१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ भदौ २१ शुक्रबार o७:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सौर्य एयर दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : जहाज उड्दा तौल र ‘स्पिड’ मिलेको देखिएन

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार o७:४२:oo

सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँचबुझ आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । पाइलटले धावनमार्गबाट टेकअफ गर्दा जहाजको तौल र स्पिडको सन्तुलन नमिलेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सम्पूर्ण मर्मत ‘सि–चेक’का लागि ८ साउनमा पोखरा लैजाँदै गर्दा सौर्यको ९एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ लिनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा एकजना पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । जहाजले टेकअफ (उड्दा) गर्दा नै सन्तुलन गुमाएको आयोगका एक सदस्यले बताए । जहाजले भुइँ छाडेको केही सेकेन्डमै दाहिनेतर्फ कोल्टे फर्किएर दायाँतर्फको पखेटाले ट्याक्सी वेबाटै भुइँ छुँदै बजारिन पुगेको थियो ।  

मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधि समेत पालना नभएको अध्ययनले देखाएको छ । यस्तै, जहाजको सञ्चालन निर्देशिका (म्यानुअल)को तौलसम्बन्धी मापदण्ड पालना नभएको पनि भेटिएको छ । टेकअफ वेटमा जहाजको तौल, इन्धनको तौल, यात्रु, कार्गाे र पाइलटसँगै उडानमा सहभागी एयरलाइन्सका कर्मचारीको तौल समावेश हुन्छ । 

‘प्रारम्भिक अध्ययनले मर्मतका लागि लगिएका सामग्री जहाजमा बाँधेर नराखेको देखिन्छ, सामान राख्दा पनि लोड मिलाउनेतर्फ ध्यान दिएको देखिएन, नबाँधी राखिएका सामग्री जहाजले स्पिड लिएपछि सरेर सेन्ट्रल ग्राभिटी नमिलेको देखिन्छ,’ ती सदस्यले भने, ‘अहिले प्रारम्भिक प्रतिवेदन मात्र बुझाएका हौँ, थप विषय विस्तृत अध्ययन र जाँचबुझ गरेपछि मात्र थाहा हुनेछ ।’ मर्मतका लागि जहाजमा राखिएका सामग्रीको तौल नगरेको प्रतिवेदनमा उल्लेख छ । जहाजको इन्जिन वा अन्य कुनै टेक्निकल गडबढी नदेखिएको बताइएको छ । अझै अध्ययनकै क्रममा रहेकाले दुर्घटनाको कारणबारे अहिले नै यही भनेर किटान गर्न नसकिने समितिका सदस्यले बताए ।

दुर्घटना जाँचबुझ आयोगले तत्कालका लागि सुधार गर्नुपर्ने तीनवटा सुरक्षा सिफारिस गरेको छ । आयोगले सबै वायुसेवा सञ्चालकले तत्कालै आफ्नो स्पिडकार्ड र आरटिओडब्लू चार्टहरू पुनरावलोकन गर्नुपर्ने, सबै अपरेटरले सामान र कार्गोको तौल, त्यसको विवरण र ल्याचिङ सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्याअनुलमा निर्दिष्ट भएअनुसार सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ । 

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमितबाहेकका ‘गैरआम्दानी’ वा ‘फेरि’ उडानहरूको अनुमति दिनका लागि कार्यविधि बनाउन सुझाव दिइएको छ । 

दुर्घटनाका तीन प्रारम्भिक तथ्य 
- विमान दुर्घटना भएको स्थलमा गरिएको अनुगमन, ९एन एएनएम सिआरजे दुई सय विमानको अध्ययन र सौर्य एयरलाइन्सका कर्मचारीसँगको अन्तर्वार्ता गरिएको थियो । सञ्चालकले जहाजको सञ्चालन निर्देशिकाबमोजिम जहाजमा तौलसम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ ।

- पाइलटलाई आकस्मिक समयमा अपनाउनुपर्ने विधि उल्लेख गरिएको क्विक रिफरेन्स ह्यान्डबुक दिइएको हुन्छ । यो ह्यान्डबुकमा उल्लेख गरिएको जहाजको गति (भी स्पिड)को सीमा र फ्लाइट डेटा रेकर्डर (एफडिरआर)मा रेकर्ड भएको तथा उडानतालिकामा उल्लेख भएको जहाजको गतिमा एकरूपता नपाइएको अध्ययनमा खुलेको छ । 

- १८,५०० किलो तौलसहितको (टेकअफ वेट) उडान गर्दा पाइलटले प्रयोग गर्ने स्पिड कार्डमा उल्लेख भएको जहाजको गति नै गलत देखिएको अध्ययनले देखाएको छ । टेकअफ वेटमा जहाजको तौल, इन्धनको तौल, यात्रु, कार्गाे र पाइलटसँगै उडानमा सहभागी एयरलाइन्सका कर्मचारीको तौल समावेश हुन्छ । १८,५०० तौल (टेकअफ वेट)लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत लिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको अध्ययनले देखाएको छ ।