Skip This
कमजोर शैक्षिक गुणस्तरबारे केही प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
एसपी ढकाल
२o८१ बैशाख २९ शनिबार o८:४१:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कमजोर शैक्षिक गुणस्तरबारे केही प्रश्न

Read Time : > 3 मिनेट
एसपी ढकाल
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:४१:oo

राम्रो शैक्षिक प्रतिफलको श्रेय आफूले लिने र नराम्रोजतिको अपजसचाहिँ अरूलाई दिन खोज्ने गलत संस्कारले शैक्षिक गुणस्तर सुध्रिँदैन

भर्खरै नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरुवाती दिनहरूमा शैक्षिक माहोल तातिने र बाँकी दिनमा चाहिँ कानमा तेल हालेर बस्ने हाम्रो प्रवृत्ति नै बनेको छ । शैक्षिक सत्र सुरु भएसँगै शिक्षा सुधारका लागि सबैको चेत खुलेजस्तो गरी गर्मागर्मी बहस चल्छ । हिजोआज विद्यालय, सरकारी कार्यालय, चोक चौतारी र चिया पसलमा समेत शिक्षा क्षेत्र सुधारको चासो र चिन्ता बढेको छ । 

सरकारले बर्सेनि शिक्षा क्षेत्रमा लगानी बढाउने चेष्टा गरेको छ । परिणाम भने निराशाजनक छ । शैक्षिक उपलब्धि चित्तोबुझ्दो छैन । आर्थिक वर्ष ०८०/८१ मा शिक्षातर्फ एक खर्ब ९७ अर्ब २९ करोड अर्थात् कुल बजेटको ११.२६ प्रतिशत विनियोजन भएको छ । आर्थिक वर्ष ०७९/८० मा कुल एक खर्ब ९६ अर्ब ३३ करोड छुट्याइएको थियो जुन कुल बजेटको १०.९४ प्रतिशत हो । २००७ सालमा हेर्दा शिक्षातर्फ पाँच लाख ५६ हजार अर्थात् १.०५ प्रतिशत विनियोजन भएको थियो । उपलब्धितिर हेर्दा कक्षा ३ मा विद्यार्थीको पठन सक्षमता ४३.७१ प्रतिशत रहेको छ । आधारभूत तह पूरा गर्ने प्रतिशत ७७.१ छ । अझै ३.९ प्रतिशत बालबालिका विद्यालयबाहिरै रहेको तथ्यांक छ । यसले आहा ! हाम्रो शैक्षिक अवस्था भन्ने स्थिति छैन । 

परिवर्तित सन्दर्भमा विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनमा स्थानीय तहलाई बढी जिम्मेवार बनाइएको छ । तर, परिणाम भने अपेक्षाकृत बन्न सकेको छैन । न त अभिभावक, न त विद्यार्थी न त सरोकारवाला नै सन्तुष्ट बन्न सकेको अवस्था छ । आधारभूत तहको शिक्षा पूरा गर्दासमेत राम्रोसँग अक्षर फुटालेर पढ्न नसक्ने अवस्था छ । माध्यमिक तहको शिक्षा पूरा गर्दा पनि आधारभूत आवश्यकता टार्न सक्ने सक्षमता देखिँदैन । यसबाट पढेर पनि के नै हुन्छ र भन्ने भाष्य निर्माण हुँदै गएको छ । 

शैक्षिक गुणस्तर खस्कियो । विद्यार्थीको स्तर कमजोर भयो । प्रतिस्पर्धात्मक क्षमता अपेक्षाअनुसार भएन भन्नेमा सबैको एकमत छ । अवस्था यस्तो हुनुमा जिम्मेवार को हो ? भन्नेमा अपजस कसैले लिन चाहेको देखिँदैन । शिक्षक, विद्यार्थी, अभिभावक र सरकारबीच आरोप–प्रत्यारोप चलिरहेको देखिन्छ । त्यसैको गोलचक्करमा नेपालको शिक्षा फसेको छ । राम्रो शैक्षिक प्रतिफलको श्रेयचाहिँ आफूले लिने र नराम्रोजतिको अपजसचाहिँ अरूलाई दिन खोज्ने हाम्रो गलत संस्कार छ । चाहिएको शैक्षिक गुणस्तर हो । राम्रो नतिजा हो । उच्च प्रतिस्पर्धात्मक क्षमता हो । पाठ्यक्रमले निर्धारण गरेबमोजिमको अब्बल समक्षमता हो । दोष अरूलाई दिएर पानीभित्रको ओभानो बन्ने छुट कसैलाई छैन । 

शैक्षिक गुणस्तर कायम गर्ने गराउने मुख्य भूमिका शिक्षकमा छ । जिम्मेवारीप्रतिको समर्पणले मात्रै परिणाम राम्रो बन्छ । पेसाप्रतिको प्रतिबद्धता कत्तिको छ ? के सबै शिक्षकको वार्षिक शैक्षिक योजना बन्यो ? प्रभावकारी शिक्षणका लागि एकाइ र दैनिक योजना चाहिन्न ? शैक्षिक सामग्री तयारी र प्रयोग गर्नुपर्दैन ? परिवर्तित सन्दर्भमा नवीतम सूचना सञ्चार प्रविधिको प्रयोग गर्न सक्ने क्षमता विकास गर्नुपर्दैन ? एकाइ परीक्षा, मासिक परीक्षा, त्रैमासिक परीक्षा सञ्चाल गरियो ? मूल्यांकन र पृष्ठपोषण कतिपटक भयो ? कतै कर्मकाण्ड मात्रै पूरा त भएन ? पाठ्यक्रम र शिक्षक निर्देशिकाको अध्ययन र प्रयोग कस्तो छ ? के शिक्षण सुधार योजना बन्यो ? सिकाइ उपलब्धि वृद्धिको वार्षिक लक्ष्य बन्यो ? विद्यार्थीको नियमित गृहकार्य जाँच र पृष्ठपोषणलाई नियमित र व्यवस्थित गर्न सकियो वा सकिएन ? शिक्षकले यसको आत्मसमीक्षा गरेर सच्चिन जरुरी छ । 

विद्यालय व्यवस्थापन समितिलाई समग्र व्यवस्थापनको जिम्मेवारी छ । शैक्षिक गुणस्तरको अवस्थाबारे बैठकमा कतिपटक समीक्षा भयो ? विद्यालय सुधारको योजना र कार्यान्वयनको अवस्था के भयो ? विद्यालय सुधारको प्रतिवद्धताबारेको हेक्का कति छ ? नमुना विद्यालय बनाउन समितिसँग के–कस्ता योजना छन् ? शिक्षा ऐन र नियमावलीले दिएका अधिकारबारे समिति कति जानकार छ ? यदि जानकारी छ भने कार्यान्वयन गर्न तयार भयो कि भएन ? उत्कृष्ट नतिजा ल्याउने कतिजना शिक्षक पुरस्कृत भए ? अनियमितता गर्ने गैरजिम्मेवार कति शिक्षकलाई कानुनी दायरामा ल्याइयो ? कति शिक्षकको बढुवा रोक्का भयो ? कति शिक्षक ग्रेडवृद्धि रोक्कामा परे ? राम्रोलाई प्रोत्साहन र गलत प्रवृत्तिलाई कानुनी दायरामा ल्याउने कसैबाट हिम्मत भयो ? 

प्रधानाध्यापकमा समग्र प्रशासनको जिम्मेवारी छ । विद्यालयको वार्षिक योजना बन्यो कि बनेन ? शिक्षक, कर्मचारीको नियमित बैठक भयो कि भएन र वार्षिक योजना कार्यान्वयनको विषयमा समीक्षा भयो कि भएन ? शिक्षक र विद्यार्थीका समस्या कति सम्बोधन हुन्छन् ? अभिभावक भेला र छलफलले कति नियमितता पाएका छन् ? नतिजाबोध र प्रतिस्पर्धात्मक क्षमता जागृत गर्ने वातावरण कस्तो छ ? खराब आचरणका अटेरी कतिजना शिक्षकलाई नसिहत दिइएको रेकर्ड छ ? कतिजना शिक्षकको तलब वृद्धि रोक्का गरियो ? कतिजनालाई उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान गरियो ? त्यसको रेकर्ड कहीँ कतै छ ? यसको जिम्मेवारी प्रधानाध्यापक स्वयंले लिनुपर्छ । 

विद्यार्थीका पनि आफ्नै जिम्मेवारी र कर्तव्य छन् । शिक्षाप्रतिको सकारात्मक चिन्तनले नै सफलता दिलाउँछ । शिक्षकप्रतिको आदरभाव कायम कति गर्न सकियो ? शिक्षकलाई आदर्श व्यक्तिका रूपमा लिइयो कि लिइएन ? पढाइलाई उत्साहका रूपमा लिइयो कि जोरजुलुमपूर्ण कार्य ठानियो ? अभिरुचिविनाको कार्यले सहज गन्तव्य भेट्दैन । नवीनतम सूचना प्रविधिको सही सदुपयोग कत्तिको भयो ? घरमा अध्ययन तालिका बनाएर त्यसको कार्यान्वयन भयो कि भएन ? अभिभावक र शिक्षकको निर्देशन कत्तिको पालना भयो ? वियवस्तुको गहिराइमा पुग्ने चेष्टा मनैदेखि किन जागेन ? छोराछोरीको पढाइका लागि आमाबुबाले गरेको दुःखलाई किन मनन गर्न सकिएन ? आमाबुबाको खुसी र सुन्दर जीवनका लागि मैले मिहिनेत गर्नुपर्छ भन्ने कुरा बुझ्न किन असहज भएको होला ? यस्ता सन्दर्भको पनि आत्मसमीक्षा जरुरी छ । के यी प्रश्नको जवाफ खोज्न विद्यार्थीले कुनै प्रयास गरेका छन् होला त ? 

शैक्षिक गुणस्तरका लागि अभिभावकको भूमिका पनि विशेष छ । छोराछोरीको अवस्था बुझ्न विद्यालयमा कतिपटक पुगियो ? पढ्नका लागि घरमा उपयुक्त कोठाको व्यवस्था गर्न सकिएको छ कि छैन ? राति पढ्नका लागि बत्तिको व्यवस्था गरिएको छ कि छैन ? कापी–कलम, खाजाको प्रबन्ध गर्न सकिएको छ वा छैन ? दिनभरको पढाइप्रति दैनिक चासो राखेर छोराछोरीसित कति संवाद गरिएको छ ? आफू जाँडरक्सीको कुलतमा त हुनुहुँदैन नि ? छोराछोरीका आधारभूत आवश्यकता पूरा गर्न सचेत कत्तिको हुनुहुन्छ ? यी सवालको जवाफ खोज्नु अभिभावकका लागि पनि महत्वपूर्ण छ । 

सरकार समग्र पक्षको व्यवस्थापक हो । नीति–निर्माता हो । तर, के सरकारले शिक्षामा पर्याप्त लगानी गरेको छ ? अनुगमन र शिक्षकको पेसागत सहयोगको अवस्था कस्तो छ ? शिक्षक प्रोत्साहनका कार्यक्रम सञ्चालन भएका छन् कि छैनन् ? कमजोर आर्थिक अवस्थाका विद्यार्थीका लागि के–कस्ता विशेष कार्यक्रम छन् ? पुरस्कार र दण्डको नीति कस्तो छ ? शिक्षक र विद्यालयका समस्या कत्तिको चासोका साथ सम्बोधन भए ? परीक्षा प्रणालीलाई व्यवस्थित गर्न कस्तो संयन्त्र विकास गरिएको छ ? क्षमता विकासका कार्यक्रम सञ्चालन गरियो कि गरिएनन् ? अभिभावक शिक्षाप्रधान भयो ? शैक्षिक सुधारको बहस कत्तिको चल्यो ? यसको पनि आत्मसमीक्षा हुन जरुरी छ । 

अन्त्यमा, सामुदायिक विद्यालयको शिक्षा सबैको भयो, तर कसैको हुन सकेन । एकले अर्कालाई दोष देखाएर समाधान हुने विषय यो होइन । पानीभित्रको ओभानो कोही बन्न सक्दैन । आफ्नो भूमिका पूरा गर्न को कहाँ चुक्यो ? आत्मसमीक्षा गर्न जरुरी छ । दोष जति अरूलाई लगाएर आफू उत्कृष्ट रहेको स्वघोषणा गर्ने प्रवृत्ति सच्चिन जरुरी छ । सकारात्मक सोच र जिम्मेवारीको दृढ कार्यान्वयनले मात्र उत्कृष्ट गुणस्तरीय शैक्षिक परिणाम प्राप्त गर्न सकिन्छ । 

(ढकाल चौरजहारी नगरपालिका रुकुम पश्चिमका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन्)

ad
ad