Skip This
अफ्रिकामा बेवास्ता गरिएको मंकीपक्सले लिन सक्छ महामारीको रूप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार १o:o७:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अफ्रिकामा बेवास्ता गरिएको मंकीपक्सले लिन सक्छ महामारीको रूप

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १o:o७:oo

डब्लुएचओले मध्यअफ्रिकामा एमपक्सको हालको वृद्धिलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ

अफ्रिकामा फैलिएको एमपक्स प्रकोप मुख्य रूपमा विकासोन्मुख र विकासशील देशलाई असर गर्दै कसरी अप्रत्यासित रूपमा विश्वव्यापी जोखिम निम्त्याउन सक्छ भन्ने एउटा उदाहरण हो । अन्य उपेक्षित रोगमा वेस्ट नाइल, जिका र चिकन गुनिया भाइरस पर्छन् । एमपक्स सन् १९५८ मा पत्ता लागेको थियो, (त्यतिवेला बन्दी बनाइएका बाँदरमा देखिएको थियो र सोही आधारमा मंकीपक्स नामकरण गरिएको थियो) । यो संक्रमण सबैभन्दा पहिला मानिसमा सन् १९७० मा देखिएको थियो । त्यसपछि दशकौँसम्म यसलाई धेरै हदसम्म वैज्ञानिक र जनस्वास्थ्य समुदायद्वारा उपेक्षा गरियोे । सुरुमा यसलाई उष्णकटीबन्धीय अफ्रिकाको दुर्गम ग्रामीण इलाकामा विश्वको बाँकीभागमा सान्दर्भिक नभएको एउटा असामान्य संक्रमणको रूपमा लिइयो । 

सन् २०२२ मा विकसित देशमा ठुलो मात्रामा एमपक्स प्रकोप देखा परेपछि अनुसन्धान कोषमा भएको वृद्धिसँगै वैज्ञानिक अध्ययन र अनुसन्धानमा पनि वृद्धि भयो । अघिल्लो ६० वर्षमा भन्दा सन् २०२२को अप्रिलपछि यस रोगबारे धेरै अनुसन्धान भए । एमपक्सको लागि निदान र रोकथाममा विश्वव्यापी लगानी बढाउन अफ्रिकी अन्वेषकहरूको बारम्बारको आह्वानको बाबजुद सन् २०२२ देखि सन् २०२३ सम्म एमपक्स विश्वव्यापी प्रकोपको रूपमा फैलियो । डब्ल्युएचओले अहिले मध्यअफ्रिकामा एमपक्सको हालको वृद्धिलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

यो अन्य देशका लागि सार्वजनिक स्वास्थ्य जोखिम खडा गर्ने उच्चतम सतर्कता स्तर हो । एमपक्स नियन्त्रणका लागि एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक छ । हामी एचआइभी, सार्स, कोभिड र अन्य भाइरल संक्रमणमा काम गरेका संक्रामक रोग अनुसन्धानकर्ता हौँ । एमपक्स संक्रमणको विस्तार संसारको कुनै एक कुनामा देखिएको एक संक्रामक रोगलाई अरू कसैको समस्याको रूपमा लिनुहुँदैन भन्नेहरूका लागि एउटा गतिलो पाठ पनि हो । किनकि, यो अचानक छिटो र विश्वका जुनसुकै क्षेत्रमा टाढासम्म फैलिन सक्छ । यसले स्रोत विनियोजन, खोप, निदान र उपचार पहुँचमा विश्वव्यापी असमानतालाई पनि प्रकाश पार्छ । खोप र उपचारको पहुँच अन्य धेरै औद्योगिक देशमा उपलब्ध गराइयो, जसले विश्वव्यापी प्रकोपलाई रोक्न मद्दत गर्‍यो । तर, अफ्रिकाका धेरैजसो क्षेत्रमा अझै पनि खोप अभाव छ ।

एमपक्स बिफर भाइरसजस्तै रोग हो । यसलाई मध्य र पश्चिम अफ्रिकाका भागमा जुनोटिक रोग मानिन्थ्यो । यो मुख्यतया जंगली स्तनपायीसँगको सम्पर्कबाट विकसित भएको थियो । संक्रमित यात्रु वा संक्रमित साना स्तनधारी जनावरको आयातको कारणले गर्दा कहिलेकाहीँ मात्र स्थानीय क्षेत्रबाहिर केस देखिएका थिए । सन् २०२२ अचानक परिवर्तन भयो ः एक विशाल, द्रुत रूपमा विकसित विश्वव्यापी प्रकोपले ११६ देशमा प्रयोगशालामा पुष्टि भएका९९ हजार केस देखिए । सन् २०२२ को अगस्टमा प्रत्येक हप्ता ६ हजारभन्दा बढी केस रिपोर्ट गरिए ।

यो प्रकोप अचम्मको रूपमा देखियो । धेरैजसो संक्रमणका घटना गैरस्थानीय देशबाट रिपोर्ट गरिएका थिए । संक्रमित पुरुषसँग यौनसम्बन्ध राखेका प्रायः त्यस्ता पुरुषमा यो रोग देखियो । धेरैजसो केस चिकित्सकीय रूपमा खासै गम्भीर नभए पनि र मृत्यु हुनेको संख्या २०० भन्दा बढी नै भए पनि विश्व स्वास्थ्य संगठनले २३ जुलाई २०२२ मा यसलाई अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो । जोखिममा रहेका समूहमा व्यवहार परिवर्तन र खोपको संयोजनले सौभाग्यवश संक्रमण दर चाँडै नै घट्यो । उच्च आय भएका धेरै प्रभावित देशमा एमपक्सविरुद्ध आधुनिक खोपहरू र एन्टिभाइरल औषधि उपलब्ध गराइयो । 

यी खोप र औषधि अमेरिका र युरोपमा विकसित र भण्डार गरिएका थिए । सन् २०२२ मा विश्वव्यापी प्रकोप एमपिएक्सभीको क्लेड द्वितीयको कारणले भएको थियो, जुन पश्चिम अफ्रिकामा छ । यो क्लेड प्रथम एमपिएक्सभीजत्तिकै भाइरल छैन र अहिलेसम्म कंगो क्षेत्रमा मात्र देखिएको छ । क्लेड द्वितीय संक्रमण अझै पनि विश्वव्यापी रूपमा देखा परिरहेका छन् । तर, अहिलेका लागि सबैभन्दा खराब अवस्था समाप्त भएको देखिन्छ । 

अफ्रिकी क्षेत्रले एमपक्स मामिलामा वृद्धि भएको अनुभव गरिरहेको छ, जुन सन् २०२३ मा सुरु भएको थियो । लामो समयदेखि एमपक्स फैलिएको महादेशको रूपमा अफ्रिकाले अब जटिल विविधता प्रस्तुत गर्छ । सबैभन्दा चिन्ताजनक रूपमा एमपिएक्स भिक्लेड आइबी संक्रमणको बढ्दो संख्या प्रजातान्त्रिक गणतन्त्र कंगोबाट रिपोर्ट गरिएको छ ।

राजनीतिक प्रतिबद्धता आवश्यक : हामीले द ल्यान्सेट ग्लोबल हेल्थमा सहलेखन गरेको हालसालैको लेखले यस प्रकोपलाई नियन्त्रण गर्न र यसलाई महामारीमा परिणत हुनबाट रोक्न के गर्न आवश्यक छ भनेर वर्णन गरिएको छ । रोगको निदान, परीक्षण, खोप र एन्टिभाइरल उपचारमा समान पहुँचका लागि राजनीतिक प्रतिबद्धता र वित्तीय लगानी आवश्यक छ । एक्सपोजर सेटिङहरू, रोग सर्ने मार्गहरू र क्लिनिकल प्रस्तुतीकरणबारे थप जानकारीका लागि वैज्ञानिक अनुसन्धान आवश्यक छ ।

यी हस्तक्षेपका लागि उपर्युक्त तरिका फेला पार्न महत्वपूर्ण छ । हामीले अफ्रिकामा अफ्रिकी नेतृत्वमा बहु–अनुशासनात्मक, बहु–देशीय एमपक्स अनुसन्धान कन्सोर्टियम (एम पक्सरेक) को स्थापनाको प्रस्ताव गरेका छौँ । यसले जनस्वास्थ्य समस्याको रूपमा एमपक्सको उन्मूलनतर्फ अनुसन्धान गर्नुपर्छ । संसारको एक कुनामा भएको रोग अचानक विश्वव्यापी स्वास्थ्य खतरा बन्न सक्छ भन्ने कुरामा कुनै शंका छैन । यो वास्तविकतामा विश्वव्यापी स्वास्थ्य  प्रणाली ब्युँझने समय हो । 

– द कन्भर्सेसनबाट