१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ असार १२ बुधबार १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झोलुंगे पुल जोखिममा परेपछि गाउँमै ‘थुनिए’ तेम्बाथाङवासी

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १६:४४:oo

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ तेम्बाथाङका स्थानीय केही दिनयता गाउँमै थुनिएका छन्।

नेसम खोलामा रहेको झोलुंगे पुल जोखिममा परेपछि उनीहरू गाउँमै थुनिएका हुन्। घरायसी सामान खरिद गर्ने ठाउँ कात्तिके बजार आउने उक्त पुल भारी वर्षासँगै बाढीपहिरो आएपछि एकापट्टिको फाउन्डेसन पुरिएको छ।

बर्खाभर  ब्रह्मायणी नदी तर्न सक्ने अवस्था छैन। गाउँबाट अर्को बस्ती पुग्ने एक मात्र बाटो नेसम खोलामा रहेको झोलुंगे पुल नै हो। गएराति परेको मुसलधारे वर्षाका कारण माटोले  झोलुंगे पुल पुरेको छ। जलविद्युत् कम्पनीहरूले भत्काएको ढुंगामाटो अलपत्र छाडेकाले वर्षासँगै बगेर आउँदा पुल पुरेको स्थानीय साइँला लामाले बताए।

केही स्थानीय जोखिम मोलेर सोही पुलबाट घाँसदाउरा गर्न गइरहेका छन्। पुल सुरक्षित नगर्ने हो भने बर्खाभर तेम्बाथाङवासी गाउँमै कैद हुने अवस्था छ। लामो समय आवतजावत बन्द भयो भने खाद्यान्नसमेत अभाव हुने लामाले बताए । तेम्बाथाङमा आलु, मकेै र कोदो मात्रै उत्पादन  हुन्छ। तर, यसले स्थानीयलाई वर्षभर पनि  खान पुग्दैन।