१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १७ सोमबार १o:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

के हो एमाले प्रदेश सांसद शर्माविरुद्धको कसुर ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १o:३५:oo

लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई पक्राउ नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि उनको मुद्दा चर्चामा आएको छ। सांसद शर्माविरुद्ध तीन महिनाअघि नै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको छ । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि बालेनले प्रधानमन्त्रीमाथि नै आक्रोश पोखेका छन्। 

बालिकालाई घरेलु कामदारमा राखी दुर्व्यवहार गर्दै आएको भन्दै जाहेरी परेको थियो । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले गत १४ जेठमा उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो । प्रहरीमा महानगरपालिकाले नै जाहेरी दिएको हो। 

दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनलाई महानगरले उद्धार गरेको थियो। जाहेरी दर्ता भएपछि त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत गएकी थिइन्। सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा २३ साउनमा दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले अनुसन्धानमा चासो नराखेको महानगरपालिकाका अधिकारीहरू बताउँछन् । 

काठमाडौं परिसरका प्रहरी अधिकारीले अनुसन्धान जारी रहेको भन्दै यस विषयमा विस्तृत बताउन चाहेनन्। उद्धारपछि बालिकाका बुबा छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएका थिए ।सर्वोच्चले बालिकाको इच्छालाई नै केन्द्रमा राखी अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दियो । सोहीअनुसार बालिका हाल महानगरको संरक्षणमा एक संस्थामा बसेर पढ्दै आएकी छिन् ।

 काठमाडौं महानगरपालिकाले परिवारबाहिर आफन्त तथा अन्य व्यक्तिको घरमा बसेका बालबालिकामाथि अध्ययन गर्दा बाल श्रमशोषणको घटना पत्ता लागेको हो । महानगरपालिकाकी बाल कल्याण अधिकारी शान्ता पहाडीका अनुसार अरूको घरमा बसेर सामुदायिक विद्यालयमा पढ्ने २५५ जना विद्यार्थीलाई फर्म भर्न लगाएर अध्ययन भएको थियो । जसमध्ये २९ जनाले आफूले गम्भीर प्रकृतिको हिंसा भोग्दै आएको बताएका थिए । तीमध्ये महानगरपालिकाले २० जनाको उद्धार गरिसकेको छ । नेता, प्रहरी, प्राध्यापकका घरबाट बालबालिकाको उद्धार भएको महानगरले जनाएको छ ।