१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Monday, 30 September, 2024
नवीन अर्याल काठमाडाैं
२o७९ बैशाख ६ मंगलबार o६:२७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटकले दुई सय डलर नगद नै बोक्नुपर्ने सूचना फिर्ता

त्रिभुवन विमानस्थलमा भुक्तानी सहज बनाउन एउटा एटिएम र दुईवटा पिओएस मेसिन थपिए

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार o६:२७:oo

अध्यागमन विभागले विदेशबाट आउने पर्यटकलाई दुई सय अमेरिकी डलर नगद नै बोकेर आउन जारी गरेको सूचना फिर्ता लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अध्यागमन कार्यालयले आइतबार नेपालमा आएपछि ‘अनअराइभल भिसा’ लिने पर्यटकलाई नगद नै बोकेर आउन सार्वजनिक सूचना जारी गरेको थियो । 

विमानस्थलमा भिसा रकम संकलन गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंकले सोमबार आगमन कक्षमा एटिएम मेसिन राखिसकेको छ । यस्तै, अन्तर्राष्ट्रिय कार्डमार्फत रकम भुक्तानी सहज बनाउन दुईवटा पिओएस मेसिन थपेर ६ पुर्‍याएको बैंकका डेपुटी जनरल म्यानेजर देवेश लोहनीले बताए । विमानस्थलमा बैंकले पर्यटकसँग नगद वा पिओएस मेसिनबाट अन्तर्राष्ट्रिय कार्डमार्फत रकम संकलन गर्दै आएको थियो ।

चारवटा पिओएस मेसिनले नथेग्दा वा कार्डबाट रकम भुक्तानी नभएको खण्डमा पर्यटकले नजिकै रहेको प्रभु बैंकको एटिएमबाट रकम झिकेर भिसा शुल्क तिर्ने गर्थे । तर, विमानस्थलमा रहेको एक मात्र एटिएम मेसिन एक वर्षदेखि प्रभावकारी नहुँदा पर्यटकले दुःख पाउँदै आइरहेको अध्यागमन कार्यालयको दाबी छ ।‘हामीले पहिला पनि एटिएम राख्न खोज्दा दिइएको थिएन, समस्या बाहिर छताछुल्ल भएपछि एटिएम मेसिन राख्न भनियो,’ डिजिएम लोहनीले भने, ‘हामीले पनि आजै राख्न सक्छौँ भनेर एक दिनमै एटिएम सेवा उपलब्ध गरायौँ ।’ 

राष्ट्रिय वाणिज्य बैंकले यसै हप्ताभित्र डिपार्चर कक्षमा पनि एटिएम मेसिन राख्ने भएको छ । ‘पर्यटक फर्किंदा ओभरस्टे भएको खण्डमा फाइन तिर्नुपरेमा अध्यागमनमा रकम बुझाउनुपर्छ, तर डिपार्चर कक्षमा पैसा झिक्ने एटिएम नहुँदा समस्या भइरहेको थियो,’ टिआइएका प्रवक्ता टेकनाथ सिटौलाले भने, ‘हामीले राष्ट्रिय वाणिज्य बैंकलाई डिपार्चर टर्मिनलमा पनि एउटा एटिएम मेसिन राख्न भनेका छौँ ।’

अध्यागमनले विमानस्थलमा अनलाइन भुक्तानी प्रणाली चुस्त नभएको भन्दै पर्यटकलाई नगद बोकेर ल्याउन सूचना जारी गरेपछि सर्वत्र विरोध भएको थियो । सोमबार गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए । पर्यटन क्षेत्रका पाँचवटा व्यावसायिक संस्थाले संयुक्त विज्ञप्ति जारी गरेर तत्काल विमानस्थलमा एटिएम र पिओएस मेसिन थपेर अन्तर्राष्ट्रिय डेबिट तथा क्रेडिट कार्डबाटै सहज रूपमै भिसा शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउन भनेका थिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटेल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान, नेपाल पर्वतारोहण संघ (एनएमए) र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका थिए । 

टिआइएका प्रवक्ता सिटौलाले भोलिका दिनमा एटिएम मेसिनले नथेग्ने अवस्था आएमा अर्को बैंकलाई पनि एटिएम राख्न लगाउने प्रतिबद्धता जनाए । अहिले विमानस्थलमा रहेको प्रभुको एक मात्र एटिएमले कामै नगरेको उनको भनाइ छ । ‘प्रभुले एटिएम चुस्त रूपमा चलाउन खासै चासो देखाएन, अब प्रभुको भर पर्नुको अर्थ रहेन,’ उनले भने, ‘हामीले प्रभुलाई कि राम्रोसँग सेवा दिनुहोस्, होइन भने एटिएम मेसिन हटाउनुहोस् भनेर चिठी काटिसकेका छौँ, सम्भवतः प्रभुको पनि केही न केही रेस्पोन्स आउला ।’ अब पर्यटकले नेपाल आउँदा नगद नै बोकेर आउनुपर्ने अवस्था नरहने उनको दाबी छ ।