Skip This
गणेश चतुर्थी पर्व मनाइँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २२ शनिबार o९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणेश चतुर्थी पर्व मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o९:५४:oo

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ। प्रत्येक वर्ष हरितालिका (तिज) पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। हरितालिका (तिज)को व्रत भोलिपल्ट गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको  नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। बिहान हरितालिका (तिज) को व्रत समापनका लागि पारायण गरी मध्याह्न कालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए। यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन्।
 
मंगल चतुर्थीसमेत नामले यो पर्वलाई चिनिन्छ। यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन्। यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ। विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ। विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो। यसैले यस दिन धर्मसभाको स्थापना दिवसका रूपमा पनि मनाउने गरिन्छ।