१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार o६:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

 सभापति देउवा–महामन्त्री शर्मा नोकझोक

 बैठकमा कांग्रेस मन्त्री बद्री पाण्डेको ब्रिफिङ–एमालेसँगको सहकार्य खुकुरीको धारको यात्राजस्तो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार o६:२१:oo

केपी ओलीपछि सरकारको नेतृत्व गर्ने अवस्थामा सभापति शेरबहादुर देउवाले आफूले त्याग गरी नदोहोरिएका अनुहारलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुपर्ने महामन्त्री शर्माको प्रस्तावमा देउवाले तीव्र असन्तुष्टि जनाएका छन् । शर्माको यस्तो प्रस्तावपछि आक्रोशित देउवाले कसैले भन्नेबित्तिकै आफूले नछोड्ने, सके अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् । एमाले र कांग्रेसबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । 

‘सभापतिज्यू तपाईं छैटौँपटक प्रधानमन्त्री बन्न नलाग्नुहोस् । शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी वा कसैलाई प्रधानमन्त्री बनाउनुहोस्,’ बैठकमा महामन्त्री शर्माको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्री बन्न एक से एक अग्रज नेताहरू प्रतिनिधिसभामा हुनुहुन्छ । यसो गर्दा सभापतिको त्याग देखिन्छ । समकालीन नेतालाई पनि न्याय हुन्छ ।’

जवाफमा देउवाले प्रक्रियागत रूपमा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए । ‘तपाईंले छाड् भन्नेबित्तिकै छोड्नुपर्छ भन्ने छ र ? त्यो तपाईंको विचार हो, ठिकै छ । मैले छाड्नेवाला छैन । अविश्वास प्रस्ताव ल्याएर हटाएर देखाउनु,’ देउवाको भनाइ थियो । 

अर्का महामन्त्री गगन थापाले तत्काल एमालेसँगको गठबन्धनप्रति इमानदार हुनुको विकल्प नरहेको बताए । उनले आगामी निर्वाचनमा एक्लै निर्वाचनमा होमिएर बहुमत ल्याउने चुनौती सामना गर्न कांग्रेस तयार हुुनुपर्ने बताए । ‘अहिले एमालेसँग गठबन्धन भएकाले ओली सरकारलाई सफल बनाउनु छ । त्यसपछि सभापतिज्यू प्रधानमन्त्री बनेपछि पनि सफल बनाउनु छ । फेरि ०८४ मा एमालेसँगै प्रतिस्पर्धा गरेर जितेर आउनु छ,’ महामन्त्री थापाले भने, ‘अब हामी कांग्रेसले रुखमै मत हाल्न सुनिश्चितता गर्ने र कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउने गरी केन्द्रित हुनेछौँ ।’ उनले सभापति देउवा र प्रधानमन्त्री ओलीबिच सौहार्दता हुनुपर्ने र उनीहरूबिचको हार्दिकता एवं विश्वास महत्वपूर्ण रहने बताए । 

 बैठकमा कांग्रेस मन्त्री बद्री पाण्डेको ब्रिफिङ–एमालेसँगको सहकार्य खुकुरीको धारको यात्राजस्तो 
बैठकमा धारणा राख्ने क्रममा पर्यटनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेले एमालेसँगको सत्तासहकार्य कांग्रेसका लागि चुनौतीपूर्ण रहेको बताएका छन् । एमालेसँगको प्रतिस्पर्धा र सहकार्यको सीमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘हामी जोखिम उठाएर खुकुरीको धारमाथि यात्रा गरिरहेका छौँ । ०८४ को चुनावमा एमालेभन्दा हामी कसरी अघि आउने गम्भीरतापूर्वक सोच्नुपर्छ । एमालेसँगको प्रतिस्पर्धा र सहकार्यको सीमा स्पष्ट बनाउनुपर्छ,’ उनले भने ।