
बाँकी रहेका जिल्लामा वडा र पालिकाको अधिवेशन एकसाथ हुने
पार्टी महाधिवेशनको कार्यतालिका पटकपटक सार्दै आएको नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनका लागि भए पनि सम्पन्न गर्नैपर्ने बाध्यतापछि बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवादको टुंगो लगाएको छ । सोमबार रसुवाको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याएर नामावली सार्वजनिक गरेको कांग्रेसले बुधबार रौतहट जिल्लाको सदस्यता सूची पनि सार्वजनिक गरेको हो ।
कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान भएसँगै बाँकी जिल्लाका वडा र पालिकाको अधिवेशन एकैपटक २७ कात्तिकमा सम्पन्न गर्ने भएको छ । क्रियाशील सदस्यता छानबिन समितिका सदस्यत प्रदीप पौडेलले बुधबार रौतहटको विवाद टुंगिएको र यससँगै निर्वाचन आयोगले सबै जिल्लामा बाँकी रहेका वडा र पालिकाको अधिवेशन सम्पन गर्ने बताए । ‘बाँकी रहेका दुईवटा जिल्लामध्ये रसुवाको विवाद टुंग्याएर सोमबार नै सूची सार्वजनिक गरिसकेका थियौँ । बुधबार रौतहटको क्रियाशील सदस्यतासम्बन्धी विवाद पनि टुंगिएको छ,’ पौडेलले भने, ‘अब निर्वाचन आयोगले आफ्नो कामलाई अगाडि बढाउनेछ । बाँकी रहेका जिल्लाका वडा र पालिकाका अधिवेशन समयमा नै सम्पन्न हुने विश्वास छ ।’ उनले बाँकी रहेका सबै जिल्लाको अधिवेशन एकसाथ हुन सक्ने पनि बताए ।
यसअघि केन्द्रीय क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदनमा रहेका बाँकी विवादलाई नेता कृष्ण सिटौला नेतृत्वको समितिले टुंगाएको हो । रौतहटको क्षेत्र नम्बर १ मा समायोजनको विषयमा विवाद बाँकी थियो । त्यो पनि समाधान भएसँगै ७७ वटै जिल्लाको विवाद टुंगिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले रोकिएका महाधिवेशन प्रक्रिया अघि बढाउन तयारी पूरा गरेर सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको जानकारी नयाँ पत्रिकालाई दिए । ‘तयारी पूरा गरेर सबै जिल्लामा अधिकृत खटाइसकेका छौँ,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनका कारण कार्यतालिकाभित्रै गर्नुपर्ने बाध्यता छ । अबको कार्यतालिकामा कुनै हेरफेरको सम्भावना छैन । परिवर्तन हुँदैन, महाधिवेशन हुन्छ ।’
कार्यतालिका अनुसार कांग्रेसले २७ कात्तिकमा रोकिएका १४ जिल्लाको वडा तहदेखिका अधिवेशन सुरु गर्ने, १० मंसिरभित्र जिल्ला अधिवेशन हुन बाँकी ६४ जिल्लाको अधिवेशन सक्नेछ । कांग्रेसले १३ वटा जिल्लाको अधिवेशन यसअघि नै सकिसकेको छ । त्यसपछि १६ र १७ मंसिरमा प्रदेश अधिवेशन र २४ देखि २६ मंसिरमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कांग्रेसको रहेको छ ।
२७ मंसिरभित्र महाधिवेशन नगरे राष्ट्रिय सभा चुनावमा भाग लिन नपाउने
कांग्रेसले २७ मंसिरभित्र महाधिवेशन सम्पन्न नगरे निर्वाचन आयोगले सिफारिस गरेको मिति ७ देखि १० माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउने छैन । त्यसबाट जोगिनका लागि पनि अहिलेकै कार्यतालिकामा महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यतामा कांग्रेस छ । निर्वाचन आयोगले ३० देखि ४५ दिनसम्मको समय दिएर दल दर्ताको सूचना जारी गर्छ । त्यसका लागि समयमै अधिवेशन सम्पन्न भएको जानकारी निर्वाचन आयोगलाई गराइएको हुनुपर्छ । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताभन्दा अगाडि महाधिवेशन भइसकेको हुनुपर्ने र कांग्रेसले प्रक्रिया सुरु गरेको बारेमा आयोगलाई जानकारी गराएको बताए ।
कार्यतालिका
- कार्तिक २७ बाट : रोकिएका वडा तहदेखिका अधिवेशन सुरु गर्ने
- मंसिर १० भित्र : जिल्ला अधिवेशन सक्ने
- मंसिर १६ र १७ : प्रदेश अधिवेशन
- मंसिर २४ देखि २६ : केन्द्रीय महाधिवेशन
‘निर्वाचन आयोगले निर्वाचनको करिब डेढ महिनाअगाडि (३० देखि ४५ दिनसम्मको समय) दल दर्ताको सूचना निकाल्छ । नेपाली कांग्रेसले महाधिवेशन सुरु भएको भनेर आयोगलाई जानकारी गराएको छ । दल दर्ताअगाडि महाधिवेशन भइसक्नुपर्छ,’ उनले भने, ‘आयोगले ७ देखि १० माघसम्म राष्ट्रिय सभाको निर्वाचनका लागि सिफारिस गरेको छ, निर्णय भइसकेको छैन ।’ उनले दल दर्ताको लागि पुसको पहिलो सातासम्मको म्याद हुन सक्ने बताए ।
संवैधानिक व्यवस्थाअनुसार पाँच वर्षमा विशेष परिस्थितिका कारण महाधिवेशन सम्पन्न हुन नसके ६ महिनाको थप समय पाउने व्यवस्था छ । नेपाली कांग्रेसको हकमा संविधानको व्यवस्थाअनुसारको साढे पाँच वर्षको अवधि २३ भदौमा सकिएको थियो । कांग्रेसले १८ भदौबाट महाधिवेशन सुरु भएर १३ मंसिरमा सम्पन्न हुने गरी कार्यतालिका ल्याएको थियो । कांग्रेसले निर्वाचन आयोगलाई कोरोना महामारीको कारण देखाउँदै समयमा नै महाधिवेशन सम्पन्न हुन नसकेको भनेर २३ भदौमा जानकारी गराएको थियो ।
कांग्रेसका नेताहरूले तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने बताउँदै आएका छन् । नेता कृष्ण सिटौलाले अहिलेको कार्यतालिका परिवर्तन नहुने बताए । ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरू सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो र साँघुरो कार्यतालिका छ, तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन,’ सिटौलाले भने ।
त्यस्तै कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले यो नै अन्तिम कार्यतालिका भएको बताए । ‘अब कार्यतालिका संशोधनको सम्भावना छैन, यो नै अन्तिम हो । हामीले सबै अवस्थालाई आकलन गरेर छठपछि निर्वाचन प्रभावित नहुने गरी कार्यतालिका तयार गरेका छौँ,’ उनले भने, ‘अब कार्यतालिकामा कुनै हेरफेर हुँदैन । काबुबाहिरको परिस्थिति र महाप्रलय आएको अवस्थामा बाहेक अब महाधिवेशन रोकिँदैन ।’
सिटौलाको पनि सभापतिमा दाबी
कांग्रेसमा तेस्रो धारका नेतृत्व गरिरहेका नेता सिटौलाले आफ्नै समूहसहित महाधिवेशनमा सभापतिको उमेद्वार बन्ने बताएका छन् । लामो समयसम्म मौन रहँदै आएका सिटौलाले बुधबार सभापतिको दाबी सार्वजनिक गरेका हुन् । बुधबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सिटौलाले १४औँ महाधिवेशनमा आफू टिमसहित सभापतिको उम्मेदवार बन्ने बताए ।
काठमाडौं सभापतिका दावेदार दामोदर खड्का भन्छन्-‘योग्य र सक्षमलाई समेटेर टिम घोषणा गर्छु’
मलाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको साथ छ । यसअघि सभापति घोषणा गर्नु भएका राजु श्रेष्ठले पनि मलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ ।
तपाईंको उम्मेदवारी केमा हो, आधार के हो ?
यसअघि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिसकेको छु । काठमाडांैको सचिवको जिम्मेवारीमा रहेर पनि काम गरिसकेको छु । यिनै अनुभवका आधारमा सभापतिको तयारीमा जुटेको छु । मलाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको साथ छ । यसअघि राजु श्रेष्ठले सभापति बन्ने घोषणा गर्नुभएको छ । उहाँले पनि मलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ ।
समूह कस्तो बन्छ र कहिले घोषणा गर्नुहुन्छ ?
केही दिनमै उम्मेदवारी घोषणा हुन्छ । कांग्रेसको विधानले नै समावेशिताको परिकल्पना गरेको छ । विधानअनुसार योग्य र सक्षमलाई समेटेर टिम बनाउँछौँ । केही आकांक्षी पनि अगाडि आइसक्नुभएको छ । छिट्टै घोषणा हुन्छ ।
तपाईंका योजना र प्रतिबद्धता के छन् ?
हामी लिखित रूपमा हाम्रा योजना केही समयमा सार्वजनिक गर्छौँ । अहिलेको कार्यसमितिले गरेका राम्रा कामलाई निरन्तरता दिएर नयाँ योजनामा काम गर्ने योजना रहनेछन् । विशेषगरी वैचारिक अस्पष्टता हटाउन तल्लो तहसम्म प्रशिक्षण दिने, प्रविधिमैत्री कांग्रेस बनाउने र कांग्रेसभित्रको फुटलाई अन्त्य गर्ने मेरो योजना र प्रतिबद्धता रहनेछ । काठमाडौं कांग्रेसलाई नमुना बनाउने मेरो लक्ष्य रहनेछ ।
विधानले जिल्ला सभापतिका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्था गरेको छ नि ?
मंसिर ६ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका तय भएको छ । यसका लागि पनि सहयोगका लागि आग्रह गर्छु ।