तार तानेको एक वर्षसम्म बिजुली बाल्न पाएनन् चुरेका स्थानीयले
कैलालीको चुरे गाउँपालिका २ र ४ का दुई दर्जन गाउँबस्तीका बासिन्दाले विद्युत्को पोलमा तार तानेको एक वर्षसम्म बिजुली बाल्न पाएका छैनन् । वडा नम्बर २ का केदार, वसन्तपुर, सल्लेखोला, हिजरे, नौघरे, बेसना, कर्णगिरी र डौठे तथा वडा नम्बर ४ का खैराला, रानीभुगुडा, बन्ड, टाटा, साटा, न्यौन्याल, बैसेनी, पहाडी, खारेपानी, कोट, टुँडिखाल, मलेकुन्डा, तामेगर्भा, बुढागर्भा र न्युरीसैनलगायत गाउँबस्तीमा विद्युत् पुगेको छैन । नेपाल विद्युत् प्राधिकरणले यी बस्तीमा डेढ वर्षअघि पोल गाडेर एक वर्षअघि तारसमेत तानिसकेको छ । तर, अझै विद्युत् छोडेको छैन ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीका अनुसार विद्युत् प्राधिकरणले तार तानिसकेको दुई दर्जन गाउँबस्तीका झन्डै आठ सय परिवारले बिजुली बाल्न पाएका छैनन् । गाउँमा पोल र तार तानेपछि बिजुली बाल्ने आशामा खुसी भएका स्थानीय लामो समयसम्म विद्युत् नछोडिएपछि खिन्न छन् । चुरे– ४, खैरालाका स्थानीय भीम चन्दले तार तानेपछि बिजुली छोड्न प्राधिकरणले चासो नदिएको गुनासो गरे ।
गाउँमा अधिकांश स्थानीयले सोलारबाट उज्यालो बाल्ने गरेका छन् । तर, घाम नलागेको र पानी परेको दिन सोलारले काम नगर्ने भएकाले यो भरपर्दो छैन । ‘सोलारबाट उज्यालो बाल्ने काम मात्र हो । विद्युत्को जस्तो टिभी, फ्रिज चलाउनेलगायत धेरै कुरा गर्न सकिँदैन,’ स्थानीय बस्नेत आधारभूत विद्यालयका शिक्षकसमेत रहेका चन्दले भने, ‘बिजुली छोड्नुप¥यो भनेर वडादेखि विद्युत् प्राधिकरणसम्म पुर्यौँ, अहिलेसम्म सुनुवाइ भएको छैन ।’
प्राधिकरणले तार तानेपछि गाउँमा अधिकांश स्थानीयले बिजुली जोड्न घरमा ‘वाइरिङ’समेत गरिसकेका छन् । वडा नम्बर ४ कै बैसेनीका स्थानीय गौरीलाल दियाकोटीले गत जेठमा तारमा करेन्ट छोडेर परीक्षणसमेत गरिए पनि विद्युत् छोड्न प्राधिकरणले आनाकानी गरिरहेको बताए । उनका अनुसार तार तान्ने काम सकिएसँगै प्राधिकरणले मिटर जडान गर्ने भनेपछि स्थानीयले जेठमै घरमा वाइरिङ गरेका थिए ।
‘हामी सोलारको भरमा छौँ । सोलारले घाम लागे मात्र काम गर्छ । घाम नलागेको दिन मोबाइलसमेत चार्ज गर्न पाउँदैनौँ,’ दियाकोटीले भने, ‘घाम नलागेको दिन सोलार चार्ज नहुँदा टेलिकमको टावरले पनि काम गर्दैन । जसले गर्दा मोबाइल नेटवर्क पनि बन्द हुन्छ ।’ विद्युत् नहुँदा कुटानी–पिसानीका लागि घट्टको भर पर्नुपर्ने बाध्यता छ ।
वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछानेले स्थानीय बासिन्दा विद्युत्को पर्खाइमा रहेको बताए । उनका अनुसार विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले चुनावलगत्तै मिटर जोड्ने भनेको थियो, तर मिटर वितरणको काम अहिलेसम्म अगाडि बढेको छैन ।
‘विद्युत्का पोल राख्न केही टोल छुटेका छन्, छुटेका ठाउँमा पोल राख्न गाउँपालिकाले विद्युत् वितरण केन्द्रमा निवेदन दिइसकेको छ,’ उनले भने, ‘केन्द्रले चुनावपछि छुटेका ठाउँमा पोल जडान र विद्युत् छोड्ने काम सँगसँगै गर्ने भनेको थियो, तर अहिलेसम्म काम अगाडि बढेको छैन ।’ वडा नम्बर २ का वडाध्यक्ष केशवबहादुर साउदले प्राधिकरणले ट्रान्समिटरसमेत जडान गरिसके पनि विद्युत् नछाडेको बताए ।
विद्युतीकरण नभएका यी बस्ती विकट पहाडी क्षेत्रमा पर्छन् । कैलालीका चुरे र मोहन्याल गाउँपालिका पहाडी क्षेत्रमा पर्छन् । यी दुई पालिकाका दर्जनौँ बस्ती विकट छन् जहाँ विकासका न्यूनतम पूर्वाधार पुग्न सकेका छैनन् । गाउँमा कच्ची सडक पुगे पनि पानी पर्दा र बर्खाका वेला यातायात बन्द हुने गरेको वडाध्यक्ष साउदले बताए ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीका अनुसार विद्युत् छोड्न आग्रह गर्दा मिटर नभएकाले जडान गर्न नसकेको प्राधिकरणले बताउने गरेको छ । ‘यो माग लिएर विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरिया तथा धनगढी वितरण केन्द्रमा पटक–पटक गयौँ । मिटर छैन भन्छन्,’ अध्यक्ष बोगटीले भने, ‘मिटरका लागि पैसा चाहिन्छ भने गाउँपालिकाले बजेट विनियोजन गर्छ पनि भन्यौँ ।’ एउटा बस्तीमा एउटा मिटर जडान गरेर सबैका घरमा विद्युत् जडान गर्ने र नयाँ मिटर नआउँदासम्म उक्त मिटरमा आएको शुल्क सबैले बराबर तिर्ने गरी मिटर जडान गर्नेबारे छलफल भइरहेको उनले बताए । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले अहिले मिटरको समस्या रहेकाले चुरेका तार तानेका बस्तीमा विद्युत् छोड्न नसकेको जनाएको छ ।
प्राधिकरण भन्छ– मिटर नहुँदा विद्युत् छाड्न सकिएन
नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले अहिले मिटरको समस्या रहेकाले चुरेका तार तानेका बस्तीमा विद्युत् छोड्न नसकेको जनाएको छ । वितरण केन्द्र प्रमुख सन्तोष पन्तले केही समययता अभाव रहेको मिटर आउन अझै करिब एक महिना लाग्ने बताए । उनका अनुसार चुरेका वडा नम्बर २ र ४ का तार तानेका बस्तीमा विद्युत् जडान गर्नुपर्ने घरधुरी संख्या करिब आठ सय छ । ‘त्यो ठाउँमा लाइन छोड्नुपर्छ भनेर कुरा भइरहेको छ, तर अहिले देशैभरि मिटर अभावको समस्या छ । मिटर आएपछि जडान गरेर लाइन छोड्छौँ,’ उनले भने । परीक्षण गर्ने क्रममा गत २८ जेठमा तारमा छोडिएको करेन्ट लागेर चुरे– २ का ३१ वर्षीय खगेन्द्र तारामी मगर घाइते भएका थिए । वडाध्यक्ष साउदका अनुसार करेन्टले जलेपछि उनको हात र एउटा खुट्टा काटिएको छ ।