१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ २२ शनिबार १o:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचथर विस्फोटमा बालबालिका मृत्यु र घाइते घटना : उपचारको जिम्मा लिएर राहत र क्षतिपूर्ति दिन सरकारसँग आग्रह

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १o:३५:oo

पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा सशस्त्र द्वन्द्वमा प्रयोग गर्ने सामग्री विस्फोट हुँदा घाइते भएका दुईजना बालकको उपचारको जिम्मा लिन र मृतक दुई बालबालिकासहित सबै परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।    

स्थानीय आइतराज केरुङको ढुंगा माटोले बनेको घरमा लुकाएर राखेको सामग्री खेलाउने क्रममा १३ भदौमा विस्फोट हुँदा घाइते भएका १३ वर्षीय पवन राई र ११ वर्षीय दिप्सन राईको उपचारको जिम्मा लिन र मृत्यु भएका दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन सावासहित सबैको परिवारलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो। 

घटनाको स्थलगत अनुगमनपछि बालअधिकारवादी संस्था सिबिन नेपालले विस्फोटमा घाइते बालकहरूको उपचारको जिम्मा लिन सरकारसँग आग्रह गरेको हो। यसैगरी, घाइते र मृतक बालबालिकाका परिवारलाई तुरुन्त राहत र उचित क्षतिपूर्ति दिन पनि सिबिनले माग गरेको छ। 

सिबिन नेपालका केन्द्रीय प्रवक्त्ता कुमार भट्टराईका अनुसार घाइते बालकहरूको हाल सिबिनकै रेखदेखमा काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते बालकमध्ये ११ वर्षीय दिप्सन राईको आइसियूमा र अर्का बालक १३ वर्षीय पवन राईको जनरल वार्डमा उपचार भइरहेको छ। तर, घटना भएको दुई हप्ता भइसक्दा पनि सरकारले घाइते बालकहरूको उपचारको जिम्मा लिएको छैन। घाइते र मृतक बालबालिकाको परिवारलाई राहत र क्षतिपूर्ति पनि दिएको छैन। 

घटनापछि घाइते बालकहरूको समयमै काठमाडौं ल्याएर उपचार गराउन सरकारले पहल नगर्नु विडम्बना पूर्ण भएको सिबिनले भनेको छ। सिबिनका प्रवक्ता कुमार भट्टराईले भनेका छन्, ‘घाइते बालकहरूको उपचारसहित सम्पूर्ण खर्च जिम्मा लिएर मृतकसहित सबै बालबालिकाको परिवारलाई तुरुन्त राहत र उचित क्षतिपूर्ति दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ।’  

घटनाको निष्पक्ष छानबिन गर्न  र द्वन्द्वकालका बाँकी रहेका विस्फोटक पदार्थहरू खोजेर नष्ट गर्ने अभियान चलाउन पनि सिबिन नेपालले सरकारसँग आग्रह गरेको छ। द्वन्द्वकालमा प्रयोग गरिएका हातहतियारहरू अझै लुकाएर राखेको अवस्थामा रहिरहँदा निरन्तर बालबालिकाहरूको ज्यान गइरहेको सिबिनको भनाइ छ। 

घटनापछि घाइते भएका बालकको उपचारको जिम्मा लिएर मृत्यु भएको परिवारलाई राहत क्षतिपूर्ति दिलाउन पाँचथरका सांसदहरूले कोशी प्रदेश सभामा आवाज उठाएका थिए। तर, पनि बेवास्ता भएपछि स्थानीयले घाइते बालकको थप उपचारका लागि सहयोग समिति निर्माण गरेर चन्दा संकलन थालेका छन्। घटना अनुगमन गर्न गएको सिबिन र इन्सेकका प्रतिनिधिहरूले घाइते बालकको अवस्था दयनीय देखेपछि उनीहरूलाई फालेलुङ गाउँपालिकाको सहयोगमा काठमाडौंसम्म लैजाने व्यवस्था मिलाएर १९ भदौमा उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गराएका थिए।