प्रसंग १
आफूले मन पराएको केटीसँग विवाह गर्न खोजेका रुकुम पश्चिमका नवराज विश्वकर्मा भएकै कारण उपल्लो जात भनिएकाबाट लखेटी–लेखटी मारिए । त्यहाँ उनी मात्रै मारिएनन् अन्य पाँचजना पनि मारिए । उनीसहित मारिनुको एउटै कारण थियो ‘तल्लो जात’ । अनाहकमा मारिएका नवराजसहित अन्य मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली !
प्रसंग २
नुवाकोट बेल्कोटगढी नगरपालिकाका देवेन्द्र नेपाल (नाम परिवर्तन)ले विश्वकर्मा थरकी केटी विवाह गरेकै कारण समाजबाट बहिष्कृत हुनुपर्यो । उनी मात्रै होइन, समाजले उनको सिंगो परिवारलाई नै सामाजिक बहिष्कार गर्यो । त्यसपछि उनका बाबुआमा थातथलो छोडेर हिँड्न बाध्य भए । अहिले उनको परिवार जिल्ला सदरमुकाममा डेरा गरी बस्दै आएको छ ।
प्रसंग ३
ककनीका शिव घिमिरे (नाम परिवर्तन)ले पनि विश्वकर्मा थरकी केटीसँग बिहे गरेकै कारण अहिलेसम्म आफ्नी श्रीमतीलाई घर लैजान पाएका छैनन् । कानुनी पेसामा रहेका उनी अन्तर्जातीय विवाह गरेकै कारण परिवारसँग घुममिल हुन सकेका छैनन् ।
यी घटना त प्रतिनिधि मात्रै हुन् । लुुकेका–लुकाइएका यस्ता हजारौँ घटना हाम्रो समाजमा विद्यमान छन् । असोज १ गते अर्थात् आज भगवान् विश्वकर्माको पूजा धुुमधामले भइरहँदा जीवित विश्वकर्माहरू यतिवेला यो वा त्यो बहानामा तड्पिरहेका छन् । वास्तु विद्याका विशिष्ट ज्ञाताको रूपमा मूर्ति पुजिन्छ, तर जीवित विश्वकर्मालाई पैतालामुनि पारिन्छ र बेस्सरी कुल्चिइन्छ ।
हामीले भान्सामा प्रयोग गर्ने चक्कुदेखि ठुलाठुला यान्त्रिक साधनको निर्माण गर्ने विश्वकर्माहरू आज सानो जातको नाममा खुम्चिरहेका छन् । धारा, पँधेरा, पाटीपौवा र मठमन्दिरमा सामूहिकताबाट उनीहरूलाई अलग गरिएको छ । त्यति मात्रै होइन, पानी छोएको निहुँमा होस् अथवा उपल्लो जातिको घरभित्र छिरेको निहुँमा निर्घात कुटपिट भएका छन् । यसरी जिउँदा विश्वकर्मालाई अपमान गरेर मूर्ति पुज्नु कति जायज हो ? यसको जवाफ कसले दिन्छ ?
विश्वकर्मालाई कुजात नाम दिएकाहरू विश्वकर्माको पूजा यसरी गर्छन् कि आफूले प्रयोग गर्ने साधनले कहिले दुःख नदेओस् । कहीँ दुर्घटना नहोस् । आफू र आफ्नो परिवार सदैव सकुशल रहन पाऊँ । आफ्नो स्वार्थ मिलाउनुपर्दा विश्वकर्मा भगवान् हुुन्छन्, नमिल्दा अछुत ।
आज पनि सहरमा डेरा खोज्न जाँदा विश्वकर्माले डेरा पाउँदैनन् । अझै पनि गाउँघरमा विश्वकर्माले खाएका भाँडा अँगारले चोखो बनाइन्छ । आजको विश्व विश्वकर्माकै शिल्पले चलिरहेको छ । तर, मान्छेलाई भने अछुत बनाइएको छ ।
गराइ र बुझाइ गलत हुँदा समाज जातकै नाममा विभाजित बनेको छ । एउटाले आफूलाई सर्वश्रेष्ठ जात मान्छ । अर्काेले आफूलाई कुजात भएर जन्मिनुपरेकोमा धिक्कार्छ । यहाँ विश्वकर्मा पूजा पनि सर्वश्रेष्ठ भन्ने जातले नै गर्छ किनकि उसको त्यहाँ व्यापार चलाउनु छ । तर, त्यही व्यापारमा कामदार रहेको एउटा जिउँदो विश्वकर्मा त्यो पूजामा सरिक हुन पाउँदैन अछुत भएकै कारण ।
आज पनि सहरमा डेरा खोज्न जाँदा विश्वकर्माले डेरा पाउँदैनन् । अझै पनि गाउँघरमा विश्वकर्माले खाएका भाँडा अँगारले चोखो बनाइन्छ । आजको विश्व विश्वकर्माकै शिल्पले चलिरहेको छ । तर, मान्छेलाई भने अछुत बनाइएको छ । एकजना सेलिब्रेटीले केही समयअघि एक ठाउँमा भनेका थिए, ‘मलाई मेरो जातप्रति कुनै गर्व छैन । किनकि मलाई जुन जात बनाइएको छ त्यो जातले सधैँ अपमानित हुनुपर्यो । मैले किन गर्व गर्ने ? म यदि अर्काे जात हुन्थेँ भने यति धेरै अपमानित हुनुपर्थेन ।’
मान्छेले मान्छेलाई कुकुरको व्यवहार गर्ने अनि भगवान् पुज्ने संकीर्ण विचारधारीहरूले बुझ्नुपर्छ कि मान्छे मान्छे हो ता कि जातका आधारमा कोही ठुलो र सानो हुँदैन । केवल कर्मले उसको मूल्यांकन गरोस् । हरेक ठाउँमा स्वार्थको खेती बन्द गरौँ । मूर्ति पुजेर होइन, हरेक मानिसलाई समान व्यवहार गर्यौँ भने मात्र हामी सर्वश्रेष्ठ प्राणी गनिनेछौँ । होइन भने हामी ढोंगी हौँ, मान्छे होइनौँ ।