१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Saturday, 07 September, 2024
२o८o श्रावण १६ मंगलबार o८:१७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४० दिनदेखि साउदी अरबबाट शव झिकाउन हारगुहार गर्दै खान परिवार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार o८:१७:oo

सन्तान सानै हुँदा पति गुमाएकी ६५ वर्षीया जहाना खातुन बुढ्यौलीको सहारा छोराको एक झल्को हेर्न शवको प्रतीक्षामा

सिराहाको गोलबजार नगरपालिका–११ बलकवा बजारस्थित वडा कार्यालयनजिकै रहेको जहाना खातुनको घरमा दिनहुँ रुवाबासी चलिरहेको छ । आफन्त, नातागोता, छरछिमेकका मानिसहरू भेट्न आउने क्रम रोकिएको छैन । छोराछोरी सानै हुँदा पति मोहम्मद नसिरुल खान गुमाएकी करिब ६५ वर्षीया खातुन बुढ्यौलीको सहारा रहेका छोरालाई एक झल्को हेर्न शवको प्रतीक्षा गरिरहेकी छिन् । गत ९ असारमा छोराको मृत्यु भएको खबर पाएयता उनका आँखा ओभाएका छैनन् । सात महिनाकी काखे छोरीकी आमा रहेकी बुहारीको अवस्था देखेर झन् विक्षिप्त बनेकी छिन्, खातुन । 

वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेको दुई हप्तामै गत ७ असारमा सडक दुर्घटनामा परेका करिब ४० वर्षीय इस्तेखर अहमद खानको परिवारले पछिल्लो करिब एक महिनादेखि शव झिकाउन हारगुहार गरिरहेको छ । इस्लाम धर्मावलम्बीहरूले मनाउने बक्र इदको एक हप्ताअघि मृत्यु भएको ४०औँ दिन बित्दा पनि शव झिकाउन दूतावासले चासो नदेखाएको पीडित परिवारको गुनासो छ ।

इस्लाम परम्पराअनुसार शवको दाहसंस्कार नगरेसम्म घरमा खाना पकाएर खान नहुने भएकाले दाजुको मृत्यु भएको ९ असारमा थाहा पाएदेखि घरमा खानासमेत नपाकेको मृतकका भाइ दिलसन अहमद खानले गुनासो गरे । ‘आफन्तले पकाएर खानेकुरा ल्याई दिन्छन्, शव नआएकाले दिनहुँ वृद्धावस्थाकी आमा र सात महिनाकी काखे छोरी रहेकी भाउजूको रुवाबासी  हुन्छ,’ खानले भने, ‘महिना दिन बढी भयो, शव नआउँदा थप मानसिक तनाव झेल्नुपरिरहेको छ ।’

खाडी मुलुक कुवेतमा सेक्युरिटी गार्डको काम गर्दै आएका दिलसनले दाजुको निधन भएको थाहा पाएपछि १० दिनको बिदा मिलाएर आएको सुनाए । ‘शव नआएकाले थप १५ दिन बिदा लिएँ, अब त बिदा पनि थप नहुने भएकाले जानैपर्ने बाध्यतामा छु,’ उनले भने, ‘घरमा वृद्धावस्थाकी आमा, दाजुकी चारवर्षे र सात महिनाकी छोरीहरू र भाउजू सम्हालिदिने मान्छे पनि छैनन्, ठूलो संकटमा छु ।’ दाजुलाई साउदी पठाउने वेलामा करिब डेढ लाख आफूले दिएको र बाँकी ऋण खोजेर गएको सुनाउँदै उनले भने, ‘साउदी सरकारले चलाएको जेनरल अर्गनाइजेसन फर सोसियल इन्स्योरेन्समा आबद्ध नहुँदा पनि ढिलाइ भइरहेको सुनेको छु ।’

दोस्रोपल्ट साउदी गएका थिए, खान
मृतकका भाइ पर्ने असगर अलीले गत १५ असारमा वैदेशिक रोजगार बोर्डको सचिवालय, परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा शव झिकाउन निवेदन दिएको बताए । ‘काम हुँदै छ मात्र भनिरहेका छन्, तर शव कहिले आउँछ भन्ने कसैले भन्दैनन्,’ उनले भने । महिना दिनअघि नै शव झिकाउन साउदीस्थित नेपाली दूतावासमा निवेदन दिए पनि प्रक्रिया अघि बढिरहेको छ भन्दै झुलाइरहेको उनको गुनासो छ । गोलबजार नगरपालिका–११ ले ९ साउनमा बिमालगायतको प्रक्रिया पछि गर्ने गरी तत्काल कूटनीतिक पहलमार्फत शव झिकाई पाऊँ भन्ने सिफारिस गरेको छ । 

करिब तीन वर्षअघिको कोरोना महामारीको समयमा लकडाउन हुँदा घर फर्किएका खान दोस्रोपल्ट साउदी अरेबिया गएका थिए । त्यसअघि कतार, कुवेतसमेत गएका उनले पछिल्लोपल्ट सवारीचालकको भिसामा गत २३ जेठमा श्रम स्वीकृति लिएर काठमाडौंस्थित साउन्डलाइन्स रिक्रुटमेन्ट प्रालिमार्फत साउदी अरेबिया पुगेर मसान्द अल–अमल फर कन्ट्रयाक्टिङ कम्पनीमा चालक पदमा मुस्किलले दुई हप्ता काम गर्न भ्याए ।

दूतावास र सम्बद्ध निकायले शव झिकाउन आनाकानी गरिरहेको भन्दै मृतकका परिवारले आफूसमक्ष गुनासो गरेपछि संघीय सांसद अब्दुल खानले संसद्मै प्रश्न उठाए– ‘वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिको शव झिकाउन नसक्ने दूतावास र राजदूत किन राख्ने ?’ ११ साउनको प्रतिनिधिसभा बैठकमा सांसद खानले भने, ‘हाम्रो देशबाट दिनहुँ रोजगारीका लागि सयौँ दाजुभाइ, दिदीबहिनीहरू बिदेसिन्छन्, कुनै कारणवश विदेशमा मृत्यु हुँदा सरकारले मृत शरीरसमेत झिकाउन सक्दैन । विदेशमा ज्यान गुमाएका व्यक्तिको शव पनि झिकाउन सक्दैन भने सरकारलाई रेमिट्यान्ससमेत उठाउने अधिकार छैन ।’