१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Wednesday, 26 June, 2024
सिद्धार्थ भाटिया
२o८o पौष ११ बुधबार १o:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भाजपाका वृद्ध नेताको अपमान र आजको साम्प्रदायिकता

Read Time : > 2 मिनेट
सिद्धार्थ भाटिया
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार १o:o५:oo

राम मन्दिर कोषले भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताद्वय लालकृष्ण अडवाणी र मुरलीमनोहर जोशीलाई २२ जनवरीमा श्रीराम जन्मभूमि मन्दिर उद्घाटनमा सरिक नहुन ‘आग्रह’ गरेको छ । कोषका अधिकारी घरका ‘ज्येष्ठ’ सदस्य भएकाले तिनको उमेर एवं स्वास्थ्यलाई मध्यनजर गर्दै उद्घाटनमा नआउन सुझाव दिइएको बताउँछन् । अडवाणी ९६ वर्षका छन् भने जोशीले अर्को महिना ९० वर्षमा टेक्नेछन् । तर, स्वास्थ्य एवं उमेर मामिला विश्व हिन्दू परिषद् (विएचपी) का लागि चासोको विषय बनेन । उसले भने नेताद्वयलाई निम्तो दिएको छ । यस्तो अवस्थामा उद्घाटनमा सरिक हुने वा नहुने निर्णय नेताद्वयकै हातमा छ । के नेताद्वय उद्घाटनमा सरिक होलान् ? 

वास्तवमा यी दुई नेता विशेषतः अडवाणीको शक्ति क्षीण भएको छ । अडवाणी तिनै व्यक्ति हुन्, जसले राम जन्मभूमि आन्दोलन चलाएका थिए र उनको नेतृत्वको सन् १९९० को यात्राले आउँदो जनवरीमा हुने श्रीराम जन्मभूमि मन्दिरको उद्घाटन सम्भव भएको हो । उनले त्यसवेला टोयोटा गाडीलाई रथ बनाएर अभियान चलाई चार सय वर्ष पुरानो मस्जिद भत्काउनमा योगदान पु¥याएका थिए । सो रथयात्राले भड्काएको हिंसामा कैयौँ मानिस मूलतः मुसलमान प्रभावित भएका थिए । डिसेम्बर १९९२ मा मस्जिदलाई ध्वस्त पारिँदा मुरलीमनोहर जोशीले उमा भारतीसँग अँगालो हालेको तस्बिर निकै चर्चित भएको थियो । मस्जिद ढलेपछि मुसलमानविरोधी हिंसा मूलतः मुम्बईमा निकै चर्किएको थियो । 

अहिले मानिसका घरेलु ह्वाट्सएप समूहमा चर्चा हुने साम्प्रदायिक विषाक्तताको जरो लालकृष्ण अडवाणीको २५ वर्ष पुरानो धर्मान्ध रथयात्रामा भेटिन्छ

यसको राजनीतिक प्रतिफल पनि सतहमा देखिन थाल्यो अर्थात् सन् १९९५ मा महाराष्ट्रमा शिव सेना–भाजपा सरकार बन्यो । लगत्तै सन् १९९६ मा अटल विहारी बाजपेयीको नेतृत्वमा केन्द्रमा भाजपाको गठबन्धन सरकार बन्यो । सन् २००४ सम्म बाजपेयी सत्तामा रहे । १० वर्षपछि नरेन्द्र मोदी सत्तामा पुगे र यसैवेला सर्वोच्च अदालतले मस्जिद भत्काउने उद्दण्ड भिडलाई कानुनी वैधता दिँदै मन्दिर निर्माणको बाटो खोलिदियो ।  

  यी घटनाक्रमलाई हेर्दा राम मन्दिर निर्माणको श्रेय अडवाणीलाई जान्छ, जुन श्रेय प्रधानमन्त्री नरेन्द्र मोदीले लिन खोजिरहेका छन् । वास्तवमा मोदीको उदयको श्रेय पनि अडवाणीलाई नै जान्छ । तसर्थ, मन्दिर उद्घाटनमा नबोलाउँदा अडवाणीलाई पक्कै पनि पीडा हुन्छ होला । सन् २००२ को गुजरातको मुसलमानविरोधी हिंसामा मोदीलाई समर्थन गरेका अडवाणी मोदी प्रधानमन्त्री भएपछि भाजपामा उपेक्षित भए । पार्टीमा अप्रासंगिक ‘मार्गदर्शक मण्डल’ बनाइयो, जसमा अडवाणी र उनका उमेर समूहका नेतालाई राखियो र अन्ततः सार्वजनिक वृत्तिबाट यी नेता ओझेल भए । यो उपेक्षाले एक पुस्तालाई वृद्ध नेताको भूमिकाबारे अनभिज्ञ बनाएको छ ।

अडवाणी र जोशीजस्ता भाजपाका वृद्ध नेताप्रति भएको स्पष्ट अनादरबीच केही प्रश्न भने उठ्छन्, के हामीले भाजपाको आफ्ना वृद्ध नेताप्रतिको व्यवहारबाट निराश हुनुपर्ने हो ? के नेताद्वयलाई आफ्नो कडा परिश्रमको नतिजा हेर्न आमन्त्रित गर्नु हुन्नथ्यो ? वा पार्टीलाई नेताद्वयको उमेर र स्वास्थ्यबारे साँच्चै चिन्ता लागेको हो ?

पत्रकारमाझ अडवाणी र भाजपाका अन्य वृद्ध नेता आफ्नो शिष्टाचारका लागि परिचित छन्, तर यसका बाबजुद पनि यी वृद्ध नेताप्रति सहानुभूति राख्न सकिँदैन । विभाजनकारी रथयात्रा र यसपछिको सम्झना अझै जीवन्त छन् । रथयात्राले समाजको सबैभन्दा अँध्यारो पक्षलाई उजागर गर्दै भारतको धर्मनिरपेक्षताको मूल्य–मान्यतालाई गम्भीर रूपमा क्षति पुर्‍याएको थियो । 

यी वृद्ध नेताका वेलामा सुरु भएको रथयात्रा र मस्जिदभञ्जन साम्प्रदायिक उदयको कारण बन्यो । यो विष सहरका गल्लीमा हिंसाका रूपमा मात्रै देखा परेन, बरु यो पढेलेखेका सहरिया हिन्दू युवामाझ पनि देखिन थाल्यो । सहरी हिन्दू भद्रभलादमीका शिष्ट भनिएका बैठकमा भारतलाई ‘आफ्नो मुलुक’ बनाउनुपर्छ भन्ने दाबीबारे छलफल हुन थाल्यो । अल्पसंख्यकविरोधी भावना खुलमखुल्ला व्यक्त हुन थाल्यो । अहिले मानिसका घरेलु ह्वाट्सएप समूहमा चर्चा हुने साम्प्रदायिक विषाक्तताको जरो आजभन्दा २५ वर्षपहिलेको समयमा भेटिन्छ, जब अडवाणीको धर्मान्ध रथयात्रा चलिरहेको थियो ।

आजका दिनमा हामी जे भएका छौँ र जताउन्मुख भएका छौँ, त्यसले यी वृद्ध नेतामा सादगीपन देखाउन सक्छ वा तिनका दिनलाई निर्दोष देखाउन सक्छ । तर, यो गलत बुझाइ हो । रथयात्रा पनि सत्ताकै लागि गरिएको थियो र यो केही हदसम्म सफल पनि भयो । उसो त वाजपेयीको गठबन्धन सरकारका वेला नै शिक्षा, इतिहास र संस्कृतिमा हेरफेर ल्याउने प्रयास नभएको होइन, तर यी प्रयासमा गठबन्धन साझेदारको अंकुश लागेको थियो । त्यसवेला राज्यसंयन्त्र र अन्य संस्था पनि गलिसकेका थिएनन् । पत्रकारिता बदनाम थिएन । न्यायपालिका बलियो थियो र संसद्मा प्रश्न उठ्थ्यो । र, भारतका आमजनताले वाजपेयी सरकारको ‘इन्डिया साइनिङ’को ठूला दाबी स्विकारेनन् र सन् २००४ मा भाजपालाई पराजित गरे ।

आज न कुनै राहत छ, न कुनै नियमन वा सन्तुलन छ । अधिकांश मिडियाले ‘त्वं शरणम्’ गर्न थालिसके । अदालत थला परिसकेको छ । विपक्षी दल एकत्रित देखिँदैनन् । सबैभन्दा डरलाग्दो के छ भने आमभारतीय आफ्ना हितविरुद्ध गए पनि सरकार र नरेन्द्र मोदीको भक्तिभावमा मग्न छन् । यो सबै परिस्थिति सन् १९९० को अडवाणीको रथयात्राकै कारण भएको हो । समकालीन भारतका लागि जिम्मेवार ज्येष्ठ नेताको अनादर तिनकै शिष्यबाट हुन्छ भने त्यतिवेला सहानुभूति व्यक्त गर्न सकिँदैन । भाजपाका यी वृद्ध केवल आफ्नै कर्मको परिणाम व्यहोरिरहेका छन् ।
(भाटिया द वायरका संस्थापक सम्पादक हुन्)  द वायरबाट

ad
ad
ad
ad