![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/aarsanal2023-06-30-08-01-00.gif)
आर्सनलले इंग्लिस प्रिमियर लिग (इपिएल)को नयाँ सिजन २०२३/०२४ मा ठूलो लगानीका साथ अगाडि बढ्ने छाँटकाँट देखाएको छ । आर्सनलले वेस्टह्यामका डेक्लान राइसलाई एक सय पाँच मिलियन पाउन्ड प्रस्ताव राखेको छ । वेस्टह्यामले सय मिलियन पाउन्डको प्रस्ताव आउँदा मात्र राइसलाई बिक्री गर्ने जनाएको थियो ।
आर्सनलअघि म्यानचेस्टर सिटीले राइस भित्र्याउन ९० मिलियन पाउन्ड प्रस्ताव राखेको थियो । वेस्टह्यामले सिटीको प्रस्ताव अस्वीकार गरेको थियो । त्यसपछि राइस भित्र्याउन आर्सनल अग्रसर भएको हो । वेस्टह्यामको इच्छाअनुसारै आर्सनलले राइसमाथि एक सय पाँच मिलियन पाउन्ड खर्चन तयार भएको हो । आर्सनलका प्रशिक्षक मोर्गानले नयाँ सिजनमा उपाधिमाथि आधिपत्य जमाउन थप खेलाडीको आवश्यकता पर्ने बताएका छन् । राइससँगै अन्य राम्रा खेलाडीको सहयोग चाहिने उनले व्यवस्थापनलाई स्पष्ट पारेका छन् ।
गत सिजनको अन्तिमतिर आर्सनल चुक्दा प्रिमियर लिग उपाधि जित्नबाट वञ्चित भएको थियो । नयाँ सिजनमा आर्सनल तीन गल्ती नदोहोर्याउन राम्रा खेलाडीका साथ अगाडि बढ्ने योजना बनाएको हो । आर्सनलले पहिलो प्राथमिकतामा राइसलाई नै राखेको छ ।
आर्सनलले सुरुमा सय मिलियन पाउन्ड राख्दा वेस्टह्यामले अस्वीकार गरेको थियो । थप पाँच मिलियन पाउन्ड बढाएपछि वेस्टह्यामले आर्सनलको प्रस्ताव त्याग्न नसक्ने अवस्थामा पुगेको बिबिसीले जनाएको छ । आर्सनलको अर्को लक्ष्य म्यानचेस्टर सिटीको दबदबा तोड्ने पनि हो । गत साता मात्र आर्सनलले नेपोलीका स्ट्राइकर भिक्टोर ओसिम्हेनलाई भित्र्याएको थियो । ‘हामी राइसलाई आर्सनलमा ल्याउन हरप्रयास जारी राख्छौँ,’ मोर्गानले भनेका छन्, ‘सम्भवतः उनी अहिलेसम्मकै महँगा खेलाडी हुनेछन् ।’