मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १६ शुक्रबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १६ शुक्रबार o६:२३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १६ शुक्रबार o६:२३:oo

३३ जिल्लाका ५१ लाख ८१ हजार मतपत्र ढुवानी 

स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकाका विभिन्न पदमा दर्ता भएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारको नामावली प्रकाशन भएको छ । स्थानीय तह निर्वाचनमा ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

देशका सात सय ५३ वटै स्थानीय तहमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले ११ र १२ वैशाखमा दर्ता भएका उम्मेदवारीको सूची बिहीबार प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ । बिहीबार राति आठ बजेसम्म आयोगको प्रणालीमा मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । 

आयोगको निर्वाचन कार्यतालिकाअनुसार १६ वैशाखको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । त्यसै दिन बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । 

‘अहिल्यै निर्विरोध निर्वाचित भन्न मिल्दैन’ 
आयोगले एउटा पदमा एकजनाको मात्र उम्मेदवारी दर्ता भएको अवस्थामा अहिल्यै उम्मेदवारलाई निर्विरोध निर्वाचित भन्न नमिल्ने बताएको छ । आयोग सहप्रवक्ता सूर्यप्रसाद पौडेलका अनुसार कुनै व्यक्तिको मनोनयन दर्ता भएपछि त्यसविरुद्ध दाबी–विरोध उजुरी पर्न सक्ने र उजुरी पास गर्न सके मात्र उक्त व्यक्ति उम्मेदवारका लागि योग्य हुन्छ । त्यसैले एकजना मात्रै उम्मेदवारको मनोनयनपत्र दाखिला भएको अवस्थामा सीधै निर्विरोध भन्न नमिल्ने उनको भनाइ छ । 

‘उम्मेदवार एकजना भए पनि कानुनको कसीमा कानुनको द्वारबाट छिर्न सक्नुपर्छ । उहाँहरूप्रति कुनै कसुर वा आरोपमा कसैले दाबी–विरोध गर्न सक्छ । यदि दाबी–विरोधको प्रक्रियाबाट पास हुनुभयो भने त्यसपछि मात्र योग्य उम्मेदवार हुनुहुन्छ,’ सहप्रवक्ता पौडेलले भने, ‘त्यसैले जे–जति निर्विरोध भनिएको छ, त्यो व्यावहारिक रूपमा भनिएको होला, तर आयोगले त्यसरी निर्विरोध भएको भनेर घोषणा गरेको छैन र निर्वाचन कानुनले पनि त्यसलाई मान्दैन । दाबी–विरोधको प्रक्रिया सम्पन्न भइसकेपछि योग्य ठहरिनुभयो भने, एकजना मात्रै उम्मेदवार भएको अवस्थामा निर्विरोध हुने व्यवस्था छ ।’

३० वैशाखमा सार्वजनिक बिदा दिन आयोगको आग्रह
आयोगले स्थानीय तह निर्वाचनको दिन ३० वैशाखमा देशैभर सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । मुख्यसचिवमार्फत निर्वाचनको दिन देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरिएको आयोग सहप्रवक्ता पौडेलले जानकारी दिए । त्यसैगरी, आयोगले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न २८ देखि ३० वैशाखसम्म तीन दिन मतदानस्थल र मतदान केन्द्र तोकिएका विद्यालयमा भौतिक रूपमा विद्यार्थीको उपस्थिति नगराउन पनि सरकारलाई आग्रह गरेको छ । 

हुम्लामा पुग्यो ३८ हजार मतपत्र

स्थानीय तह निर्वाचनअन्तर्गत आगामी ३० वैशाखमा हुने मतदानका लागि ३८ हजार मतपत्र हुम्ला पुगेको छ । मतपत्रसँगै निर्वाचनमा प्रयोग हुने अन्य सामग्रीसमेत छन् । नेपालगन्जबाट दुई दिन लगाएर ३८ हजार मतपत्रलगायत मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका निर्वाचन सामग्री सिमकोट आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहीबार हेलिकोप्टरबाट ३८ हजार मतपत्र ल्याइएको हो । बुधबार निर्वाचनका अन्य सामग्री ल्याइएको थियो । निर्वाचन सामग्रीमा ८५ लिटरका एक सय २८ मतपेटिकासमेत छन् ।