
उच्च अदालत जनकपुरमा विचाराधीन रहेको निहारिका राजपुत प्रकरणमा गरिएको डिएनए परीक्षणको नतिजा आज प्राप्त भएको छ । राजपुतका छोरा र प्रतिवादी शिव श्रेष्ठको डिएनए ‘म्याच’ देखिएको उच्च अदालत जनकपुरकी प्रवक्ता नुतन झाले जानकारी दिइन् ।
‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट आज मात्रै डिएनए परीक्षणको प्रतिवेदन आएको छ,’ प्रवक्ता झाले नयाँ पत्रिकासँग भनिन्, ‘प्रतिवेदनमा ९९.९९९ प्रतिशत डिएनएन म्याच भएको देखिएको छ । परिणाम नआइसकेकाले अदालतले २५ कात्तिकमा साधारण तारेख तोकेको थियो । अब त्यही तारेखका दिन यो मुद्दाको सुनुवाइका लागि अर्को पेसी तोकिनेछ ।’
उच्च अदालत जनकपुरले निहारिकाकाे मागबमोजिम नै उनीबाट जन्म भएको बालक र बलात्कार आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । आदेशबमोजिम गत २४ भदौमा दुवैको डिएनए परीक्षण भएको थियो । निहारिकाले आफूमाथि भएको जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् । तर, आरोपित श्रेष्ठले भने आफूहरूबीच प्रेम सम्बन्धका क्रममा सहमतिमै यौन सम्बन्ध भएको बयान दिएका छन् ।
जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि आफूमाथि अन्याय भएको भन्दै निहारिका पछिल्लो समय पटकपटक काठमाडौंमा दुधे बालकसहित अनशन बसेकी थिइन् । त्यसपछि उनको माग सम्बोधन गर्ने सरकारसँगको सहमतिपछि अनशन तोडिएको र डिएनए परीक्षणको मागलाई अदालतले सम्बोधन गरेको थियो ।