१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
गोपीनाथ मैनाली
२o८१ भदौ २१ शुक्रबार o९:४१:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा  

Read Time : > 4 मिनेट
गोपीनाथ मैनाली
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार o९:४१:oo

राजनीतिक कार्यकारीले निजामती प्रशासनलाई जतिखेर पनि भकुन्डो हानेको छ, न कानुन दिएको छ, न कार्यवातावरण

जाेन पुलोकले भनेका थिए– ‘हामी एक्कइसौँ शताब्दीमा छौँ, बीसौँ शताब्दीको प्रणाली र त्यसभन्दा माथि उन्नाइसौँ शताब्दीको राजनीतिक संरचना छ ।’ यो आरोपलाई समाधान गर्ने महत्वपूर्ण रणनीति प्रशासन परिवर्तन हो । निजामती प्रशासनले समयको गति पक्रियो भने अझ भनौँ, परिवर्तन आफैँले सिर्जना गर्‍यो भने हाम्रो चाहनाको प्रशासन पाउन सकिन्छ । एक्काइसाैँ शताब्दी बहुसीपयुक्त, स्ययंप्रेरित र आविष्कारमुखी प्रशासनको युुग हो । आफ्नै औचित्य सिद्ध गर्न पनि प्रशासनले व्यावसायिक सदाचारिता र आविष्कारमुखी चरित्रमा रहनुपर्छ । 

अहिले निजामती सेवाप्रति सेवाग्राही सर्वसाधारणको आरोप छ, यो साह्रै जुम्से र लोते भयो, भनसुन र मोलाहिजा नगरी सेवा पाइँदैन । राजनीतिक समाज आफ्नो लय र भावना पक्रिन नसेकेको आरोप लगाइरहेको छ । विज्ञहरू भनिरहेका छन्, सेवाग्राहीलाई प्रशासनिक सास्तीबाट मुक्ति दिन निजामती सेवा पछि पर्‍यो । निजामती प्रशासनचाहिँ आफूले अभिभावकत्व नपाएकोमा निराश छ । राजनीतिक कार्यकारीले उसलाई जतिखेर पनि भकुन्डो हानेको छ, न कानुन दिएको छ, न कार्यवातावरण । त्यसैले, निजामती सेवा रक्षात्मक छ, स्वयं उत्साहमा छैन । आफ्नो कामको आत्मविवेचना गरी सेवास्तर बढाउन २०६१ देखि एउटा आदर्श वाक्यसाथ आफ्नो दिवस मनाउँदै आएको निजामती सेवाले २०७८ मा पाँच वर्षका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ को आदर्श वाक्य निर्धारण गरिएको छ । यसले निजामती सेवाको मूल्य र गन्तव्य दुवै बताएको छ । यो निजमती सेवाको प्रतिबद्धता हो, अहिलेको आवश्यकता नै व्यावसायिक र सिर्जनशील प्रशासन हो । 

निजामती सेवाको नामकरण सन् १८०४ मा नेपोलियन बोनापार्टले गरे पनि १८५४ मा बेलायती संसद्मा नर्थकोट–टेभेलियन प्रतिवेदन बुझाएपछि मात्र आधुनिक निजामती सेवाको सुरु भएको हो । यस अर्थमा निजामती सेवाले आधुनिक रूप पाएको झन्डै १७० वर्षजति भयो । यस अवधिमा निजामती प्रशासनले राज्यइच्छा कार्यान्वयन, लोकतन्त्रको वितरण र राज्यका साझा मूल्यलाई संस्थागत गर्दै आएको छ । नेपालमा भने यसको इतिहास ६८ वर्षको छ । एउटा प्रणाली निर्माणका लागि यो निकै लामो अवधि हो । 

विश्वव्यापी अभ्यास हेर्दा निजामती प्रशासनका पाँच परिवार छन्, वेस्टमिन्स्टर ढाँचा (बेलायत र साविकका बेलायती उपनिवेश भएका क्यानडा, सिंगापुर, न्युजिल्यान्ड, सिंगापुर), राजनीतीकृत ढाँचा (संयुक्त राज्य अमेरिका), स्केन्डेनेभियन ढाँचा (नर्वे, स्विडेन, डेनमार्क), कन्टिनेन्टल ढाँचा (फ्रान्स, द नेदरल्यान्डस्), र नयाँ राजनीतिक ढाँचा (बेलायती स्कटिस र वेल्स) । सवै परिवारले साझा मूल्यका रूपमा योग्यता प्रणाली, निष्पक्षता, वस्तुनिष्ठता र व्यावसायिकता अँगाल्दै आएका छन् । साथै निजामती सेवाले मूूल्यका रूपमा पवित्रता, स्वयं उत्साह, सत्यांकन, प्रमाणको सर्वोच्चता, अवसरप्रति सेचत, जोखिमप्रति सावधानी र सेवाप्रति निष्ठालाई अँगाल्दै आएको छ । यी मूल्यकै सापेक्षमा कुनै पनि मुलुकको निजामती सेवाको मूल्यांकन गरिन्छ । यी मूल्य नै निजामती सेवालाई युगौँसम्म पहिचानमा राख्ने आधार हुन् । 

सार्वजनिक प्रशासनका पिता अमेरिकी राजनीतिज्ञ विड्रो विल्सनले निजामती प्रशासनमा जोकुनै होइन, खास क्षमता र इमानदारी भएका व्यक्ति मात्र योग्य हुन्छन्, जो राजनीतिक प्रणालीको उछिनपाछिनदेखि बिल्कुलै अलग हुन्छन् भनी ‘राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्त’को प्रादुर्भाव गरेका थिए । इतिहासमा देखिएको भाइभतिजावादको विकृति र लुट प्रणालीको पीडाका कारण सीमा विभाजन आवश्यक थियो । निजामती सेवाका पाँचै परिवारले यसलाई गहन रूपमा ग्रहण गरेका छन् । पूर्वीय दर्शनमा निजामती सेवालाई योग्यताभन्दा इमानदारी र आदर्शका रूपमा लिइन्थ्यो । आइन–ए–अकबरी, कौटिल्यको अर्थशास्त्र र नीति स्मृतिहरूले राज्य सञ्चालनको आदर्श सहयोगीका रूपमा यसलाई लिएको पाइन्छ ।

दार्शनिक र परिवारमा विभक्त गर्नुभन्दा पनि अब निजामती सेवा योग्यता र आदर्शको संगम बनेको छ, जसविना व्यवस्थित राज्य प्रणाली र लोकतन्त्रको कल्पना गर्न सकिँदैन । निजामती सेवा पलपलको राष्ट्र निर्माण हो, विकासको संवाहक र स्वयं उत्साहको पुञ्ज हो । सद्गुणहरूको संगम हो । शासनको प्रशासन यसको कर्म हो, व्यावसायिक सदाचारिता यसको धर्म हो । त्यसैले सफल नेतृत्वले प्रशासनको संस्थागत विकासका लागि उच्च प्राथमिकता दिँदै आएका छन् । भनिन्छ, कुनै पनि देशको सरकार त्यहाँको प्रशासनभन्दा उम्दा हुन सक्दैन, कुनै पनि मुलुकको विकास प्रशासनले अनुमति दिएभन्दा छिटो हुन सक्दैन ।

जिम्मी कार्टरको चुनावी मुद्दा नै प्रशासन सुधार गर्नु थियो, बिल क्लिन्टनले कार्यसम्पादनमुखी सरकारका लागि आफ्ना उपराष्ट्रपति अल गोरलाई विशेष जिम्मेवारी दिए, बाराक ओबामाले निजामती प्रशासनमा आविष्कारमुखी संस्कृतिको विकास गर्न अनिस चेपरालाई जिम्मेवारी दिए । जापानमा मेइजीदेखि कोइजुमीसम्मको शासनकालमा प्रशासनलाई यति जागरुक बनाइयो कि त्यहाँको निजामती सेवा विश्वकै लोभलाग्दो प्रणाली बन्यो, परिणाम आजको जापान हो । पाँचौँ तथा छैटाँै फ्रान्सेली गणतन्त्रमा एघारमध्ये पाँच राष्ट्रपति कर्मचारी पृष्ठभूमिबाट आएका थिए । फ्रान्सेली प्रशासन व्यवस्थापनको सिद्धान्त धेरै परिपक्व र मूल्यबोधी पनि छ, जुन नेपोलियन प्रशासनको जगले सम्भव भएको हो ।

सिंगापुरका ली, अस्ट्रेलियाका हायक, मलेसियाका महाथिर सबैले निजामती सेवा सुधारलाई उच्च प्राथमिकतामा राखे । बंगलादेशमा अबामी लिग र बिएनपी दुवै पार्टीले प्रशासनको दुरुपयोग गरी पटक–पटक सत्ता आरोहण गरे, परिमाण अहिलेको बंगलादेश हो । पाकिस्तान र श्रीलंका पनि बंगलादेशकै बाटामा छन् । ब्रिटिसकालीन उपनिवेश कर्मचारीतन्त्रलाई दह्रिलो बनाउन यति अग्रसर रह्यो कि उपनिवेशपछि पनि त्यहाँको प्रशासन राज्यप्रणाली बलियो खम्बा बनिरह्यो । उदाहरण भारत पनि हो ।

भारतको एआइएस अधिकृतहरू अहिले पनि सामाजिक प्रतिष्ठाका पात्र हुन् । त्यहाँको प्रशासन कर्मचारीतन्त्रबाट प्रशासनिक स्टार्टअपमा रूपान्तरण भएको छ । प्रशासनिक स्टार्टअपका कारण अशोक खेम्का सिम्बोल अफ इन्टिग्रिटी बने, आर्मस्ट्रङ पामे म्यान अफ मिराकल बने, स्मिता समरवान नागरिककी अधिकृत बनिन्, डा. समित शर्मा जनताका चिकित्सक बने । किरण बेदी, विनोद राव, टिएन सेसन, डी सुब्बा राव, अरुण सुन्दरराजन आआफ्ना क्षेत्रमा सुधारका धरोहर कहलिए । 

नेपालमा २०१३ सालमा संरचित निजामती सेवालाई पहिलो जनआन्दोलनपछि उच्चस्तरीय प्रशासन सुधार आयोगको नेतृत्व गरेर गिरिजाप्रसाद कोइरालाले उदारीकरण र सुशासनको बाटो देखाए । त्यसैको जगमा उभिएर प्रथम पुस्ताको सुधार कार्यक्रमले सार्वजनिक सेवा व्यवस्थापनमा निजी तथा अन्य गैरसरकारी क्षेत्रले आफ्नो क्षमता देखाउन पुग्यो । पछिल्ला दिनमा निजामती प्रशासनलाई सही अभिभावकत्व दिन नसकेकाले प्रथम चरणका सुधारका उपलब्धि सुरक्षित हुन समस्या परेको छ, दोस्रो पुस्ताको सुधार कार्यक्रमले प्रवेश पाएको छैन । गत वर्षबाट सरकारले १८ क्षेत्र पहिचान गरी अर्को चरणको आर्थिक पुनर्संरचनाका लागि नीति सोच बनाउँदै छ । चालू वर्षको बजेट वक्तव्यले पनि पाँच विषय क्षेत्रलाई रूपान्तरणकारी क्षेत्र पहिचान गरेको छ । सरकारको नेतृत्व र प्रशासनले सम्मति दिए मात्र तिनले कार्यरूप पाउनेछन् । 

निरन्तर परिवर्तनशील विश्वमा निजामती प्रशासनको व्यवहार, क्षमता र गतिशीलता परिवर्तनसँग लय मिलाउने, अनुकूलित हुने र परिवर्तन सिर्जना गर्ने प्रणाली निर्माणको चुनौतीमा छ । सरकार गतिशील हुनु, कार्यसम्पादनमुखी हुनु र जनमुखी हुनु भनेको निजामती प्रशासन गतिशील हुनु हो । प्रशासनको ‘डाइनामिक नेचर’ के हो भने यसले यसअघिका प्रयासबाट प्रभावित र परिमार्जित हुँदै भविष्यपथ तयार गर्नुपर्छ । यसो गर्ने आत्मचेतना र सामथ्र्य निजामती सेवामा रहनुपर्छ । अन्यथा यो आलोचित, अतिक्रमित र पहिचानहीन बन्दै जान्छ । आफूमाथि लागेको आरोपको जवाफ उसले वचनबाट होइन, कामबाट दिनुपर्छ । कर्मको आचरण गर्ने ‘कर्मचारी’ले भनेर होइन गरेर नै आफ्नो औचित्य देखाउन सक्छन् । यसका लागि निजामती सेवाभित्र उम्दा, बहुसीपयुक्त र उच्च अभिरुचि भएका प्रतिभा पहिचान गर्ने परीक्षा र परीक्षण प्रणाली चाहिन्छ । सेवाभित्र प्रवेश गरेपछि वृत्तिनिष्ठा र सेवा समर्पणको अभिमुखीकरण चाहिन्छ । नैतिक, व्यावसायिक र उदाहरणीय प्रशासनिक नेतृत्व चाहिन्छ । र, सधैँ नेतृत्व र अभिभावकत्व दिने राजनीतिक कार्यकारी चाहिन्छ । अनि मात्र ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’को अन्तर्य पूरा हुन्छ । 

समाजले मागेको परिवर्तन (प्रवर्तन) प्रशासनिक सास्तीबाट सर्वसाधारणलाई मुक्ति दिने साहसी, निर्भीक, निष्पक्ष र व्यावसायिक निजामती सेवा हो । बहुसीप र प्रत्युत्पन्नमति भएको प्रशासन हो, जहाँ राजनीतिक कार्यकारीले एकभन्दा डेढ गर्न सकोस् । आँ गर्दा बुझिसकोस्, तर गर्न नहुनेचाहिँ गर्दै नगरोस् । शताब्दीका अनुमान नै नगरिएका चुनौती सामना गर्न सकारात्मक, बहुसीप र स्वयं प्रशिक्षित सशक्त निजामती कर्मचारी चाहिन्छ । जसको आधार वृृत्तिईष्र्या होइन, प्रोत्साहन गर्ने, निरन्तर दिशाबोध गर्ने, निजामती सेवाका मूल्यलाई आदर गर्ने तर अन्तिम जवाफदेहिता आफैँ लिने अभिभावक हो । थरघरबाट आजसम्म आइपुग्दा निजामती सेवाले आर्जित क्षमता पनि संस्थागत गरेको छ, नवप्रवर्तनको बाटो पक्रिन सक्ने भएको छ । तर, राजनीतिबाट प्रशासन निकै गिजोलिएको छ र प्रणालीभित्रका व्यावसायिक सदाचार भएका कर्मचारीको मनोबल निकै गिराइएको छ । अभिभावकत्व लिने वर्गले निष्ठा होइन, अनुचर खोजेको छ । यसले निरन्तरता पाइरहेमा भावी दिन अरू दुरुह भई आन्तरिक रूपमा संघीयता कार्यान्वयन र सेवा व्यवस्थापन गर्न र बाह्य रूपमा एक्काइसौँ शताब्दीका चुनौती सामना गर्न सक्नेछैन । 

(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)