१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Wednesday, 26 June, 2024
सिद्धार्थ भाटिया
२o७८ चैत ६ आइतबार o८:११:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘द कस्मिर फाइल्स’ मुस्लिमविरुद्धको प्रपोगान्डा हतियार

‘द कस्मिर फाइल्स’ हेरिरहँदा यो फिल्म मुसलमानविरुद्ध उत्तेजना जगाएर एक विशेष माहोल सिर्जना गर्ने उद्देश्यले बनाइएको महसुस हुन्छ 

Read Time : > 2 मिनेट
सिद्धार्थ भाटिया
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार o८:११:oo

नुरेम्बर्गमा सात लाख नाजी समर्थकको भेलामाथि लेनी रिफेनस्टाहलले सन् १९३५ मा बनाएको ‘ट्राइम्फ अफ द विल’ अहिलेसम्मको सबैभन्दा महान् वृत्तचित्रमध्ये एक हो । तर, ट्राइम्फ अफ द विल सिनेमामा मात्र नभई प्रपोगान्डामा पनि ‘मास्टर क्लास’ मानिन्छ । किनकि, यसले आदर्शतम जर्मन पुरुषत्व (गोरो, निलो आँखा भएको तथा बलिष्ठ) र नाजी जर्मनीको असाधारण संगठनात्मक कौशलको चित्रण गर्छ । 

हिटलर आफैँले सो फिल्म बनाउन अह्राएका थिए र फिल्मका कार्यकारी निर्मातामा उनको नाम पनि छ । व्यावसायिक फिल्मकी अभिनेत्री रहेकी रिफेनस्टाहल हिटलरकी चुनिएकी निर्देशक र उनको सत्ताको महान् प्रपोगान्डाकारी थिइन् । उनले अर्को प्रशंसित वृत्तचित्र ओलम्पिया (१९३८) सन् १९३६ मा जर्मनीमा आयोजित ओलम्पिकमा आधारित थियो । यसले नाजी जर्मनीको सफलतालाई विश्वसामु देखाउने प्रयास गरेको छ । यो वृत्तचित्रपछि उनको विश्वव्यापी प्रशंसा भयो र उनले विभिन्न नयाँ फिल्म टेक्निकको आविष्कार गरेबापत कैयौँ पुरस्कार पाइन् । रिफेनस्टाहलको नाम महान् फिल्मकर्मीका रूपमा लिइन्छ । साथमा उनी एक कर्मठ प्रपोगान्डाकारी पनि थिइन् ।

विवेकरञ्जन अग्निहोत्रीमा भारतीय सत्तारुढ दल भाजपाले आफ्नै रिफेनस्टाहल भेट्टाउनेछ, भलै अग्निहोत्री रिफेनस्टाहलको गुणस्तरभन्दा धेरै तल छन् । द कस्मिर फाइल्स फिल्म बनाएसँगै अग्निहोत्री भाजपाका सबैभन्दा प्रिय निर्देशक बनेका छन् । फिल्मको सन्देश र सौन्दर्य सो पार्टीको सन्देश र सौन्दर्यसँग एकदम मिल्दोजुल्दो छ । यो कुरा प्रधानमन्त्री नरेन्द्र मोदी र उनका अनुयायीको पूर्ण समर्थनले देखाउँछ । 

भारतका प्रधानमन्त्रीले पछिल्लोपटक कहिले फिल्मको समर्थन र तिनको आलोचकविरुद्ध त्यति नै प्रखर रूपमा बोले ? भाजपाको सरकार भएका राज्यले त फिल्मलाई कर छुट दिएका छन् । द कस्मिर फाइल्सले सन् १९८९ मा सुरु भएको विद्रोहपछि आतंकवादी आक्रमणको सामना गरेका कस्मिरी पण्डितहरूको कस्मिरबाट भएको पलायनको कथा भन्छ । हजारौँ कस्मिरी पण्डित आफ्नो सुरक्षाका लागि घरबार छाडेर भारतका अन्य सहरमा छरिएका थिए । 

त्यसवेला मारिने कस्मिरी पण्डितको संख्याबारे अलग–अलग समूहले फरक–फरक तथ्यांक दिने गरेका छन् । कस्मिरी पण्डित संघर्ष समितिका अनुसार सन् १९९० देखि २०११ सम्म २९९ मारिएका छन्, जसमध्ये सात प्रतिशत पहिलो वर्ष नै मारिएका छन् । त्यसयता मर्नेको संख्या थपिएर ६५५ पुगेको यो समितिले बताउँछ । तर, अरू समूहले कुल मर्ने पण्डितको संख्या ७०० देखि १३०० सम्म दिने गर्छन् । फिल्मले भने त्योभन्दा धेरै मरेको उल्लेख गरेको छ । फिल्मले कस्मिरी पण्डितको पलायनको दोष कंग्रेस, उदारवादी, मानवअधिकार कार्यकर्ता, नक्सल समर्थक र पक्कै पनि मुस्लिमलाई दिन्छ । अग्निहोत्रीका अनुसार दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) त भारतका शत्रुहरूको अड्डा हो । यो एकदम चर्को स्वरमा र बारम्बार भनिन्छ । तर, यस क्रममा तथ्यहरूलाई भने बेवास्ता गरिन्छ । 

अग्निहोत्रीले कस्मिरी पण्डितको स्थितिका लागि राजीव गान्धीलाई दोष लगाएका छन् । जब कि सत्य के हो भने त्यसवेला केन्द्रमा भाजपाको समर्थनमा भिपी सिंहको सरकार थियो । कस्मिर राज्यमा गभर्नर शासन थियो र गभर्नर थिए भाजपाद्वारा समर्थत जगमोहन (जो सन् १९९६ मा सोही पार्टीमा सामेल भए) । उनले पूर्ण शक्तिमा राज्यमा शासन गरेका थिए । उनलाई प्रश्न गर्ने कुनै राज्य सरकार थिएन ।

फिल्मले कुनै ऐतिहासिक सन्दर्भ दिँदैन । त्यसवेला राज्यको बलियो पार्टी नेसनल कन्फरेन्सका सदस्यसहित सयौँ मुस्लिम पनि आतंकवादी आक्रमणमा मारिएका थिए । तर, यो तथ्य फिल्ममा कतै उल्लेख छैन । फिल्मभित्र एउटा सुझाब पनि छ, यदि भारतीय संविधानको धारा ३७० सन् १९८९ अघि नै हटाइएको भए पण्डितहरूको पलायन र हत्या हुने थिएन । सम्पूर्ण फिल्म नै आक्रोशित ‘ह्वाट्सएप गाली’ जस्तो लाग्छ, जहाँ तथ्यहरूको कुनै वास्ता छैन । हत्याको मात्रा बढाइचढाइ गरिएको छ । सायद अग्निहोत्रीलाई लाग्दो हो, ‘नरसंहार’ शब्दले संख्यालाई मात्र इंगित गर्छ । फिल्मको कथ्य भाजपाको विश्वदृष्टिकोण र तिनले भन्ने गरेका राष्ट्रका शत्रुहरूको सूचीसँग स्पष्ट मेल खान्छ । 

यो फिल्म मुसलमानविरुद्ध उत्तेजना जगाएर एक विशेष माहोल सिर्जना गर्न बनाइएको हो । फिल्म हेर्दा ‘हत्यारा मुसलमान’विरुद्ध आक्रोशको भावना रोक्न कठिन हुन्छ । अग्निहोत्रीका लागि उनका शत्रु र ईष्र्यालु प्रतिद्वन्द्वीको सूची त्यहीँ रोकिँदैन । उनको आक्रोश आफ्नो व्यावसायिक रूपमा हिट फिल्मलाई नस्विकार्ने फिल्म उद्योग, मिडिया र फिल्म आलोचकप्रति पनि लक्षित छ । फिल्मले सिर्जना गरेको हल्ला, जुन केही अग्र्यानिक र केही निर्मित छन् । त्यसबारे केही भन्नैपर्ने हुन्छ । उनले हालै अमेरिकाको रोड आइल्यान्ड राज्यले आफ्नो फिल्मका कारण कस्मिर नरसंहारलाई आधिकारिक रूपमा मान्यता दिएको दाबी गरे । यो दाबी पनि सत्य नभएको फ्याक्टचेकरले बताएका छन् ।

चलचित्रका दर्शकले फिल्म हलमै चर्का राष्ट्रवादी नारा लगाएका रिपोर्ट आइरहेका छन् । फिल्मले दर्शकको भावनालाई प्रभावित बनाउँछ । पक्कै पनि प्रधानमन्त्री र कैयौँ राज्यका मुख्यमन्त्रीको प्रवद्र्धनले फिल्मलाई सहयोग पुगेको छ, तर त्यो नभएको भए पनि अग्निहोत्रीले उनको प्रचार तथा आत्म प्रवद्र्धन सीपले फिल्म चलाउने थिए । भाजपाले फिल्मबाट फाइदा लिनेमा शंका छैन । यसले उनीहरूलाई केन्द्र र कस्मिरमा केन्द्र शासन हुँदा पनि पण्डितले किन न्याय पाउन सकेनन् भन्ने प्रश्नको सम्बोधन गर्न मद्दत गर्नेछ ।

अधिकांश कस्मिरी पण्डितले भारत र विश्वका अन्य भागमा आफ्ना लागि सफल जीवन बनाएका छन् । उनीहरू अझै पनि कुनै न कुनै प्रकारको न्याय चाहन्छन् । तर, अहिलेसम्म कुनै पनि सरकारले न्याय दिने रुचि देखाएको छैन । यी जटिलता अग्निहोत्रीका लागि होइनन् । उनको मनसाय त उनमा रहेका केही आग्रह र धेरै पूर्वाग्रहलाई प्रस्तुत गर्नु थियो । र, यसमा उनी सफल भइरहेका छन् । उनका झन् उग्र फिल्म अझै आउनेछन् । द वायरबाट

ad
ad
ad
ad