
संसद् अवरोध किन गर्नुभयो ?
प्रधानमन्त्री केपी ओलीको पार्टीका साथीहरूले जनयुद्धलाई अपमानित गर्ने कोसिस गर्नुभयो । उहाँहरूले माओवादी जनयुद्धलाई अवहेलना या ‘डोमिनेट’ गर्ने प्रयास गर्नुभयो । उहाँहरूको यो प्रयास आपत्तिजनक छ । उहाँहरूले दम्भ प्रदर्शन गरिरहनुभएको छ । हामीले उहाँहरूलाई यसरी अनावश्यक दम्भ नदेखाउनुहोस्, इतिहासको अवमूल्यन गर्ने गल्ती नगर्नुहोस् भनेर सम्झायौँ । तर, उहाँहरू त्यसमा तयार नभएपछि हामीले बाध्य भएर संसद् अवरोध गरेका हौँ ।
संसद्को अभिलेखबाट ‘हिंसा’ शब्द नहटुन्जेल अवरोध गरिरहनुहुन्छ ?
हामीले निरपेक्ष रूपमा हिंसा शब्द प्रयोग गर्नै हुँदैन या पाइँदैन भनिरहेका छैनौँ । हामी एउटा शब्दको पछाडि लागेका छैनौँ । तर, उहाँहरूले माओवादी जनयुद्धलाई आतंककारी युद्ध भनेर यसको अवमूल्यन गर्दै हुनुहुन्छ । माओवादी जनयुद्धले पुर्याएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनलाई नजरअन्दाज गरेर उहाँहरूले यसको उपहास गर्ने काम गरिरहनुभएको छ । यसरी सिंगो माओवादी आन्दोलनलाई नै खिसिटिउरी गर्ने उहाँहरूको प्रवृत्तिको हामीले विरोध गरेका हौँ । उहाँहरूको त्यो प्रवृत्ति सच्चिनुपर्छ ।
उपसभामुख प्रकरणबारे माओवादीको धारणा के छ ?
यो सत्तापक्षको मूर्खतापूर्ण हर्कतसिवाय केही होइन । उहाँहरूले दुईतिहाइको दम्भ देखाउनुभएको थियो । तर, जति घमन्ड देखाए पनि सत्ता घटकमा रहेका अन्य दलले साथ नदिएपछि उहाँहरूले दुईतिहाइ जुटाउन सक्नुभएन । फेरि, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि उहाँहरूको ‘फेवर’मा देखिएन । समग्रमा हेर्दा जनमत उहाँहरूविरुद्ध देखियो । त्यसैले, यो प्रकरण उहाँहरूकै लागि प्रत्युत्पादक साबित भयो ।