१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १७:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा एकै नम्बरका पाँचवटा मोटरसाइकल बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १७:४४:oo

चोरीका मोटरसाइकल खोजीका क्रममा एउटै नम्बर राखेर चलाइएका पाँचवटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुईजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 
  
शंकास्पद अवस्थामा से.७प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका– २ घर भई कोटेश्वर बस्ने २८ वर्षका हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारीपश्चात् थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को पनि मोटरसाइकल पत्ता लागेको हो। मोटरसाइकलको खोजतलासमा निस्केको ट्राफिक प्रहरीको टोलीले मध्यबानेश्वर बस्दै आएका अछाम चौरपाटी– २ कै २५ वर्षीय प्रमोद कुँवरलाई समेत सोही नम्बरको ३५० सिसीको खैरो रंगको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौंस्थित रानीबारीबाट गत साउन २८ गते हराएको भनी रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। नक्कली नम्बर प्लेट राखेर उनीहरूले सो मोटरसाइकल प्रयोग गरेका हुन्। 

सोधपुछका क्रममा से.७प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाढा निलो रंगको १५० सिसीको एफजेड–एस मोटरसाइकलसमेत छाउनीबाट बरामद भएको छ। अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काँडाघारी बस्ने ओखलढुंगाका उत्तमकुमार पराजुलीको रहेको  खुलेको छ। सो मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा चोरी भएको थियो।
 
थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए। 

करिब एक महिनाअघि से.७प ८५६२ नम्बरप्लेट नै भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसीको एमटी–१५ बेवारिसे अवस्थामा फेला परेको थियो। अनुसन्धान गर्दै जाँदा वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए।

चोरीमा संलग्नहरूले एउटा मोटरसाइकलको वास्तविक ब्लुबुक बनाई सोही नम्बर राखेर अन्य चारवटा चोरीका मोटरसाइकल प्रयोग गर्दै आएको खुलेको छ।

सवारीसाधन चोरीबाट जोगाउन सुरक्षित स्थानमा पार्किङ गर्न,  ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा लामो समय पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।