१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार o९:२७:oo
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिकमा एक ‘बाउट’ जित्ने एक्ला नेपाली मुक्केबाज 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o९:२७:oo

सन् १९८८ को सोल ओलम्पिकमा नेपालबाट पाँच खेलमा १३ खेलाडीले भाग लिएका थिए । बक्सिङमा पाँच पुरुष खेलाडी थिए, तर ५१ केजी तौल समूहका विष्णुबहादुर सिंहले मात्रै एक ‘बाउट’ जिते । बाँकी पहिलो खेलमै हारे । ओलम्पिकमा एक ‘बाउट’ जित्ने उनी एक्ला नेपाली मुक्केबाज हुन् । सिंहले पाराग्वेका पारा इस्पोनोलालाई राउन्ड अफ ६४ मा ५–० ले पराजित गरेका थिए । २४औँ संस्करणको ओलम्पिकपछि बक्सिङमा छनोट खेल प्रारम्भ भयो । त्यसपछि नेपाली बक्सरले ओलम्पिकमा स्थान बनाएका छैनन् । हाल राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक रहेका सिंहले सोल ओलम्पिकको अनुभव नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायसँग सुनाए :

हाम्रो समयमा अहिलेजस्तो सुविधा थिएन । जस्तो व्यवस्था थियो, त्यसैमा प्रशिक्षण गर्नुपर्थ्यो । तर, हामी बक्सिङका खेलाडीले थाइल्यान्ड, पाकिस्तान र भारतमा गएर प्रशिक्षण गर्न अवसर पायौँ ।  

हामीले रसिया, पाकिस्तान र दक्षिण कोरियाबाट आएका कोचबाट प्रशिक्षण लिने अवसर पायौँ । त्यो समयमा बक्सिङ खेलाडीको स्तरअनुसार ए, बी, सी र डी समूह बनाएको हुन्थ्यो । राष्ट्रिय खेलका स्वर्ण, रजत तथा दुई कांस्य जितेका खेलाडीलाई वर्गीकरण गरी टिममा समावेश गरी वर्षभरि क्याम्पमा राखिन्थ्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन एक–आपसमा प्रतिस्पर्धा गराएर खेलाडी छनोट हुन्थ्यो । ओलम्पिक, एसियन तथा साफ खेलकुदका लागि चार समूहबिचको प्रतिस्पर्धाबाट खेलाडी छनोट हुन्थे । 

कुन वेला को पराजित हुन्छ भन्ने थाहा नै हुँदैनथ्यो । सन् १९८८ मा दक्षिण कोरियाले आयोजना गरेको सोल ओलम्पिकमा सहभागी जनाउन खेलाडीको छनोट यसै ‘ए, बी, सी र डी टोलीबिच छनोट भएको थियो । मैले ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेको थिएँ । पहिलो दिन लस एन्जलसमा प्रतिस्पर्धा गर्नुभएका प्रवीण तुलाधरलाई हराएँ । त्यसपछि हरिणलाई हराउँदै ओलम्पिक खेल्ने टोलीमा स्थान पक्का गरेँ । छनोट चरणमा सात मुक्केबाजले स्थान बनाए । यद्यपि, काठमाडौंमा भएको छनोट अन्तिम भने थिएन । नेपालमा रहँदा हामीले बिहान र बेलुका दैनिक दुई घण्टा प्रशिक्षण गरेका थियौँ । आफ्नो तौल समूहमा तलमाथि हुन नदिन मैले निकै ध्यान दिएको थिएँ । खानामा विशेष गरी सुप नै बढी खाइन्थ्यो । साथै, अरू खेलाडीले भन्दा बढी मिहिनेत गरेँ । 

ओलम्पिकको तयारी थाइल्यान्डमा
सोल ओलम्पिकको तयारी थाइल्यान्डको बैंककमा भएको थियो । बैंककमा रहेको एउटा खेलकुद होस्टेलमा नेपाली बक्सिङ टोलीले प्रशिक्षण गरेको थियो । नेपाल र बैंककको प्रशिक्षण फरक रह्यो । नेपालमा रहँदा एक–आपसका खेलाडीबारे राम्रोसँग जानकारी हुन्थ्यो । बैंककमा खेलाडी, स्पाइरिङ पार्टनर र टेकनिक पनि नयाँ पायौँ । यसैअनुसार प्रशिक्षण भयो । कहिले दायाँहातेका राम्रा खेलाडी वा बायाँहाते खेलाडीसँग स्पाइरिङ गर्नुपर्थ्यो । यसले फरक अनुभवको प्रशिक्षण भयो । आफूभन्दा राम्रा खेलाडीले गरिरहेको प्रशिक्षण हेर्थेँ । हामीलाई विदेशी प्रशिक्षक सुरातले बैंककमा प्रशिक्षण दिनुभएको थियो । उहाँको जिम्मेवारी थाइल्यान्डको मुक्केबाजलाई समेत प्रशिक्षण दिनु थियो । 

मेरो हाइट ५.५ फिट भएकाले तौलमा समस्या हुन्थ्यो । यसैले तौल एकनास बनाउन धेरै मिहिनेत गरेँ । बैंककमा नेपाली मुक्केबाजहरूको प्रशिक्षण विश्व बक्सिङ महासंघ (आइवा)का उपाध्यक्षले मोनिटरिङ गर्नुभएको थियो । उहाँले कोरियामा सहभागी हुने अन्तिम पाँच खेलाडीको छनोट गर्नुभयो । चित्रबहादुर गुरुङ र मनोज श्रेष्ठले अन्तिम चरणमा स्थान बनाउन सक्नुभएन ।

सहजै हराएँ पाराग्वेका खेलाडीलाई
नेपाली टोली १५ तारिखमा कोरिया पुगेको थियो । पुगेको भोलिपल्ट बिहानै मेडिकल चेकअप भयो । सबैको तौल नापजाँच भयो । पहिलो दिन मेरो खेल थिएन । मेरो १८ तारिखमा थियो । नेपालबाट डम्बर भट्टको पहिलो खेल थियो । उहाँ बेलायतको मार्क इप्टनसँग ०–५ ले पराजित हुनुभयो । बेलायती मुक्केबाज असाध्यै राम्रो थियो । खेलपछि डम्बर दाजुले मलाई भन्नुभयो, ‘मैले त उसलाई कडा चुनौती दिएँ भने तिमीले भोलि हुने खेलमा सहजै जित्न सक्छौ ।’ उहाँले यसो भनेपछि ओलम्पिकमा केही गर्न सक्ने हिम्मत बढ्यो । 

मलाई भने मेरो विपक्षी कस्तो होला भनी कौतूहल थियो । विपक्षी थाहा हुँदा उसबारे जानकारी लिन सकिन्थ्यो । १८ तारिखमा म र पाराग्वेका खेलाडी एकैपटक आमने–सामने भयौँ । सुरुदेखि नै उसलाई हराउन सक्ने आत्मविश्वास बढेको थियो । हामी दुवैको एउटै हाइट थियो । तर, पाराग्वेको भेरा स्पिनोयलको मसल्स हृष्टपुस्ट थियो । रिङमा प्रतिस्पर्धा गर्न दुवै तयार थियौँ । म ब्लू तथा ऊ रेड कर्नरमा थियो । पहिलो राउन्डमा मेरो बायाँहातको पन्च निकै राम्रोसँग लागेको थियो । जसरी हान्दा पनि अंक आइरहेको थियो । 

दोस्रो राउन्ड सुरु भयो । मैले विचार गरेँ, पाराग्वेका खेलाडीलाई किन तेस्रो चरणसम्म लैजाने । दोस्रोमै सिध्याउनुपर्छ भन्ने एक किसिमले घमन्ड आयो । अर्कोतिर हाम्रा थाई प्रशिक्षकले मलाई ‘इन एन्ड आउट’को इसारा गरिरहनुभएको थियो । बक्सिङमा इन भनेको हारिराख्दाखेरि अंक बटुल्न अगाडि बढ्ने र आउट भनेको खेलाडीले जित्दा छलेर खेल्ने हो । मेरो अंक माथि थियो । यसकारण मलाई गुरुले ‘आउट, आउट, आउट’ भन्नुभएको रहेछ । तर, म तेस्रो चरणमा जाने पक्षमा थिइनँ । उसले मेरो बायाँ साइडमा नराम्रोसँग प्रहार गर्‍यो । त्यसले केही असर भयो । 

तेस्रो चरण हुनुअघि मलाई गुरुले नराम्रोसँग झपार्नुभयो । खुब जान्ने भएर किन आक्रामक खेलेको ? सहजै जित्न सकिन्छ । पाराग्वे र मबिच १९–२० को प्रतिस्पर्धा भइरहेको थियो । यस चरणमा मैले ध्यानपूर्वक खेलेँ । रिङमा म भागी–भागी खेलेँ । कुनै एउटा कर्नरमा लगेर उसलाई मज्जाले मुक्का बर्साएँ । यसपालि गल्ती नगरी पाराग्वेका खेलाडीलाई हराएँ । तीन चरणमै मलाई रेफ्रीले पाँच अंक दिएका थिए ।

उफ ! महिला डाक्टरका अगाडि डोपिङ परीक्षण
सबैभन्दा ठुलो समस्या डोपिङ परीक्षण दिन जाने वेला भयो । बक्सिङमा नेपालले कहिल्यै खेल जितेको थिएन । सोलमा मैले एक खेल जितेँ । तत्कालै म डोपिङ परीक्षण हुने रुमभित्र छिरेँ । रुमभित्र छिर्दा होसहवास नै उडेको जस्तो भयो । त्यहाँ डोपिङ नमुना लिने सबै महिला डाक्टरहरू थिए । फेरि अर्को समस्या ट्वाइलेटमा गएर नमुना दिन नमिल्ने रहेछ । ती महिला डाक्टरहरूका अगाडि नै नमुना दिनुपर्ने नियम बनाएको रहेछ । भएन त मलाई फसाद ! उनीहरूका अगाडि जति प्रयास गरे पनि सानो बोतलमा नमुना संकलन नै भएन । 

भर्खरै खेलेर आएका खेलाडीले शरीरमा भएको सबै पानीको मात्रा पसिनामा बगाएर नै सकाइसकेकाले कसरी तत्कालै नमुना दिन सक्छन् र ? महिला डाक्टरहरूले बोतलमा नमुना राख्न भनिरहेका थिए । उनीहरूका अगाडि कसरी बोतलमा पिसाब फेर्ने । एक किसिमले लाज भयो । हामी नेपाली यस्तो किसिमको खुला संस्कारमा हुर्केका पक्कै होइनौँ । सम्भवतः अन्य विदेशी खेलाडीलाई महिला डाक्टरसामुन्ने पिसाबको नमुना दिने सामान्य हुुन सक्छ । तर मलाई त्यो असामान्य भइरहेको थियो । बल्ल–बल्ल सानो बोतलमा आधा भयो । 

अनि मात्र ज्यानमा सास आएको जस्तो भयो । यसक्रममा बियरको अफर भएको थियो । तर, बियरले खराबी गर्छ भन्ने थाहा थियो । केवल पानी मात्र पिएर आधा बोतल भरेँ । आयोजकले डोपिङ टेस्टका लागि महिला डाक्टरहरूको टोली नै बनाएको थियो । उनीहरूलाई विशेष किसिमको ट्रेनिङ दिइएको थियो । यसैकारण सोलमा महिला डाक्टरहरूका अगाडि नै सबै खेलाडीले डोपिङ परीक्षण दिएका थिए । 

ठुलो कसरतपछि डोपिङ परीक्षणको नमुना दिएर रुमबाट बाहिर निस्केँ । करिब आधा घण्टासम्म मलाई बधाई दिन बाहिर शरदचन्द्र साह र इन्द्रबहादुर शाहीलगायत अन्य विशिष्ट नेपाली खेल पदाधिकारीले प्रतीक्षा गरेको थाहा पाएँ । उहाँहरूले मलाई सोलमा इतिहास रचेको बताउनुभयो । ओलम्पिकमा नेपाली मुम्केबाजले एक बाउट जितेको त्यसै वेला मात्र थाहा पाएँ । 

रेफ्रीका कारण दोस्रो खेल हारेँ
५१ केजी तौल समूहको राउन्ड अफ ३२ मा मेरो प्रतिद्वन्द्वी अमेरिकन खेलाडी अथुर एन्टोनियो जोन्सन थियो । ऊ मभन्दा अग्लो र सिनियर थियो । यद्यपि, रिङभित्र जे पनि हुन सक्छ र मौका मिल्दा हराउन पनि सकिने आत्मविश्वास ममा थियो । बक्सिङ खेल भएको हलमा दक्षिण कोरियाका समर्थकले मेरो पक्षमा समर्थन गरेका थिए । सम्भवतः यस विधाको स्वर्ण एसियन खेलाडीले नै जित्नुपर्ने उनीहरूको मनसाय थियो । प्रतिस्पर्धा सुरु हुनुअगाडि नै कोरिया समर्थकले ‘नेपाल, नेपाल, नेपाल’ भनी हुटिङ गरेका थिए । 

पहिलो राउन्डमा हामी दुईबिच १९–२० को स्थिति थियो । विपक्षी खेलाडी अनुभवी भए पनि मैले प्राप्त मौकामा पन्च दिइरहेको थिएँ । दोस्रो राउन्डमा ममाथि एउटा शक्तिशाली पन्च लागेको थियो । रेफ्रीले १० काउन्ट गरे, रिकभरी हुँदै प्रतिस्पर्धा गरेँ । अब जसरी पनि अंक लिनुपर्ने योजना बनाएँ । रिङको एउटा कर्नरमा मैले ती अमेरिकन खेलाडीलाई मज्जाले मुक्का बर्साएँ । तर, फरक के थियो भने म रिङको कुनाभित्र र ऊ बाहिर थियो । बाहिरबाट हेर्दा अमेरिकन खेलाडीले नेपाललाई बेसरी मुक्का हिर्काएको जस्तो देखिन्थ्यो । तर, भित्रको दृश्य उल्टो थियो । मैले भित्रबाट उसलाई एकपछि अर्को शक्तिशाली मुक्का हिर्काउँदै बसेको थिएँ । 

रेफ्रीले उल्टै म खेल्न नसक्ने देखेर खेल बिचमै रोके । रेफ्रीले ‘एलआरएससिएच’का आधारमा अमेरिकन खेलाडी जोन्सनलाई जिताए । म स्तब्ध भएँ । मज्जाले खेलिरहेको मलाई रेफ्रीले कुनै सोचविचार नगरी नै हराए । फेरि रेफ्रीले निर्णय लिएपछि त्यो नै अन्तिम हुन्छ । मेरा गुरुले पनि रेफ्रीलाई गाली गर्नुभयो । मैले ग्लोब बजाएर त्यसको विरोध जनाएँ । यदि तेस्रो चरणसम्म पुग्दा खेलको निर्णय जे पनि हुन सक्थ्यो । एक किसिमले म राउन्ड अफ ३२ मा रेफ्रीको गलत बुझाइका कारण पराजित भएँ ।

राखेपमा आउँदा नाम मेरो, तर फोटो अर्कै खेलाडीको देखेँ 
ऐतिहासिक प्रदर्शन गरी सोलबाट स्वदेश फर्किएँ । राष्ट्रिय खेलकुद परिषद्मा जाँदा निकै रमाइलो भयो नि । राखेपमा सोल ओलम्पिकमा एक खेल जितेका खेलाडीको तस्बिर देखेँ । नाम मेरो, तर फोटो अर्कै खेलाडी थियो । फोटो झपटसिंह भुजेलको रहेछ । उहाँले पनि सोलमा प्रतिस्पर्धा गर्नुभएको थियो । राखेपका कर्मचारीले सम्भवतः पछाडि सिंह थर देखेपछि झपटको फोटो नै टाँसेको हुनुपर्छ । यसमा सूचनाको कमी भएको पाएँ । मैले ती कर्मचारीलाई यो मेरो फोटो होइन भनेँ । नाम ठिक छ, तर फोटो गलत भनेँ । त्यसपछि यसमा करेक्सन भयो ।  

मोहमद अलीबाट पदक थापेँ
चौथो दक्षिण एसियाली खेलकुद पाकिस्तानमा भएको थियो । त्यो साफ खेलको बक्सिङ उद्घाटन बक्सिङकै महान् खेलाडी मोहमद अलीबाट भयो । बक्सिङ रिङमा उहाँले डेमोस्ट्रेसन गर्नुभयो । विश्व च्याम्पियन खेलाडीको स्किल देख्दा म अचम्ममा परेँ । त्यो उमेरमा पनि युवा अवस्थाकै जोसमा बक्सिङको टिप्स उहाँले दिनुभयो । सानैदेखि उहाँकै खेल हेर्दै बक्सिङ सिकेको थिएँ । प्रत्यक्ष रूपमा मोहमद अलीसँग भेटेर फोटो खिचाउने अवसर पाएको थिइनँ । तर, संयोग कस्तो रह्यो भने बक्सिङको मेरो तौल समूहमा पदक वितरण उहाँबाटै भयो । मैले रजत जितेको थिएँ । मेरो आदर्श र बक्सिङका महान् खेलाडीबाट पदक थाप्दाको क्षण अहिले पनि बताउन सक्ने अवस्थामा छैन । मलाई यस्तो लागेको थियो कि रजत पदकभन्दा पनि मोहमद अलीबाट पदक लिँदाको क्षण सबैभन्दा ठुलो थियो । उहाँसँगै बसेर फोटो पनि लिएँ ।