१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २ सोमबार
  • Sunday, 29 September, 2024
केशव आचार्य
२o७८ फाल्गुण २ सोमबार o७:४७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

क्रिप्टोकरेन्सी र यसको प्रभाव

Read Time : > 2 मिनेट
केशव आचार्य
नयाँ पत्रिका
२o७८ फाल्गुण २ सोमबार o७:४७:oo

राष्ट्र बैंकले डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउनुको साटो नियन्त्रण र व्यवस्थापनको प्रविधि निर्माण गरी कारोबारलाई वैध बनाउनुपर्छ


नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध घोषणा गरेर यसको कारोबार गर्नेलाई सरकारले कारबाही गर्न थालेपछि यससम्बन्धी बहस चुलिएको छ । क्रिप्टोकरेन्सी कम्प्युटरको एल्गोरिदममा निर्माण हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो, जसको कुनै मालिक छैन र यसको एकाधिकारको नियन्त्रण पनि हुँदैन । यो कुनै देश, राज्य, सरकारद्वारा सञ्चालित हुँदैन । क्रिप्टोकरेन्सी एक डिजिटल मुद्रा हो, यसको सञ्चालनका लागि क्रिप्टोग्राफीको प्रयोग गरिएको हुन्छ । यो मुद्रा भौतिक स्वरूपमा पाइँदैन, तर बजारबाट वस्तु किन्न वा सेवाका लागि यसको प्रयोग गर्न सकिन्छ । 

क्रिप्टोकरेन्सी क्रिप्टो र करेन्सी दुई शब्द मिलेर बनेको छ । क्रिप्टोको अर्थ गुप्त र करेन्सीको अर्थ मुद्रा भन्ने हुन्छ । तसर्थ, क्रिप्टोकरेन्सी एक गुप्त मुद्रा हो, जुन इन्टरनेटमार्फत भर्चुअल मुद्राका रूपमा चल्छ । यसको अनलाइन कारोबार गर्दा लेनदेन गर्न पनि सजिलो हुन्छ । क्रिप्टोकरेन्सी कसको नियन्त्रणमा छ, कसले गर्छ भन्ने थाहा हुँदैन । यो एक किसिमको डिजिटल मुद्रा हो, यसलाई वस्तु तथा सेवा खरिद गर्न सुरक्षित राख्न अनलाइन लेजरको प्रयोग गरिन्छ । बैँकमा जानुको सट्टा घरमै बसी ‘ब्लकचेन’मार्फत यसको कारोबार गर्न र यसलाई संग्रह गर्न सकिन्छ । क्रिप्टोग्राफिक हस्ताक्षरबाट कारोबारको रेकर्ड र रजिस्टर गर्न सकिन्छ । यो होल्डरहरूकै बीचमा पनि एक–आपसको लेनदेनबाट पनि खरिद र बिक्री गर्न सकिन्छ । यसको नाफा पनि उच्च छ । 

पछिल्ला दिनमा क्रिप्टोकरेन्सीको कारोबारलाई विश्वका कतिपय देशले मान्यता दिएका छन् भने कतिपय देशले यसलाई अवैध घोषणा गरेका छन् । नेपालमा पनि यसको कारोबारलाई हाल अवैध घोषणा गरिएको छ, यो कानुनतः प्रतिबन्धित छ । सिंगापुरको क्रिप्टोपेमेन्ट गेटवे ‘ट्रिपल ए’ ले विश्वभरका क्रिप्टोकरेन्सी प्रयोगकर्ताको विषयमा सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको १.४५ प्रतिशत नेपालीले यसको कारेबार गरिरहेको पाइएको छ । 
विश्वको पहिलो क्रिप्टोकरेन्सी बिटक्वाइन हो । यसको आविष्कार जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा गरेका थिए । तर, आविष्कारक नाकामोतोको स्पष्ट पहिचान भने हुन सकिरहेको छैन । बिटक्वाइन विश्वमा सन् २००९ पछि फैलियो, आजभोलि यसको मूल्य ४० हजारभन्दा माथि छ । बिटक्वाइन एक क्रिप्टोकरेन्सी हो, जसमा अन्य भर्चुअल मुद्रामा जस्तै गुण छन् । यो एक भर्चुअल करेन्सी हो, जो आफ्नै हातले छुन सकिँदैन । यसको लेनदेन अनलाइन माध्यमबाट एक वालेटबाट अर्को वालेटमा मात्र हुन्छ । यसलाई अन्य करेन्सीमा बदल्न पनि सकिन्छ । 

यसको अस्तित्व भर्चुअल वा इन्टरनेटमा मात्र रहन्छ । जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ, त्यसरी नै यो मुद्राले पनि सामान खरिद–बिक्री गर्न सकिन्छ । यसको लेनदेन ‘पियर टु पियर’ नेटवर्कमा आधारित छ । यसको अर्थ यो एक अकाउन्टबाट अर्को अकाउन्टमा सर्भरविनै पुग्छ । यसका लागि केवल इन्टरनेट कनेक्सनको आवश्यकता पर्छ । यसको मूल्य विश्वभर एक समान हुन्छ । यसमा कुनै देश, बैंक वा निकायको नियन्त्रण हुँदैन । 

क्रिप्टोकरेन्सीका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । यसका सकारात्मक पक्ष यो डिजिटल करेन्सी हो, जसमा फ्रड केसहरू धेरै कम हुन्छ । यसको मूल्य धेरै छिटो बढ्छ, अहिलेको डिजिटल समयमा यो लगानीको राम्रो प्लेटफार्म हो । अधिकांश क्रिप्टोकरेन्सीको वालेट उपलब्ध छन्, जसका कारण अनलाइन सपिङ तथा पैसाको लेनदेन सरल र सहज हुन्छ । क्रिप्टोकरेन्सी कुनै पनि एकाधिकारद्वारा नियन्त्रित छैन । त्यसैले यो करेन्सीको मूल्य घट्ने सम्भावना कम हुन्छ । कतिपय यस्ता देश छन्, जहाँ पुँजी नियन्त्रण हुँदैन । कति पैसा देशमा भिœयाउने र कति बाहिर पठाउने भन्नेबारे सीमा हुँदैन । त्यसकारण, क्रिप्टोकरेन्सी खरिद गरेर त्यसलाई सजिलैसँग देशबाहिर पठाउन सकिन्छ र यसलाई पैसामा रूपान्तरण गर्न सकिन्छ । 

क्रिप्टोकरेन्सीको नकारात्मक पक्ष यसको भौतिक अस्तित्व नहुनु हो, यसलाई प्रिन्ट गर्न नोट छाप्न वा बैंक खाता र पासबुक जारी गर्न सकिँदैन । यसलाई नियन्त्रण गर्ने कुनै देश, सरकार वा संस्था छैन, जसका कारण यसको मूल्यमा ठूलो उतार–चढाब भइरहन्छ । लगानीकर्ताको लगानी जोखिममा परिरहन्छ । हात–हतियार खरिद, ड्रग्स सप्लाई, कालोबजारीजस्ता गलत कार्यमा यसको उपयोग सजिलै गर्न सकिन्छ, किनभने यसको प्रयोग दुई व्यक्तिबीच मात्र हुन्छ । यसमा ह्याक हुन सक्ने जोखिम पनि रहन्छ, तर ब्लकचेन ह्याक गर्न सजिलो भने छैन । कारोबारमा केही गल्ती भएमा सच्याउन नमिल्नु यसको अर्को नकारात्मक पक्ष हो । 

वर्तमान विश्वमा विकसित प्रविधिलाई नियन्त्रित गर्न सकिँदैन । संसार क्रिप्टोकरेन्सी र डिजिटल मुद्रामा प्रवेश गरिसकेको अवस्थाले यसको कारोबारलाई नियन्त्रणमा लिनु सही निर्णय नहुन सक्छ । तसर्थ, केन्द्रीय बैंकले डिजिटल करेन्सी शीघ्र नै जारी गर्नुपर्ने देखिन्छ । राष्ट्र बैंकले नियन्त्रण र व्यवस्थापनको प्रविधि निर्माण गरी यस्ता कारोबारलाई वैध बनाउनुपर्छ । कारोबार गर्नेलाई पक्राउ गरी कारबाही मात्र गर्ने नीतिले यसलाई रोक्न सक्दैन । (आचार्य अर्थशास्त्रका लेक्चरर हुन्)