Skip This
मोदीले आफूलाई ईश्वरको अवतार भन्नुको अर्थ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
सिद्धार्थ भाटिया
२o८१ जेठ १४ सोमबार १o:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मोदीले आफूलाई ईश्वरको अवतार भन्नुको अर्थ

Read Time : > 2 मिनेट
सिद्धार्थ भाटिया
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:१४:oo

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो आत्मविश्वासका लागि चिनिन्छन् र उनी आफ्ना उपलब्धिको बखान गर्न हिचकिचाउँदैनन् । उनी आफ्ना बारेमा बोल्दा आफूलाई तेस्रो व्यक्तिका रूपमा इंगित गर्छन् । बारम्बार प्रधानमन्त्री नरेन्द्र मोदीले गर्वसाथ यस्ता उदाहरण सुनाउँछन्, जहाँ उनी आफूले नवीन विचार व्यक्त गरेर विज्ञहरूलाई पनि प्रभावित पारेको दाबी गर्छन् । ‘रडारलाई छल्न सकिने भएकाले’ बादल लागेका वेला पाकिस्तानको बालाकोटमा जवाफी हवाई आक्रमण गरेको उनको दाबीलाई उदाहरणका रूपमा लिन सकिन्छ । 

आफ्नो उच्च हैसियत जनाउने हालैको नयाँ दाबीमा प्रधानमन्त्री मोदीले आफ्नो अस्तित्व सामान्य व्यक्तिको जस्तो जैविक घटनामा मात्रै निहित नभएको भनेर धेरै अवसरमा दृढतापूर्वक घोषणा गरेका छन् । विशेषतः आफ्नी आमाको निधनपछि आफूलाई पृथ्वीमा एक विशेष उद्देश्य पूरा गर्न ईश्वरीय शक्तिले पठाएको हो भन्नेमा उनी ‘बढ्दो रूपमा विश्वस्त’ हुँदै गइरहेका छन् । उनी आफ्नो ईश्वरीय मिसनका लागि आफूभित्र रहेको उल्लेखनीय ऊर्जालाई श्रेय दिन्छन् । टेलिभिजनमा एक चाटुकार पत्रकारलाई आफूलाई ईश्वरले पठाएको बताएपछि उनले विभिन्न अन्तर्वार्ताकर्तामाझ यो दाबीलाई दोहो¥याइरहेका छन् ।

यद्यपि आफूलाई विश्वमा पठाउने सर्वशक्तिमान ईश्वरका उद्देश्यबारे भने मोदी हामीलाई केही बताउँदैनन् । के ईश्वरको उद्देश्य प्रधानमन्त्री नरेन्द्र मोदीका व्यापारिक साथीले पहिलेभन्दा धेरै पैसा कमाऊन् भन्ने हो ? वा के मोदीले मुसलमानलाई दोस्रो दर्जाको नागरिक बनाऊन् भन्ने हो ? अथवा उनले पुरातनपन्थी अभ्याससहित भारतलाई हिन्दू राज्य बनाऊन् भन्ने हो ? सामान्यतया आफू ईश्वरीय अवतार हो भन्ने बारम्बारको दाबी गर्ने मानिसलाई मनोचिकित्सकीय उपचार आवश्यकता पर्छ । तर, एक ठूलो राष्ट्रका प्रधानमन्त्रीका लागि यो उपाय सम्भव छैन ।

मोदीवरिपरि केन्द्रित व्यापक मिडिया कभरेजले उनलाई आफू देवता नै हुँ कि भन्ने भ्रममा पारिदिएको छ
 

ईश्वरीय अवतार हुँ भन्ने मोदीको बारम्बारको दाबीलाई कसरी व्याख्या गर्नुपर्छ ? के यो चतुर्‍याइँपूर्ण धोखा हो, जसलाई चुनावका समयमा मतदाताको समर्थन जुटाउनका लागि बनाइएको होस् ? तर, चुनाव करिब–करिब सकिने वेलामा आएको मोदीको दाबीले यो राजनीतिक षड्यन्त्र मात्रै हो भन्ने पनि देखिँदैन । पछिल्लो समय मोदीका भनाइ अनौठो बन्दै गएका छन् । उनले अचानक अडानी र अम्बानीले राहुल गान्धीको घर नगदले भरिएको टेम्पो पठाएको उल्लेख गरे ।

त्यसपछि उनले तुरुन्तै यो विषयमा छलफल गर्न बन्द गरे । किनभने, सम्भवतः उनका उद्योगपति साथीसँग राजनीतिज्ञलाई दिन धेरै कालो धन थियो भन्ने उनले महसुस गरे होलान् । यसबाहेक ‘धेरै बच्चा भएका’ भन्ने राजनीतिक वक्रोक्ति दिएपछि उनले आफूले ‘मुसलमान’लाई कहिल्यै इंगित नगरेको दाबी गरे । तर, लगत्तै भोलिपल्टदेखि उनले मुसलमानमाथि आक्रमण गर्न थाले । यी उदाहरणले मोदीको कथनी र करणीपछाडिको प्रेरणा बुझ्न निकै जटिल बनेको छ ।

मोदीको ईश्वरीय अवतारको दाबीलाई चुनावी बयानबाजीका रूपमा खारेज गर्ने आलोचक गलत हुन सक्छन् । किनभने, विगत एक दशकमा विभिन्न सूचकले मोदीले आफूलाई अरूभन्दा फरक देख्न थालेको र सामान्य मानवभन्दा धेरै माथिल्लो स्तरमा रहेको भन्ने सुझाव दिन्छन् । उनले आफूलाई सामान्य व्यक्तिको बुझाइभन्दा बाहिरको असाधारण शक्तिले सम्पन्न व्यक्तिको रूपमा बुझेको देखिन्छ ।

आफ्नो राजनीतिक जीवनमा सन् २००१ मा गुजरातका मुख्यमन्त्रीको रूपमा कार्यकाल सम्हालेदेखि मोदीले कहिल्यै व्यक्तिगत रूपमा चुनावी पराजयको अनुभव गरेका छैनन् । उनले लगातार आफ्नो पार्टीलाई राज्य र सन् २०१४ देखि राष्ट्रियस्तरमा जित दिलाएका छन् । उनी भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय व्यक्तित्व हुन् । वास्तवमा भन्ने हो भने अहिले उनी भाजपाका प्रतीक नै बनेका छन् । मूलतः उनको उपस्थितिले पार्टीको र्‍यालीमा भिड आकर्षित गर्छ ।

भाजपाको स्थिरता उनमा धेरै हदसम्म निर्भर छ । र, पार्टीका अन्य कुनै सदस्यसँग भिडलाई आकर्षित गर्ने करिस्मा वा सहकर्मीलाई एकताबद्ध गर्ने क्षमता छैन । यसबाहेक पार्टीभित्र उनलाई चुनौती दिन इच्छुक व्यक्ति छँदै छैनन् भने पनि हुन्छ । मोदीको उपस्थितिमा पार्टीका सबै वरिष्ठ नेता लाचार र कमजोर हुन्छन् । स्वाभाविक रूपमा यस्तो अविभाज्य अधिकारले कसैलाई पनि म परम शक्तिशाली हुँ भन्ने बनाउन सक्छ । 

मोदीको बारम्बारको मन्दिर यात्रा, विस्तृत धार्मिक समारोहमा सक्रिय सहभागिता र उनकै वरिपरि केन्द्रित व्यापक मिडिया कभरेजले उनलाई आफू देवता नै हुँ भन्ने पारिदिएको छ । संविधानले धर्मनिरपेक्षतामा जोड दिएको छ र प्रधानमन्त्रीले मुख्यतया सुशासनमा केन्द्रित हुनुपर्छ भन्ने अपेक्षाका बाबजुद पनि मोदीको धार्मिक अनुष्ठानमा उल्लेखनीय रूपमा संलग्न हुने गर्छ ।

मे २०१९ मा मोदीले केदारनाथको गुफामा ध्यान गर्दै गरेको फोटोको प्रचारबाजी गरेका थिए । उनले बारम्बार विवाहपछि घर छोडेर पहाडमा सन्न्यास लिन गएको कथा सुनाएका थिए । यद्यपि यी दाबीलाई समर्थन गर्ने ठोस प्रमाणको अभाव छ । तैपनि, आफू ‘फकिर’ अर्थात् एक तपस्वी भएको उनको लगातारको दाबीले धेरै कुरा बताउँछ । नरेन्द्र मोदीको हालैका घोषणा उनको सार्वजनिक छविलाई आकार दिनका लागि सावधानीपूर्वक बनाइएको जीवनभरको प्रयासको पराकाष्ठा हो भन्ने स्पष्ट छ । ४ जुनमा उनको पार्टीले पराजय भोगे पनि मोदी आफ्नो ईश्वरीय मिसन पूरा नभएसम्म राजनीतिक परिदृश्यबाट पछि हट्नेछैनन् ।

(भाटिया द वायरका संस्थापक सम्पादक हुन्) द वायरबाट

ad
ad
ad
ad