, वेशभूषा, मौलिक खानाजस्ता विषयमा जानकारी गराउने उद्देश्यले थारू संग्रहालय निर्माणका लागि चालू आर्थिक वर्ष ०८०/८१ मा लहान नगरपालिकाले ३५ लाख रुपैयाँ उपलब्ध गराएको लहान नगर प्रमुख महेशप्रसाद चौधरीले बताए । नगर प्रमुख चौधरीले थारू समुदायको खानपान, मौलिक कला–संस्कृति, वेशभूषाको जगेर्ना गर्दै भावी सन्ततिलाई समेत जातीय परम्परा, संस्कृति जोगाउन प्रेरित गर्ने तथा स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्न सामुदायिक होमस्टे प्रभावकारी हुन सक्ने बताए । 

लहान–१५ का वडाध्यक्ष चौधरी भन्छन्, ‘थारू कला–संस्कृतिको प्रचारप्रसारसँगै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक चुरेको काखमा रहेको थारू गाउँमा रमाउन सक्ने वातावरण छ ।’ अतिथि सत्कारमा रमाउने थारू समुदाय होमस्टेमार्फत बाहिरबाट आउने पाहुनाको स्वागत, सत्कारका लागि थारू कला–संस्कृति झल्काउने मौलिक प्रदर्शन र खानपानमा जोड दिइने पनि उनले बताए । 

ad
ad